कहिले नदेखेको कर्णाली मेरो सुदूरपश्चिम भन्दा पनि विकट छ रे। यही सुन्दै पढ्दै आएको थिए। सुर्खेत, कालिकोट, हुम्ला, जुम्ला, समाचार अनि पुस्तकका पानामा मात्रै देखेकी थिए। अनि, बुद्धि सागरको ‘कर्णाली ब्लुज’बाट केही अनुभव गर्न पाएकी थिए। कर्णाली घुम्ने धेरै रहर जागिरहेको थियो मनमा। जाने सम्भावना भने शून्य नै थियो। एउटा पुस्तक जसले बजारमा निकै चर्चा पाइरहेको थियो। मलाई पनि पढ्न मन लाग्यो। प्रकाशित भएको अलि बढी नै समय भैसकेको थियो। म पैरवी पुस्तक प्रकाशनमा गए अनि भने- डाक्टर नवराज केसीको ‘शून्यको मूल्य’ छ? पसलमा पुस्तक नै सकिएको रहेछ। त्यसपछि २/४ अन्य पुस्तकालयका पनि गएर सोधियो । सबैमा सकिएको जानकारी पाएपछि अन्त पनि त सकिएको होला भन्ने सोच आयो अनि सोध्न गइन्।
”त चिता म पुर्याउँछु” भन्ने भनाइ मेरा लागि यस समय साँचो भयो। हाम्रो ”आधुनिक नेपाली कथा, उपन्यास र नाटक” पढाउने गुरुआमा कुसुम पाठक ज्यूले हामी सबै विद्यार्थीलाई उक्त पुस्तक उपलब्ध गराउनु भयो। मैले पुस्तक पढ्न सुरु गरे। कतै प्रफुल्लित भए। कतै आँखा आँसुले रसाए।
सायद यो नै लेखकको सफलता हो। आफ्नो कृतिमार्फत पाठकलाई हँसाउन, रुवाउन अनि त्यसलाई अनुभव गर्न सकिने बनाउनु। म सुदूरपश्चिमकी कतै कतै उपन्यासका पात्रले वार्ताका क्रममा प्रयोग गरेका कर्णालीको ठेट, झर्रा भाषा बुझ्न मलाई समस्या भएन। तर, सुदूर पूर्वका पाठकले यसलाई आफ्नो अध्ययनको सामाग्री बनाए भने भाषिक समस्या भने पर्ने नै छ। भाषिक समस्या पर्छ भन्नुको तात्पर्य सुदूर पूर्व तथा कर्णालीमा बोलिने भाषा नबुझ्ने पाठकले यसलाई पढ्नु नै हुँदैन भन्ने चैँ पक्कै होइन। ‘शून्यको मूल्य’ कर्णाली नबुझेका तमाम तमाम नेपालीले पढ्नुपर्छ। कर्णालीमा केही पनि छैन । कर्णालीलाई हेपाहा दृष्टिले हेर्ने कालागि यो उपन्यास कडा जवाफ हो।
यस उपन्यासमा भएका पात्र कर्णालीका प्रतिनिधि पात्र मात्रै हुन्। यस्तै समस्यामा पनि आफ्नो जीवन अगाडि बढाउने अरू थुप्रै पात्र यस्तै कोही डाक्टरलाई कुरेर बसेका छन्। आफ्नो सङ्घर्षको कथा लेखाउन । कर्णालीमा अभाव छ तर, अभावमै रमाएका छन् कर्णाली बासी। अभावसँगै आएका अनेकौँ चुनौतीलाई स्विकारेर अगाडि बढाएका छन्। उपन्यासकारको डाक्टरी पेसाका कारण उपन्यासका पात्र उनीसँग जोडिन पुगेका छन्। उपन्यासका कुनै पनि पात्रको जीवन सहज, सरल छैन। उनीहरूले त्यही असहजता, अभाव सबै कुरालाई दोष लगाएर आफ्नो जीवनलाई अभिशाप ठानेका छैनन्।
साना साना कुरामा पनि रमाउन जानेका छन्। गरिब अनि अभावै अभाव र सङ्घर्षपूर्ण जीवन बाँच्न बाध्य कर्णलीबासी दयालु स्वभावका सहयोगी छन्। यसको उदाहरण हुन् लोग्नेले पिट्दा एउटा आँखा गुमाएकी चिया पसले बज्यै। जसले नेपालगन्जमा २५० रुपैयाँ तिरेर बच्चालाई एक गिलास दूध पिलाएका बाबुआमाबाट दूधको पैसा लिन मानिन्। जलेको अनुहार अनि लोग्नेले छोडेर गएपछि गाउँलेले बोक्सी भनेकी केही नबोल्ने बिरालाको जस्तै आवाज निकाल्ने बच्चाकी बेनामे आमा जो गाउँ छोडेर जङ्गलमा बस्ने गर्दछिन्। यी बेनामे आमा, बुधेकी फूपुआमा, पुतली आमा जस्ता पात्रद्वारा महिलाहरूको हिम्मत, साहासको चित्रण गरेका छन्। महिला शशक्त भएको देखाएका छन्। बलियो हुनुको विकल्प नभएका मानिस नै संसारका सबै भन्दा बलिया मानिस हुन्। यस उपन्यासमा उभ्याइएका चरित्रहरूले यही कुरा देखाउँछ। उपन्यासकारले उठाएको एउटा कुरा गज्जबको छ। सन्तानकारनिम्ति आफ्नै नाम गुमाउने आमा कति होलान्? सायद, आमाले सन्तानका लागि नामसँगै आफ्नै अस्तित्व अन्य धेरै धेरै कुरा हाँसी हाँसी त्याग्न गुमाउन तयार हुन्छन्।
