धम्पुसका एक्ला गुरुङ माओवादीः विद्रोही साइँला बा !

फ्ल्यास ब्याक २०५२ । माओवादीले समाजवादका नाराहरू घन्कायो । समानताका आवाजहरू बोल्यो । ‘जाँडरक्सी बन्द गर । जातीय छुवाछुत निषेध गर । तमु मुक्ति मोर्चा जिन्दाबाद । प्रचण्ड पथ जिन्दाबाद । नेकपा माओवादी जिन्दाबाद ।’ धम्पुसका श्वेत भित्ताहरू लाल अक्षरले पोतिए ।

देउकाजी गुरुङ । धम्पुसका रैथाने । गाउँघरमा ‘साइँला बा’ का नामले परिचित । देउरालीमा सानोतिनो पसल । सोही पसलले माओवादीसँग भेटघाट जुरायो ।

बर्खे झरी र कुहिरोले धुम्म परिरहने धम्पुसमा माओवादी कार्यकर्ताहरूको चहलपहल हुन्थ्यो । राता प्लास्टिकमुनी ओत लागेर कार्यकर्ताहरू आउँथे । धम्पुसको गोरेटो, जङ्गल र मैदानमा प्रायः ‘शोषक’हरूसँग उनीहरूको दोहोरो झडप हुन्थ्यो । शोषक अर्थात् बर्खे जुका । माओवादी कार्यकर्ताहरूले जुकालाई खुन चुस्ने शोषकको उपमा दिएका थिए । एक पटक भने देउरालीकाे प्रहरी चौकीमाथी नै आक्रमण भयो । विद्रोही पक्षले आक्रमण गरेको थियो । दुई जना प्रहरीको ज्यान गयो ।

मुक्तिकामी विचारहरूले देउकाजीलाई छोयो । अन्तर मनले माओवाद पछ्याउन थाल्यो । प्रचण्ड पथ मन पर्न थाल्यो । सर्वहारा मुक्तिको मोर्चामा सामेल हुने निर्णयमा पुगे देउकाजी । श्रीमती मिराको पनि साथ पाए । धम्पुसमा त्यति बेला करिब ३ सय गुरूङ घरधुरी थिए । जनसङ्ख्या ७ सय । तर, गुरुङ समुदायबाट माओवादी कार्यकर्ता भने एक जोडी अर्थात् २ जना ।  विगतदेखि वर्तमानसम्म । देउकाजी गुरुङ (साइँला बा) र मिरा गुरुङ ।

मुक्तिका लागि लड्न पर्छ भने । विभेदविरुद्ध चर्को जनजागरणले धम्पुस गुञ्जायमान भयो । आधाभन्दा धेरै दलित जनसङ्ख्या भएको धम्पुसमा बाँकी नेपालको जस्तै जातीय विभेद थियो । उस्तै छोइछिटो, उस्तै दुर्व्यवहार । उस्तै गरिबी । उस्तै भोकमरी ।

‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन’ महाकवि देवकोटाका श्लोक सुन्दै हुर्केका देउकाजी अब सामना परिवारका गीतहरू सुन्न थाले । ‘अरुण तरेर नाना तमोर तरेर, आयौँ हामी वीरताको गाथा कोरेर,’ उनको टेपमा क्रान्तिकारी भाका गुन्जिन थाले, ‘कसले भन्छ क्रान्ति यहाँ सम्भव हुँदैन, कसले भन्छ योद्धाहरूको जीत हुँदैन ।’

ती गीतहरूले देउकाजीको साहसको उचाइ माछापुच्छ्रेेकै आकारमा पुराउँथ्यो । देउकाजी सिडीहरू खोजाखोजी ल्याउँथे । जब अध्यारोले धम्पुसको आकाशमा कब्जा जमाउँथ्यो देउकाजी सानो कुप्रे टिभीमा गीतको सिडी घुसार्थे । रातो कपडा, निधारमा तारा अङ्कित रातो फेटा बाँधेका युवायुवतीहरूले माइला लामा, खुशिराम पाख्रिन, प्रगति महरा आदिका स्वरमा हाउभाउ गर्थे त्यसले छुट्टै जोस जाँगर दिन्थ्यो । तर, खुलेर गीत सन्ने वातावरण कहाँ थियो र । छिमेकी आए झ्याप्प बन्द गर्नु पर्थ्यो ।

 

क.सासा, क.करन, क.विश्वास, क.सन्देश, क. जीवन (रामजी बराल भूतपूर्व अर्थमन्त्री गण्डकी प्रदेश) को नाम अहिलेसम्म बिर्सेका छैनन् । द्वन्द्व उत्कर्ष भएको बेला गुपचुपमै जनजागरण फैलाए देउकाजीले । गुरुङहरूलाई देउकाजीको प्रशिक्षणले पटक्कै छोएन । ‘साइँला बा’ले आफ्नो प्रशिक्षण उत्पीडित दलित समुदायमा केन्द्रित गरे । दलित समुदायकै घरमा चियापान गर्दै जातीय विभेदको बारेमा कुरा सुनाए । देउकाजीले माओवादीको विद्रोहले मानिस सबै बराबर हुने विश्वस्त तुल्याए । उनलाई दलित समुदायको राम्रो साथ मिल्यो ।

