बझाङमै हरिद्धार, पुग्नु भयो?
स्कन्द पुराणको मानस खण्ड पर्वमा छ: खर्जूर क्षेत्रमा १ पटक स्नान गर्नु २१ पटक हरिद्धारको दर्शन समान हुन्छ
धार्मिक, ऐतिहासिक तथा भौगोलिक दृष्टिकोणबाट बझाङ परिचित छ । खप्तड क्षेत्र, साइपाल हिमाल, सुर्मा सरोवर, सेती नदी, सुर्मा देवी, वड्डी ज्यावन, थली दुर्गा, चैतली, सिलदेवी, बिर्सती मेला, जयपृथ्वी बहादुर सिंह, देउडा गीत आदि जस्ता धरोहरले बझाङको पहिचान झल्काएका छन् ।
पर्दा अगाडी देखि रहेका सीमित धार्मिक, ऐतिहासिक, भौगोलिक, प्राचीन संस्कृति, संस्कार र सभ्यता मात्रै बझाङका जननी होइनन् । नेपथ्यमा कयौँ सम्पदा, सभ्यता, संस्कार पहिचानको पर्खाइमा छन् । जसमध्येको एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय केन्द्र हो बासुधारा । जिल्लाको उत्तर पश्चिम भेग, छबिस पाथिभेरा गाउँपालिका ७ मा अवस्थित बासुधारा धार्मिक स्थल त्यस क्षेत्रका बासिन्दाको आस्था र विश्वासको केन्द्र हो ।
शास्त्रमा के छ?
करिब ४२ सय मिटरको उचाइमा पाथिभेरे हिमालको चट्टानबाट २२ वटा धारा निस्केका छन् । प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने अद्भुत धारा बाह्रै महिना एकनास बगी रन्छन् । पानीका धारा सँगै शिव मन्दिर छ । मङ्सिर देखी वैशाखसम्म छ महिना ढपक्कै हिउँले ढाक्ने र बर्खामा सयौँ थरिका लेकाली फुलले सिँगारिने बासुधारासँग जोडिएका अनेकौँ किंवदन्ती छन् । साथै सो क्षेत्रको बारेमा महर्षि वेद व्यासको स्कन्द पुराणको मानस खण्डमा वर्णन गरिएको छ । स्कन्द पुराणको मानस खण्ड पर्व अन्तर्गतको १ सय ४९ अध्यायमा बासुधारा क्षेत्रको बारेमा उल्लेख छ ।
जसमा भनिएको छ, ‘त्यस शिखरमा (पाथिभेरे हिमालमा) कोटिश्वरको पूजा गर्नाले कोटि यज्ञ गरेको फल प्राप्त हुन्छ । अनि, त्यस शिखरको दक्षिण भागतर्फ पार्श्व नदिकाे मूल छ, त्यस पार्श्व नदिमा स्नान गर्नाले मानिसलाई गङ्गाको दर्शन र स्पर्श गरेको समान फल प्राप्त हुन्छ । त्यसै शिखरको दक्षिणैतर्फ क्षेत्र भनेको अलौकिक बुढखोरी (बुडखोरी) खजुरी क्षेत्र हो । त्यो अति पवित्र शूल धारी देव शिवको क्षेत्र हो । त्यस क्षेत्रको फल र महत्त्व एक्काइस पटक केदारनाथको यात्रा गर्नाले जो फल प्राप्त हुन्छ, त्यसै फलका समानको फल बुडखोरीको खजुरी तीर्थमा गएर एक पटक मात्रै स्नान गर्दा प्राप्त हुन्छ ।’
ज्योतिष पण्डित लक्ष्मीकान्त जोशीले नेपालीमा अनुवाद गरेको स्कन्द पुराणको मानस खण्ड पर्वमा सो ब्यहोरा उल्लेख गरिएको छ । जोशीले उक्त कथन स्कन्द पुराणको मानस खण्डमा भएको दाबी गरेका छन् ।
ज्योतिष पण्डित लक्ष्मीकान्त जोशीले अनुवाद गरेको मानस खण्डमा उल्लेख भएको बासुधारा क्षेत्रकाे बारेमा हामीले उनीसँग संवाद गरेका थियौँ । त्यति बेला उनले भनेका थिए, ‘स्कन्द पुराणमा उल्लेख भएको खर्जूर क्षेत्रमा पर्ने तारु गाडको मुहान बासुधाराको एक पटक दर्शन गर्दा हरिद्वारमा सय पटक दर्शन गर्दा पाउने फल बराबरको फल प्राप्त हुन्छ ।’
