अयोग्यलाई प्रअ बनाउदा घचाया माविमा प्रशासनिक द्वन्द्व

पछिल्लो समय विद्यालय क्षेत्रमा पनि गलत राजनीतिक संस्कार हाबी हुन थालेको छ । यसको गतिलो उदाहरणको रूपमा बझाङको मस्टा गाउँपालिका-०१ स्थित घचाया माध्यमिक विद्यालयलाई लिन सकिन्छ । राजनीतिक आस्थाको आधारमा प्रधानाध्यापक नियुक्त गरिँदा विद्यालय प्रशासन डामाडोल भएको छ भने शैक्षिक गुणस्तर खस्किएको छ ।

विद्यालयको प्रअ कल्लाई बनाउने भनेर सिफारिस गर्ने अधिकार विद्यालय व्यवस्थापन समितिलाई भएपनी शिक्षा नियमावली २०५९ र स्थानीय निकाय शिक्षा नियमावलीले प्र.अ. सिफारिसको स्पष्ट मापदण्ड तोकेको छ । बझाङको मस्टा स्थित घचाया मावी मापदण्डबाहिर गएर प्रअ नियुक्त गरिदा शिक्षकहरुबिच प्रशासनिक द्वन्द्व बढेको छ ।

विद्यालयमा मापदण्ड विपरीत प्राथमिक तहका शिक्षक दीपक खड्कालाई विद्यालयको निमित्त प्रधानाध्यापकको जिम्मा दिइएको छ । विद्यालय व्यवस्थापन समितिले माघ १६ गते खड्कालाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो । यता, शिक्षा विकास तथा समन्वय इकाइले प्रक्रिया नपुगेको भन्दै तत्कालका लागि खड्कालाई निमित्त प्रअको नियुक्ति दिएको थियो ।

विद्यालयमा नियमविपरित प्रधानाध्यापक नियुक्त गरिएको बारेमा गाउँपालिका जानकार रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पृथुराज जोशीले बताए । खड्कालाई प्रधानाध्यापक बनाउनु कानुन विपरीत भएको भन्दै योग्य शिक्षकलाई प्रअ बनाउन तिन पटक ताकेता गरेको जोशीले उल्लेख गरे ।

पटक पटक अनुरोध गर्दापनि विद्यालय व्यवस्थापन समितिले अटेर गरेको जोशीको गुनासो छ । ‘पत्राचार गरेको लामो समय भयो । विव्यसले लापरबाही गरिरहेको छ । हामी एक दुई दिनभित्र सोही विद्यालयमा प्रअ नियुक्तको विवादमाथि छलफल गर्न जाँदै छौँ । अब, सहमतिमा योग्य शिक्षक प्रअ चयन हुन नसके गाउँपालिकाले नियमानुसार योग्य व्यक्ति नियुक्त गर्छ,’ जोशीले भने ।

खड्कालाई निमित्त प्रअ बनाएर काम चलाऊ रूपमा विद्यालय छोड्दा डामाडोल हुँदै गएको शिक्षकहरू बताउँछन् । उक्त निर्णयप्रति माध्यमिक तह र निम्न माध्यमिक तहका शिक्षकले असन्तुष्टि जनाउँदै आएका छन् । योग्यता क्रमको आधारमा माथिल्लो तहका शिक्षकलाई बेवास्ता गरेर राजनीतिक आस्थाका आधारमा योग्यता नपुगेका व्यक्तिलाई शिक्षक बनाएको शिक्षकहरूको गुनासो छ । ‘माथिल्लो तहका शिक्षकहरूलाई बेवास्ता गर्दै योग्यता नपुग्ने शिक्षकलाई प्रअ नियुक्त गरेपछि शिक्षकहरूबिच राम्रो समन्वय छैन । जसको असर विद्यालय प्रशासन र पठनपाठनमा परेको छ,’ एक शिक्षकले गुनासो गरे ।

शिक्षा नियमावली २०५९ अनुसार स्थायी शिक्षक नियुक्तिको ज्येष्ठतालाई आधार मानेर प्रधानाध्यापक नियुक्त गर्नुपर्ने हुन्छ ।

Loading...