शैक्षिक योग्यता नभएको र नेपाल मेडिकल काउन्सिलबाट समेत इजाजत पत्र प्राप्त नगरी कानुन विपरीत सञ्चालनमा रहेको चैन मेडिकलमा भाेटे ताल्चा लागेकाे छ । शैक्षिक याेग्यता पुग्ने नदेखिएपछि बझाङ सदरमुकाम चैनपुरमा रहेको चैन मेडिकल बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएकाे हाे ।
बिहीबार नेपाल एङ्गलले चैन मेडिकलमा नक्कली डाक्टरको ‘चैन’ शीर्षकमा भिडियोसहित समाचार प्रकाशन गरेको थियो । शुक्रवार उक्त मेडिकलका सञ्चालकहरूलाई बोलाएर मेडिकल बन्द गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । प्रशासनले दिउँसो मेडिकल बन्द गर्न निर्देशन दिएपनी अटेरी गरेपछि एक व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । सटरबन्द गरेर भित्र बिरामीलाइ उपचार गराएकाे अवस्थामा प्रहरी पुगेपछि उपचारमा संग्लन ती व्यक्तिलाई नियन्त्रणमा लिइएकाे हाे ।
उपचारमा संग्लन व्यक्तिलाइ नियन्त्रणमा लिँदै प्रहरी (भिडियाे)
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशी तथा जिल्ला अस्पतालका डाक्टरहरूले चैन मेडिकलको कागजातहरू अध्ययन गरेपछि मापदण्ड नपुग्ने बताएका थिए । सोही आधारमा उक्त मेडिकल बन्द गर्न निर्देशन दिएको प्रजिअ पाण्डेले बताए ।
‘जिल्ला स्वास्थ्य प्रमुख लगायत डाक्टरहरूको उपस्थितिमा चैन मेडिकलमा काम गर्ने व्यक्तिहरूसँग केरकार गरेका थियौँ । उनीहरूको शैक्षिक योग्यता पुग्ने देखिएन,’ प्रजिअ पाण्डेले भने, ‘एक जना शाही थरका व्यक्तिको चाहिँ योग्यता पुग्ने रहेछ । तर उनी मेडिकलमा देखिएनन् । योग्यता पुग्ने व्यक्ति उपस्थित नहुन्जेल अस्पताल बन्द गर्न निर्देशन दिएका छौँ ।’
(उपचारमा संग्लन व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएपछि सलाइनसहित अलपत्र विरामी र उनका आफन्त)
अहिले औषधि बिक्री गर्दै आएका व्यक्तिहरूको शैक्षिक योग्यता पुग्ने नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानु जोशीले बताए । ‘प्रजिअ सरले बोलाएपछि हामीले चैन मेडिकल हलका सञ्चालक तथा डाक्टरहरूको कागजात हेरेका थियौँ । तर, उनीहरूको शैक्षिक योग्यता पुग्ने देखिएन । सोही आधारमा प्रशासनलाई हामीले बन्द गर्न सुझाव दिएका थियौँ । आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभागमा पत्राचार गर्न सुझाव दिएका छौँ ।’ प्रमुख जोशीले भने ।
चैन मेडिकलमा भारतीय नागरिकहरूले बझाङवासीको स्वास्थ्यमाथि खेलबाड गरिरहेका थिए । उनीहरू खुलेआम बिरामीको चेकजाँच गर्ने, औषधि दिने कार्यहरू गर्दै आएका थिए ।
चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरेपछि कानुन बमोजिम अधिकार प्राप्त अधिकारीबाट इलाज गर्नको लागि इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरीरको कुनै अङ्गको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्नु अपराध हो ।
सदरमुकाम चैनपुरमा अन्य मेडिकल तथा अस्पतालहरूमा पनि शैक्षिक योग्यता नपुगेका र दर्ता नभएका अस्पतालहरू सञ्चालनमा रहेको बताइन्छ । केही मेडिकल, आयुर्वेदिक केन्द्र तथा थोरै शैयाका अस्पतालहरूमा अयोग्य व्यक्तिले औषधि बेच्ने तथा उपचार गर्ने काम गरिरहेको चर्चा हुने गरेको छ ।