२०५९ जेठ १४ गते अर्थात् आज भन्दा ठिक २१ वर्षअघि । देश जनयुद्धको चरम उत्कर्षमा थियो । राज्य पक्षले देशमा संकटकाल घाेषणा गरेकाे थियाे । तत्कालिन विद्राेही नेकपा माओवादीले संगठन विस्तार अभियानलाई तिब्रता दिएकाे थियाे ।
उत्तम मल्ल भर्खर जागिरे जीवन सुरु गर्दै थिए । त्यति बेलाका रायल गाविस हालको केदारस्यूँ गाउँपालिकामा पर्ने गर्जे पानी माविमा उनी शिक्षक थिए । विद्यालय बिहानी सत्रमा सञ्चालन भइरहेको थियो । जेठ १४ गते बिहान सिमसिमे पानी पर्दै थियो । मल्ल रायल बजार नजिकैको झल्ला गाउँमा डेरा गरी बसेका थिए । सदा झैँ विद्यालय जान उनी घरबाट हिँड्छन् ।
रायल पुग्नै लाग्दा एउटा मोड छ । त्यो मोडमा मोहन बमको चिया पसल थियो । पसलमा माओवादी कार्यकर्ताहरूसँग मल्लको भेट भयो । एउटा एनजिओको कार्यालय सामान र फर्निचर विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बारे माओवादी कार्यकर्ताले मल्ललाई जानकारी दिए ।
मल्ल विद्यालय गएर कक्षा १० मा पढाइ रहेका थिए । माओवादी कार्यकर्ता छत्र गिरी विद्यालयमा आए । ‘प्लानको सामाग्री विद्यालयलाई दिने कार्यक्रम छ । तपाई विद्यार्थीहरुलाइ लिएर आउनुस्,’ भन्दै गिरी हिँडे ।
‘म ९ जना छात्रहरू, शिक्षक गणेश भण्डारी र कार्यालय सहयोगी लिएर प्लानको अफिस गए, ‘उनले भने, ‘सडक क्षेत्र पर्ने भएकाले हामीले झडपको जोखिम महसुस गरेका थियौँ । विद्यार्थीलाई चाँडो पठाएर हामी सामानको भरपाई गरौँ भनेर एउटा पसल भित्र पस्यौँ । सात-आठ जना माओवादी कार्यकर्ताहरू बाहिर तिरै थिए । एक्कासि बाहिर गोली चलेको आवाज आयो ।’
सुरक्षाकर्मीहरू रायलमा माओवादी कार्यकर्ता छन् भन्ने सुराक पाएर योजनाबद्ध तरिकामा आएको मल्ल सम्झिन्छन् । ‘अगाडीबाट एउटा बस आएकाे देख्यौँ । बस बिस्तारै आएको थियो । त्यसको आवाजसम्म सुन्न पाइएन । बसमा प्रहरी आएका रहेछन् । लगत्तै गोली चल्न थाल्यो । थोरै सङ्ख्यामा रहेका माओवादी कार्यकर्ताहरू निसस्त्र थिए, ’ मल्लले भने ।
‘गणेश सर र म पसलभित्रको खाटमुनि लुक्यौँ । साहुजी खाटमुनि अट्ने ठाउँ थिएन । साहुजीलाई बाहिर लगेर प्रहरीले पिट्न थाल्यो । अब मरिन्छ भन्ने लागेको थियो । लुकेर मर्नुभन्दा बाहिर जाऊँ भनेर गणेश सर र म निस्कियौँ । ढोकामा पुग्ने बेला ह्याण्ड्स अप भन्ने आदेश आयो । हात माथि गर्याैँ । श्यामसिंह चौधरी इन्स्पेक्टर हुनुहुँदो रहेछ । उहाँसँग चिनजान थियो । गोली हानेनन् । बाँचियो,’ मल्लले त्रासदि सम्झिए ।
घटनाका अर्का प्रत्यक्षदर्शी रायलकै रवीन्द्र बम्म हुन् । उनी त्यस दिन रायलमै थिए । सुरक्षाकर्मीहरू एकदमै योजनाबद्ध तरिकाले आएको बम्म सम्झिन्छन् । ‘सुरक्षाकर्मीहरू रायलमा माओवादी गएको सुराकी पाएर आएका थिए । उनीहरूले माओवादीको भेष धारण गरेका थिए । निधारमा रातो तारा अंकित फेटा बाँधेर आएका थिए । कतिपयले हँसिया हतौडाको चिह्न अङ्कित फेटा बाँधेका थिए,’ बम्मले भने ‘तीन जना विद्यार्थीलाई घरपछाडि लगेर लाइन लगाइ गाेली हानिएकाे थियाे ।’