धम्पुसमा पहिलो पटक माओवादीको १३ सदस्यीय सङ्गठन विस्तार भयो । अध्यक्ष देउकाजी गुरुङ । सदस्य बाबुराम विक, शिव विक, लाले बिक, दानबहादुर विक, रामरुगं विक, आसबहादुर विक, काजी विक, किरण परियार लगायत । दुई जना दलित महिला । धम्पुसको पोखरीमा सङ्गठन घोषणा भयो ।

धम्पुसमा चरम जातीय छुवाछुत थियो । मानिस सबै एउटै हो, महिला पुरुष एउटै हो फरक त समाजले बनाएको हो, देउकाजीको प्रशिक्षण हुन्थ्यो । गुरुङ भएर पनि ‘साइँला बा’ कुरो बुझ्छ, उनीहरू भन्थे ।

त्यतीबेला गैर दलित र दलितको पानी पँधेरो अलग, चिया पसल अलग, पुज्ने देउताको मन्दिरसमेत अलगअलग । बिस्तारै उनीहरूमा विभेदविरुद्ध विद्रोहको भावना अंकुराउन थाल्यो । देउकाजी लगायत माओवादीले उनीहरूमा विभेदविरुद्ध प्रतिकारात्मक भावनाको बिउँ रोपे । उनीहरू प्रतिकार गर्न थाले । उनीहरूको चेतना विकास भयो । विस्तौर गैर दलितहरूले देखिने गरी विभेद गर्न छोडे । अहिलेको पुस्तालाई देउकाजी भाग्यमानी ठान्छन् । कम्तीमा उनीहरूले पानी पिउने धारामा, चिया पिउने होटेलमा त छोइछिटो छैन ।

समुदायविरुद्धको विद्रोह 
देउकाजीको विद्रोह विभेद विरुद्धको थियो । अन्यायविरुद्धको थियो । छुवाछुतविरुद्धको थियो । उनले विद्रोहको सुरुवात आफ्नो समुदायबाट गरे । उनी धम्पुसका एक्ला गुरुङ माओवादी थिए र छन् । उनको राजनैतिक विचारमा साथ दिने उनकी जीवन सङ्गिनी मिरा छिन् । देउकाजीको नाममा यो एउटा अलिखित इतिहास बन्यो । उनी धम्पुसका सिङ्गल सो कल्ड टेरोरिस्ट एज वेल एज सिंङ्गल माओइस्ट नाउ एन्ड देन !
देश विदेशबाट आफन्त, इष्टमित्र, साथीभाइको एउटै प्रश्न हुन्थ्यो, तिमिलाई किन माओवादी हुनु परेको? के कमी छ? उनी भन्छन्,  त्यो प्रश्न विगतमा चर्को सुनिन्थ्यो । अहिले ख्याल ठट्टामा सुनिन्छ । आयो माओवादी भन्छन् । आयो दलित नेता, आयो कमरेड भन्छन् ।

राजनीतिक आदर्श
देउकाजीलाई पदको कुनै लोभ छैन । पार्टीभित्र होस् वा बाहिर होस् लाभको पदमा चासो छैन । आफ्नै गाउँ ठाउँमा रहेर गाउँ ठाउँकै लागि काम गर्ने हो भन्ने धारणा छ । ‘मलाई पार्टीमा अहिले पनि पद नदिनुस् भन्छु तर जिल्ला समन्वय समिति सदस्यमा राखेका छौँ भनेर साथीहरूले फोन गर्छन् । त्यति बेला करिब ८ वर्ष धम्पुस गाविस सेक्रेटरी भएर काम गरियो’उनले भने ।

राजनीतिले दिलाएको सन्तुष्टि
देउकाजीको मनमा एउटा महत्त्वाकाङ्क्षा थियो । उनी द्धन्द्धकालदेखि माओवादी भनेर परिचित भए । धम्पुसमा माओवादीलाई जिताउन पाए हुन्थ्यो भन्ने अन्तरमनमा खेलिरहन्थ्यो । त्यो अन्तर मनको आकाङ्क्षा हालै पुरा भएको उनी सुनाउँछन् । ‘०७९ को स्थानीय तह निर्वाचनमा धम्पुसमा माओवादीले वडाध्यक्ष जित्यो । माओवादी नेता बैकुण्ठ भण्डारी वडाध्यक्ष निर्वाचित भए । त्यसले मलाई बहुत सन्तुष्टि दिएको छ । पहिले केका लागि माओवादी भइस् भन्ने प्रश्नको उत्तर छाती ठुलो पारेर दिन पाएको छु ।’ प्रसन्न भावमा देउकाजी साइँला बा’ले भने, ‘पहिलेको धम्पुस गाविस अर्थात अहिलेको वडानं. ७ माओवादी मय भयो । यसले आनन्दित बनाउँछ ।’

व्यवस्था बदलियो । अवस्था समयानुकूल बदलिँदै छ । देउकाजी दम्पती अहिले पुरानै ठाउँमा होटल व्यवसाय गर्छन् । माओवादी कार्यकर्ताको उपस्थिति हुने देउकाजी निवासमा अहिले आन्तरिक तथा बाह्य पर्यटक आउँछन् ।

 

देउकाजी गुरूङ श्रीमती मिराकाे साथमा
Loading...