५५ का एसएलसी ‘बझाङ टपर’ धामी कर्णालीमा रेक्टर

२०४० सालमा व्यासी गाविस ५ को कृषक परिवारमा डा. डबल धामी (हिमाल) को जन्म भयो । करभान धामी र बेलादेवी धामीका तीन छोरा एक छोरीमध्ये कान्छा हुन् डबल बहादुर धामी । परम्परागत शैलीको कृषि पेसामा परिवारका सदस्य सक्रिय थिए । गाई, भैँसी, हल गोरु र केही बाख्रा प्रत्येक परिवारसँग हुनै पर्ने अघोषित नियम जस्तै जनजीवन ।

करभानधामीले काठको पाटीमा कालो मोसो पोते । सेतो कमेरोको मसी बनाए । निगालोको तिखार्दै कलम तयार पारे । कान्छो छोरोलाई गाउँकै थलारा प्राथमिक विद्यालयमा भर्ती गरे । जेठा सन्तान झैँ कान्छालाई पनि सामान्य साक्षर बनाउने मनोकाङ्क्षा थियो करभान धामीको । डबल धामी अब स्कुले भए । दिनभर विद्यालयमा कखरा घोक्ने बिहान बेलुका बाख्रा चराउनु पर्ने उनको दैनिकी बन्यो ।

साँझ बिहान बाख्रा चराउँदै कखरा घोक्ने धामी पढाइमा तीक्ष्ण निस्किए । उनी एकबाट कक्षा दुईमा जाँदा कक्षा प्रथम भए । यद्यपि धामीको यो सक्सेसमा कुनै पार्टी सेलिबे्रसन भएन । न कुनै केक काटियो । न त परिवार सदस्यले हार्दिक बधाई भन्दै बढाइँ व्यक्त गरे । उनको उही बाख्रा चराउने दैनिकी यथावत् रह्यो । एवमरितले धामीले पाँच कक्षा उत्तीर्ण गरे । पाँच पास गर्दासम्म धामीको रोल नम्बर एक नै यथावत् रह्यो ।

गाउँका विद्यालयमा माथिल्लो तहका कक्षा थिएनन् । थप पढ्न आउँदा जाँदा गरेर ४ घण्टा टाढाको विद्यालय शान्ति मावि जानुपर्ने भयो । परिवारका सदस्यले धामीको पढाईमा पूर्ण विराम दिने मनसाय गरे । केही थान बाख्रा थप्ने बारेमा छलफल हुन थाल्यो । धामीलाई प्राथमिक शिक्षा भवराज जोशी, शिक्षक नवराज भट्ट , पदम प्रसाद उपाद्यायले दिएका थिए । धामीको तीक्ष्ण पढाई देखेर प्राथमिक शिक्षा प्रदान गरेका गाउँको विद्यालयका प्रअ भवराज जोशी प्रभावित थिए । जोशीले धामी परिवारका सदस्यलाई सम्झाई बुझाइ गरे । ‘जेहनदार विद्यार्थी छ । उसले राम्रो गर्छ,’ भनेपछि थप पढ्न पाउने भए । कक्षा ८ सम्म गाउँबाटै ओहोरदोहोर गरे । ९ र १० पढ्न उतै डेरा गरी बसे । एक वर्ष प्रधानाध्यापक रामबहादुर थापासँगै बसेर पढे ।

एसएलसीमा बझाङ टप
शान्ति मावि चौघानपाटा त्यति बेला ठुलो भूगोलका लागि स्रोत विद्यालय जस्तो थियो । नौविस, छविस, सुर्मा, जुजीलगायतका विद्यार्थीहरू माध्यमिक तह पढ्न शान्ति मावि आउँथे । शिक्षकहरूको टिम राम्रो थियो । शिक्षकहरु राम बहादुर थापा, ओकिल बहादुर सिंह,धनराज जोशी ( शाश्री सर), शेर बहादुर थापा, बिष्णु प्रसाद जोशी (बिसु सर), यादव सर, गोरख राज भट्ट, महेन्द्र बहादुर सिंह,शिव राज जोशी, राम बहादुर सिंह, प्रेम बहादुर थापा, रामगरी जोशी, प्रेम बहादुर सिंह, जित बहादुर सिंह, होमनाथ दवाडी, यम नाथ पौडेल जस्ता अब्बल शिक्षक थिए । उनीहरू आफ्नो पेसामा लगनशील हुन्थे । धामीले राम्रो पढ्ने वातावरण पाए । धामी १० सम्म कक्षा प्रथम नै भए । कक्षा १० को अन्तिम परीक्षा देशव्यापी हुन्थ्यो । एसएलसी २०५५ । २०५६ मा नतिजा आयो । धामीले बझाङ टप गरे । अर्थात् बझाङभर उनले सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण भए । त्यति बेला जिल्ला शिक्षा कार्यालयले ‘टपर’ विद्यार्थीलाई प्रमाण पत्र र नगद २५ हजार पुरस्कार दिन्थ्यो । धामीले प्रमाण पत्र पाए । तर, नगद भने पाएनन् । ठुलाबडाहरूले त्यो रकम आफैले ग्रहण गरेछन् ।