घटनामा पाँच जना माओवादी कार्यकर्ता र तीन जना विद्यार्थीहरू साहादत प्राप्त गरेका थिए । यती ठुलो सङ्ख्यामा ज्यान गएको यो बझाङकै ठुलो घटना भएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिव तथा संविधानसभा सदस्य जनकबहादुर बुढा (सुदिप) ले उल्लेख गरे । घटनामा विद्रोही पक्षबाट परम्परा गौतम (वृक्षा) लक्ष्मी भण्डारी (सृष्टि), रतन दाहाल, कमरेड गणेश र छत्र गिरीको ज्यान गएको थियो । विद्यार्थीहरू प्रकाश विष्ट, लोकेश मल्ल, देवराज जोशी शहिद भएका थिए ।
रायलमा विद्रोही पक्षबाट साहदत प्राप्त गरेकी लक्ष्मी भण्डारी (सृष्टि) नेता जनकबहादुर बुढा (सुदिप) की धर्म पत्नी हुन् ।
बुढाले कसरी सम्झिन्छन् त्यो दिन?
हामीले जनवादी विवाह गरेको करिब एक महिना पुग्दै थियो । आठ महिनाको प्रेम सम्बन्ध पश्चात् पार्टी कमिटीमा छलफल गरेर हामी वैवाहिक बन्धनमा बाँधिएका थियौँ । हामी दुवै जना पार्टी संगठनविस्तारमा सक्रिय थियौँ । म अखिल क्रान्तिकारीमा आबद्ध थिए । बझाङ जिल्लाभर सङ्गठन विस्तार गर्ने काम गर्दथे । लक्ष्मी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला कमिटी उपाध्यक्ष हुनुहुन्थ्यो । अन्तिम पटक हामी देउराबाट छुट्टिएका थियौँ । विद्यार्थीकै कार्यक्रमको सिलसिलामा सङ्गठन विस्तार गर्न म सुनकुडातिर गए । कमरेड वृक्षा, सृष्टि, गणेश, छत्रलगायत कमरेडहरू रायलतिर गए । रायलको गर्जे पानी माविलाई प्लान इन्टरनेसनलको कार्यालय सामान हस्तान्तरण गर्नु पर्ने थियो । त्यही क्रममा राज्य पक्षकाे आक्रमणमा परी उहाँहरूले साहादत प्राप्त गर्नु भयो । त्यति बेला अहिले जस्तो फोन सम्पर्क थिएन । जीवन सङ्गिनीसहित सहयोद्धा सहिद भएको खबर त्यस दिनको साँझ मात्रै थाहा पाए ।
बुढालाई भावुक बनाउने ती दुई पत्र
०५९ सालमा बझाङ इन्चार्ज थिए जयराज भट्ट (विनय) । उनी हाल नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टका दाजु थिए । बझाङ सचिव सूर्यप्रकाश पुन मगर (सुन्दर) थिए । सुन्दर रुकुमबाट सेती महाकाली अभियानका क्रममा बझाङ खटिएका थिए । सुन्दरसँग थिइन् उनकी जीवन सङ्गिनी परम्परा गौतम (वृक्षा) । दुर्भाग्य बुढा र सुन्दरले एकै दिन जीवन र युद्धका सहयात्री गुमाए ।
जेठ १५ गते बुढा र सुन्दरको बागथलामा भेट भयो । सुन्दरले रातो अक्षरमा लेखिएको एउटा पत्र बुढालाई थमाए । सोही समय बुढालाई पार्टीकै जनसञ्चारबाट अर्काे पत्र पनि प्राप्त भयाे । बुढाले दुवै पत्र खोलेर हेरे । सुन्दरले दिएको पत्रमा लेखिएको थियो, ‘हामी सँगै सहिद परिवार पनि भयौँ कमरेड,’ अर्को पत्रमा थियो, ‘वैवाहिक जीवनमा बाँधिनु भएकोमा हार्दिक बधाई तथा शुभकामना सुदिप कमरेड,’ अर्को पत्र अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समिति संयोजक नेप बहादुर चौधरीले पठाएका रहेछन् । तर, बधाई लिन नपाउँदै बुढाले सहयोद्धा सृष्टिलाई गुमाइसकेका थिए । विगत स्मरण गर्दागर्दै बुढा भावह्विल भए ।
