इन्द्रेणी टिमलाई दुई अध्यक्षको निम्तो, बिर्सती मेला देशव्यापी बनाउने तयारी

छबिस पाथीभेरा गाउँपालिका अध्यक्ष वसन्त बहादुर चलाउने र दुर्गाथली गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले इन्द्रेणी परिवारलाई निम्तो दिएका छन् । केहि दिनअघि दुईवटै गाउँपालीका अध्यक्ष इन्द्रेणीको सेटमा पुगेका थिए ।
काठमाडौँ पुगेर दुई वटै पालिकाको मध्ये भागमा पर्ने ‘थली’ बिसौना बजारमा लाग्ने बिर्सती मेलालाई देशव्यापी प्रचारप्रसार गर्न चर्चित इन्द्रेणी परिवारलाई निम्तो दिएका हुन् ।
छबिसपाथीभेरा गाउँपालीका अध्यक्ष वसन्त चलाउनेले भदौ २० गतेबाट धार्मीक तथा ऐतिहासीक बिर्सती मेला सञ्चालन हुने भएकाले उक्त कार्यक्रममा इन्द्रेणी परिवारलाई स्वागत गर्न आतुर भएको बताए । उनले भने, ‘इन्द्रेणी टिमलाई बझाङमा लैजान हामी दुईवटा गाउँपालिकाका अध्यक्ष यहाँ आएका हौँ ।’
इन्द्रेणीको कार्यक्रममा बोल्दै दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापा (तुफान)ले इन्द्रेणी सबै वर्ग, समुदाय, जाती, क्षेत्र, लिङ्गको सामूहिक अभिव्यक्तिका रूपमा रहेको बताए ।
थलीनौबिसबाट समग्र बझाङ जिल्लाको संस्कृति, धार्मिक बिर्सती मेलाको इतिहास चिनाउने अभियान अन्तर्गत इन्द्रेणी टिमले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने विश्वासका साथ इन्द्रेणी टिमलाई बोलाएको साँस्कृतिक अभियानता गणेश बुढाले जानकारी दिए ।
यो वर्ष बिर्सती मेलाको व्यवस्थापन समिती बनाउन भाद्र १ गते बैठक बस्ने सांस्कृतिक अभियन्ता गणेश बुढाले बताए । उनले भने, ‘मेलालाई विश्वसामु चिनाउने अभियान रहेको हुँदा इन्द्रेणी टिमलाई १ महिना अगाडी नै हामीले निम्तो दिएका हौँ ।’ इन्द्रेणी परिवार आउने छ । अन्य कार्यक्रम, खेलकुदको विषयमा १ गते बैठक बसेर छलफल गर्ने र सार्वजनिक गर्ने छौँ ।
बिर्सती मेला कसरी मनाइन्छ ?
भाद्र १८ गते छविसपाथिभेरा गाउँपालिका ६ मा रहेको दैपाँड मन्दिरमा पूजा आराधना गरेपछि बिर्सती पर्व सुरु हुने शिक्षक तथा सांस्कृतिक अभियन्ता गणेश बुढा बताउँछन् । बुढाका अनुसार स्थानीय भक्तालु निर हर व्रत बसेर त्यो दिनभर बाठपाला देवताको पूजा आराधना गर्छन् । साँझ चाँभाइ (एक किसिमको भजन)  खेल र बाठपाला देवताका फाग गाएर भारीखेल लगाएर रातभर भजन कृतन गर्दै मनाउने गर्छन् । भाद्र १९ गते ढाँका (डमरु) बजाउने प्रचलन छ ।
१९ गते च्यागोटबाट लेकगाउँ दैपाड र दौला दैपाड हुँदै सैनका भकुण्डे खालमा जाने र महालिङ्ग देबताको पुजा आजा गरेरै मालिकमाडुमा भारी खेल लगाउदै फाग गाएर फर्कदा भकुण्डेखालमा ढुस्का खेल्दै रमाइलो गर्दै फर्कने चलन छ।
२० गते भक्तजनहरू पुनः व्रत बसेरै दैपाँड मन्दिरमा पूजा आराधना गर्ने प्रचलन छ । यो दिन बाठपाला मन्दिर दैपाँडबाट बाल्यचौर हुँदै महालिङ्ग देवताको मन्दिर च्यागोटसम्म नाङ्गै खुट्टा पदयात्रा गर्ने प्रचलन रहेको छ ।
२० गते विशेष दिनको रूपमा मनाइने भएकोले यो पर्वको नाम बिर्सती रहेको मान्न सकिन्छ । यो थलिदुर्गा मन्दिरमा मेला लाग्ने गर्दछ ।  बिहानैदेखि पूजाआजा गरेर थलिदुर्गाको मन्दिरबाट नै महिलाहरूले चाँभाइ खेल लगाउने गर्दछन् । दिनभर बिसौनाचौरमामा चाँभाई लगाइसकेपछि बिर्सती पर्व समापन भएर मेलाको सुरुवात हुन्छ । २१ गतेबाट सांस्कृतिक कार्यक्रम, देउडा दोहोरी, भलिबल प्रतियोगिता हुन्छन् ।

 

किसानले असार, साउनको खेतीपाती रोप्ने काम सकेपछि यो मेला मनाइन्छ । देश विदेशबाट स्थानीय बिर्सतीको अवसर पारेर गाउँ फर्कन्छन् । टाढाबाट आएका इष्टमित्र मेलामा भेट हुन्छ । भलाकुसारी हुन्छ । जिल्लाका विभिन्न ठाउँबाट व्यक्तिले देउडा खेल्छन् । सुख, दुःख साटासाट गर्छन् । दुःख बिर्साउने अवसर विर्सतीले जुराउने हुनाले यो मेलाको नाम ‘बिर्सती’ रहेको मान्न सकिन्छ ।
Loading...