उपन्यासका सबै पात्रको प्रेरणाको स्रोत उनको जीवनको अभाव, पीडा, असफलता बन्न पुगेको छ। कर्णालीलाई केही नभएको भन्दै हेपाहा गलत दृष्टिकोण बनाएका केही पाठकले यस पुस्तकलाई पढे भने सकारात्मक सोच बनाउने अवसर पाउने छन्। पाठकले- कर्णालीसँग केही नभए पनि सबै थोक छ। ऊर्जाशील, सङ्घर्षशील जनशक्ति छ। निडर, दयालु, हिम्मतवाला, साहसी, अभाव अनि दुख पीडासँग सजिलै लड्न सक्ने कर्णाली बासी छन्। कर्णालीसँग पर्यटन व्यवसायको ठुलो सम्भावना छ। भन्ने कुरा बुझ्ने छन्। उन्यासका पात्रको जीवनबाट अनुभव गर्ने छन्। कर्णालीसँग अभाव, दुख, पीडा मात्रै छैनन्। तीसँग लड्ने क्षमता भएका कर्णाली बासी पनि छन्। यदि सरकारले चाह्यो भने बजेट छुटाएर काम थाले चाडै कर्णाली अझ धेरै सुन्दर हुने छ। यहाँ भएका प्राकृतिक सम्पदा, सांस्कृतिक, ऐतिहासिक सम्पादकको राम्रो व्यवस्थापन गरी जल विद्युत निकाल्न सकिन्छ, पर्यटन भित्र्याइ राम्रै आम्दानी गर्न सकिन्छ।
कर्णालीमा रहेको विभेद, अन्धविश्वास, बेरोजगारीको अवस्था, भौगोलिक विकटता तथा बाटोघाटोका कारण जनताले भोग्नु परेका सास्तीको पनि उपन्यासकार केसीले पात्र, पात्रको जनजीवनबाट प्रस्ट्याउन सफल भएका छन्। यी सबै कुरामा सुधार ल्याउन सके कर्णालीले मुहार फेर्ने थियो। यसरी विश्लेषण गरेर लेखिएको लेख, पुस्तकहरूले कर्णालीको उन्नति, प्रगति, विकासमा ठुलो टेवा पुग्ने आशा गर्न सकिन्छ। यस उपन्यासलाई प्रथमदृष्टिविन्दुबाट अगाडि बढाइएको भए सुनमा सुगन्ध नै हुने तियो। उपन्यासकार केसीले आफ्नो कथा पनि जोडेकै छन् ।
आफैँले आफैँलाई डाक्टर नभनी म भनेर सम्बोधन गर्दा अझ राम्रो हुन्थ्यो। कतै कतै उपन्यासकार अति नै भावुक भएका छन्। खैर, डा. नवराज केसीको प्रकाशित यो पहिलो साहित्य सिर्जना हो। कथावस्तुमा सिङ्गो कर्णाली र कर्णालीवासीको कथा, व्यथा समेटेका डा. केसीको यो कमजोरीलाई हेरेर शून्यको मूल्यमा खोट लगाउनु अर्थहीन हुन जान्छ। भँडिनी कान्छी, बुधेकी फूपुआमा, नानी आमा, हिम्मत बहादुर,, भीमकाजी, जुम्ल्याहाका बाउआमा, पुतली आमा जस्ता पात्रले यस उपन्यासमा प्राण भरेका छन्। पात्र नभई उपन्यास कसरी बन्द भन्ने प्रश्न उठ्ला। यी पात्रले निभाएको भूमिकाकै कारण कथावस्तु बलियो बनेको छ। यी पात्रमा भएको साहस, सङ्घर्ष, अभाव अनि अभाव दुःख पीडा टार्ने क्षमता, बुद्धिमानीले नै यस उन्यालाई जीवन्त तुल्याएको छ।
”जीवन सबैले व्यतीत गर्छन् तर, इतिहासका पानामा कुनै एकको नाम लेखिन्छ” भन्नुको तात्पर्य पनि यही नै होला। जो कोहीका जीवन कथा कहाँ लेखिन्छन् र। यो उपन्यास पढी सकेपछि फेरि डाक्टरसँग भेट्न मन लागेको छ। केही गरी भेट हुन जुरेछ भने सोध्ने छु- ”बुधेसँग भेट्नुभयो?, बुधेले आफ्नो साइकल पायो त?, पुतली आमासँग तपाईँको भेट भयो?, पुतली आमा कि कसैलाई केही नभनी गएकी रहिछिन्?, तपाईँले भेट्दा कस्तो अवस्थामा के गर्दै थिइन् उनी?”