बझाङमा कुनै करियर कन्सल्टेन्सी थिएनन् । न कुनै एजुकेसन कन्सल्टेन्सी । गुगल सर्च गरेर एसएलसी टपरले के मा स्कोप छ भनेर हेर्ने जमाना पनि थिएन । वातावरण अनुसारको सपना देखे । प्लस टु साइन्स पढेर विज्ञान शिक्षक बन्ने धुमिल सपना । सपना पनि धुमिल? धामीको सपना धुमिल नै थियो । स्पष्ट सपना देख्न मिल्ने आर्थिक वातावरण थिएन । परिवारमा सबै बेरोजगार जस्तै । थप पढाइका लागि सहर छिर्नुपर्ने भयो । सम्पत्तिको नाममा त्यही बस्तुभाउ र गाउँको जग्गा जमिन । आफ्नो भागमा पर्ने खेत बेच्न परिवारका सदस्यलाई मनाए । ३० हजार जग्गाको भाउ तोकियो । जसमध्ये १० हजार खर्च लिएर धामी उच्च शिक्षाका लागि काठमाडौँ छिरे ।

उच्च शिक्षा अमृत साइन्सबाट
धामीको उत्कृष्ट एसएलसी नतिजाका कारण राजधानीका धेरै कलेजले छात्रवृत्तिसहित तान्न खोजेको थियो । तर उनको रोजाइमा अमृत साइन्स कलेज (अस्कल) पर्‍यो।  सुरुमा कोठा भाडामा बसे । पछि कलेजकै होस्टेल बसे । त्यति बेला होस्टेल शुल्क ६० रुपैयाँ मासिक थियो । ७ सय ५० मा खाना । परिस्थिति सहज बन्यो ।

अस्कल परिसरमा डा. धामी साथीहरूसँग

डाक्टर बन्ने टर्निङ पोइन्ट
जेहनदार विद्यार्थीलाई विभिन्न शैक्षिक वृत्ति पाइँदा रहेछन् । अस्कल छिरेपछि धामीले थाहा पाए । साइन्स पढ्ने दुर्गम क्षेत्रका  विद्यार्थीका लागि अजय तुलाधर छात्रवृत्ति प्रदान गरिन्थ्यो । धामी सो  छात्रवृत्ति पाउन योग्य भए । भूगोलविद् तथा प्रोफेसर डा. तुलसी जोशीले १२ हजारका दरले २ वर्षको खर्च व्यवस्थापन गरिदिए । जहाँ इच्छा त्यहाँ उपाय । पढ्न सके खर्च त जसोतसो व्यवस्थापन हुँदो रहेछ । ‘अब शिक्षक होइन डाक्टर बन्नु पर्छ । शैक्षिक वृत्ति नै टर्निङ्ग पोइन्ट बन्यो,’ उनले भने ।  प्लस टु सकेपछि बिडिएस पढ्नका लागि तयारी कक्षा लिन थाले । सरस्वतीले साथ दिएका धामीले सोचे झैँ भयो । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्ति नाम निकाले । धरानबाट बिडिएस सके ।

बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा अध्ययनरत साथीहरूसँग डा. धामी

एमडी अध्ययनकालागि काठमाडौँ युनिभर्सिटीले स्पोन्सर गर्ने भयो । युनिभर्सिटीको स्पोनसरसीप नेपालगन्ज मेडिकलबाट क्लिनिकल फार्मकोलोत्जी एण्ड थेराप्युटिक्सबाट एमडी गरे । युनिभर्सिटीले पढ्न स्पोन्सर गरेपनी पढाईपश्चात नेपालगन्ज कलेजले अध्यापन गराउने सर्तमा अनुबन्ध गरेको थियो । एमडी अध्ययन सकेर पाँच वर्ष असिस्टेन्ट प्रोफेसर भएर अध्यापन गरे ।

एसोसिएट प्रोफेसर भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेका डा. धामी हालै प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) नियुक्त भएकाछ्न् । धामी बझाङको उत्तरपस्चिमी भागमा फैलिएको ज्याबनी समुदायबाट चिकित्सा क्षेत्रमा माथिल्लो तह पुग्ने पहिलो व्यक्ति र पहिलो रेक्टर बनेका छन् ।

नवनियुक्त रेक्टरको रूपमा आफ्नो योजना प्रतिष्ठानको सफलता र वृत्ति विकासका लागि रहने उल्लेख गरे । दुर्गममा रहेको कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठानलाई चिकित्सा शिक्षाको हबको रुपमा बिकास गर्ने प्रयत्न सदा रहनेमा डा. धामीले जोड दिए ।

अध्यापन र अनुसन्धानको गुणस्तर बढाउन सङ्काय सदस्यहरू र विभाग प्रमुखहरूसँग मिलेर काम गर्ने योजना रहेको जानकारी दिए । नवीन शिक्षण विधिहरूलाई प्रोत्साहन गर्ने, र शैक्षिक कार्यक्रमहरूको लागि पर्याप्त स्रोतहरू उपलब्ध गराउने डा.धामीको तर्क छ ।

‘अनुसन्धान प्रयासहरूलाई समर्थन गर्न प्रोत्साहन, स्रोतहरू, र पूर्वाधार प्रदान गरेर विश्वविद्यालय भित्र अनुसन्धान संस्कृतिलाई बढवा दिनेछु, जुम्लामा उत्पादन भएको जनशक्तिलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन मेरो सक्रियता रहने छ,’ नव नियुक्त रेक्टर धामीले सुनाए ।

 

Loading...