स्कन्द पुराणको मानस खण्ड पर्व अन्तर्गतको १ सय ५२ अध्यायमा सेती नदी र तारु गाडको सङ्गम स्थलदेखि पाथिभेरा हिमाल सम्मको बारेमा वर्णन गरिएको छ । जसमा उल्लेख छ, ‘सतियुगमा संसारै अदृश्य भयो तर त्यस समयमा सप्तर्षि, मनु तथा यी नौ माछा मात्र देखिन्थे । यस्तो अवस्थामा ती नौ माछा, मनु र सप्तर्षिले डुङ्गा र डुङ्गामा राखिएका तमाम बीजको समूहलाई धेरै वर्षसम्म तान्दै थिए । त्यस अगाध जलराशी सञ्चय भएको समुन्द्रमा आलस्य रहित भएर डुङ्गालाई ताने । त्यसपछि हिमालयको परम उच्च श्रृङ्ख (शिखर) आउँछ । ऋषि महर्षिद्वारा यथाशीघ्र त्यो डुङ्गालाई त्यस हिम श्रृङ्खमा बाँधियो । माछाका वचनलाई सुनेर नाव ( डुङ्गा)लाई हिम श्रृङ्खमा बाधेपछि त्यो उच्च हिम श्रृङ्ख (पाथिभेरा हिमाल) नौका बन्धनका नामले प्रसिद्ध छ । जुन स्थानबाट तारु गाडको उत्पत्ति भएको छ । आज त्यस हिमाललाई नौ कोटिया अर्थात् नौकाट भन्दछन् । यो खर्जूर क्षेत्रमा पर्दछ ।’
शिव रात्रिमा उपासना
महा शिवरात्रिको तिथिमा यस खर्जूर क्षेत्रको बासुधारामा जिल्लाका विभिन्न ठाउँबाट भक्तजनहरूको उपस्थिति रहने गर्दछ । भक्तजनहरू शिवरात्रिको साँझबाट बिहानसम्म निराहार व्रत बसेर, भजन कीर्तन गर्छन् र बाइसधारामा स्नान गर्दछन् । महर्षि वेद ब्यासद्वारा लेखिएका अठार पुराण मध्येको एक स्कन्द पुराणको १ सय ५२ अध्यायको मानस खण्ड पर्वमा खर्जूर क्षेत्रको बारेमा वर्णन गरिनुले बासुधाराको धार्मिक तथा ऐतिहासिक महत्त्व उल्लेख्य छ भन्ने स्पष्ट हुन्छ ।
खर्जूर क्षेत्रका बासुधारा लगायत अन्य धार्मिक तथा ऐतिहासिक स्थलको प्रवर्द्धन गर्न स्थानीय तहले जोड दिएको छ । स्थानीय सरकार र प्रदेश सरकारबाट उक्त क्षेत्रको विकासका कार्यक्रम सञ्चालन भएका छन् । बासुधारामा पञ्च धातु मिश्रित बाइस वटा धारा निर्माण भएका छन् । शिव मन्दिर निर्माण गरिएको छ । तीर्थ यात्रीका लागि बास बस्न धर्मशाला निर्माण गरिएको छ । बुडखोरीदेखि तीर्थस्थल सम्मै चौडा पदमार्ग निर्माण गरिएको छ । पदमार्गमा विभिन्न प्रजातिका लेकाली फुल, डाँफे, कस्तुरी, मृग, झारल देख्न सकिन्छ । औषधीय गुण भएका जडीबुटी चराचुरुङ्गी, लागिगुँरास, चिमाली अवलोकन गर्न सकिन्छ ।
बासुधारा तीर्थ स्थलको पदमार्गमा बासुका झर्ना रहेको छ । पर्यटक तथा तीर्थयात्रीको यात्रालाई अविस्मरणीय बनाउने बासुका झर्नामा अहिले पार्क तथा सिँढी निर्माण गरिएको छ । वैशाखदेखि असारसम्म पाथिभेरा हिमालमा पहेँलो सुनका नामले परिचित बहुमूल्य बुटी यार्सागुम्बा पाइन्छ । सयौँ थरिका लेकाली फुलले सुसज्जित पाटन, भेडाका बथान, मनोरम प्राकृतिक दृश्य यस क्षेत्रका थप आकर्षण स्रोत हुन ।
कसरी पुग्ने?
जिल्लाको विभिन्न स्थानबाट धार्मिक यात्रा, पर्यटन तथा वनभोजका लागि मानिसहरूको यस क्षेत्रमा उपस्थिति रहने गर्दछ । यहाँसम्म जोड्ने सदरमुकाम चैनपुरबाट भाँडे बजार, छविस पाथिभेरा गाउँपालिका हुँदै बुडखोरीसम्म हालसालै सडक निर्माण गरिएको छ । बुडखोरीबाट तिन घण्टाको पैदल यात्रापछि बासुधाराको दर्शन गर्न सकिन्छ । बास बस्नका लागि बुडखोरीमा ‘टि–हाउस’हरू छन् । स्थानीय परिकार फाँडो, बाको, दही आदि पर्यटकका लागि नौलो अनुभव हुन सक्छन् । असारदेखि भदौसम्म वर्षातको समय भएकाले भ्रमण गर्नु त्यति उचित नहुन सक्छ । अन्य समयमा भने मौसम उपयुक्त हुन्छ । असोजदेखि मङ्सिर र वैशाख, जेठमा भ्रमण गर्दा उपयुक्त हुन्छ ।