(२०५९ जेठ १४ गते विद्रोही पक्षबाट रायलमा सहिद भएकी लक्ष्मी भण्डारी (श्रृष्टी)
बझाङमै ढलेकाे सुन्दर र वृक्षाको लाल जोडी
विद्रोही नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्ध अन्तर्गत सुदूरपश्चिम क्षेत्रमा सेती महाकाली अभियान सञ्चालन भएको थियो । पार्टीले सेती महाकालीका जिल्लामा सङ्गठन विस्तार गर्न नेताहरू पठाएको थियो । हालको पूर्वी रुकुमको चुनवाङका माओवादी नेता सूर्यप्रकाश पुन (सुन्दर) लाई बझाङ जिल्ला सचिवको जिम्मा दिएर पार्टीले खटायो । साथै, सुन्दरकी जीवन सङ्गिनी परम्परा गौतम (वृक्षा) लाई महिलाको सिनियर लिडरको रूपमा बझाङ पठाइएको थियो । उनीहरूले करिब एक वर्ष बझाङका गाउँवस्तीमा सङ्गठन विस्तार गरे । बझाङको पार्टी विस्तारमा सुन्दर र वृक्षाको महत्त्वपूर्ण भूमिका रहेको नेता जनकबहादुर बुढाले उल्लेख गरे । आफूहरूले सँगसँगै करिब एक वर्ष काम गरेको बुढा बताउँछन् ।
मृत्यु वा मुक्तिको मार्ग तय गर्न हिँडेका यी लाल जोडीले बझाङमै देह त्याग गरे । वृक्षा जेठ १४ गते रायलमा सहिद भइन् । त्यसको ठिक ९ दिनपछि जेठ २३ गते बझाङकै सैन्स्यूमा सुन्दर पनि सहिद भए । सैन्स्युमा बझाङ इन्चार्ज जयराज भट्ट (विनय) र स्थानीय अर्जुन धामी सहिद भएका थिए ।
सैन्स्यूँमा सहिद भका सुर्यप्रकास पुन मगर (सुन्दर) र रायलमा सहिद भएकी परम्परा गौतम (वृक्षा)
रायलमा सहिद भएकी वृक्षा रुकुमका कम्युनिस्ट नेता देवीलाल गौतमकी छोरी हुन् । सुन्दर चुनबाङ्को किसान परिवारमा जन्मिएका थिए । विद्यार्थी आन्दोलनका क्रममा राज्यले विभिन्न मुद्दा लगाएपछि सुन्दर होल टाइमर बनेका थिए । वृक्षा र सुन्दरको पार्टीमै जनवादी विवाह भएको थियो । उनीहरूका एक छोरा छन् सन्दीप पुन मगर । उनी सहिद तथा व्यपत्ता सन्तति फाउन्डेसनका केन्द्रीय अध्यक्ष हुन् । आफू ४ वर्षका हुँदा बुवा आमा सहिद भएको सन्दीपले बताए ।
परम्परा गौतम (बृक्षा)को साहदत ०५९ जेठ १४ मा भएपनी उनका आफन्तजनहरुले जेठ १३ गतेनै स्मृति दिवस मनाउँछन् । विभिन्न सरकारी रेकर्डमा जेठ १३ गते उल्लेख भएको हुनाले सोही दिनलाई स्मृति दिवस मनाउने गरेको छोरा सन्दीपले बताए ।
सहिदका सपना पूरा गर्नु पर्ने थुप्रै बाकी रहेको नेता बुढाको भनाई छ । सहिदहरूको स्मरणमा आफू संविधान सभा सदस्य हुँदा गर्जे पानी माविमा पुस्तकालय भवनको लागि बजेट छुट्टाएको बुढाले उल्लेख गरे । सहिदहरूकै सम्झनामा बिर्ख बहादुर स्मृति प्राविधिक शिक्षालय स्थापना भएको, पार्टी कार्यालय बनेको बुढाको भनाइ छ । यद्यपि, ‘शोषण र विभेदको अन्त्य भई समुन्नत समाज निर्माण भएपछि मात्र त्यो परिकल्पना हुन्छ । सहिदहरूको थुप्रै सपना पुरा गर्न बाँकी छन्,’ बुढाले भने ।