युवाहरू सिर्जनाका मूल हुन् । देश विकासका मेरुदण्ड हुन् । एक राष्ट्र निर्माणका बलिया खम्बा युवा हुन् । बा-आमाका लागि बुढेसकालको सहारा हुन् युवा । प्रत्येक विकसित देशले युवाबाट विकासको अपेक्षा गरेको हुन्छ ।
एउटा युवा तयार हुनको लागि निकै लामो समय, लगानी र धैर्यता आवश्यक हुन्छ । कालान्तरमा अध्ययन सकेर युवा काम गर्नको लागि श्रम बजारमा प्रवेश गर्छ । आफ्नो योग्यता अनुसारको काम अर्थात् रोजगारी खोज्न थाल्छ । उ उसको योग्यता अनुसारको रोजगार खोज्न तल्लीन हुन्छ । सुनौलो भविष्यको कल्पना गर्छ । विकसित देशहरूले श्रम बजारमा प्रवेश गरेका युवाहरूको रोजगारी सुनिश्चित गर्छन् र उनीहरूलाई उत्पादनतिर जोड्छन् । त्यो उत्पादन निर्माण होस् वा खोज, अन्वेषण र अनुसन्धान । युवाहरू कहीँ न कहीँ जोडिन्छन् ।
हामी नेपाली युवाको दुर्भाग्य यहीबाट सुरु हुन्छ । जब हामी श्रम बजारमा प्रवेश गर्छौँ । आफ्नै देशमा केही गर्न खोज्छौँ तब हाम्रो दुर्भाग्य सुरु हुन्छ । हातमा सिप र योग्यता छ, तर काम छैन । कयौँ गल्लीहरूमा भतारिन्छौँ । काम खोज्दै । कयौँ व्यक्तिको चाकरी गर्न पुग्छौँ ।
एउटा ऊर्जाशील युवा निराश हुन पुग्छ । सङ्घर्षको वेगमा कुद्दाकुद्दै उ थाक्छ । हरेस खान्छ । अनि विदेश पलायन हुन पुग्छ । नेपाली युवाहरू विदेश पलायन भए मात्रै समृद्द नेपालको पर्दा उघार्न सक्ने हुन्? नेपाली युवा बिदेसिएर रिमिटान्स पठाउन मात्रै जन्मिएका हुन्? विदेशी भूमिमा रहेर म बारम्बार आफैलाई प्रश्न गर्छु । ‘रिमिटान्स कै भर मा देश चल्ने हो? कतिन्जेल चल्छ?’
विदेश त विदेश नै हो नि । तर, विदेशिनु मै पनि विभेदको ठुलो खाडल देख्छु । हुने खानेको रोजाई अमेरिका पर्छ । अस्ट्रेलिया, जापान, क्यानडा पर्छ । गरिब युवाको बाध्यतामा खाडी मुलुकहरू ।
किन रित्तो हुँदै छ मुलुक? युवाहरू किन विदेश पलायन हुदैँ छ्न्? यी प्रश्नको जवाफ सरकारसँग नभएको होइन । सरकार मौन छ । अथवा, मौनता साँधेको छ । जसको दुर्भाग्य आम नेपालीहरूले बेहोरी रहेका छन् । गाउँमा मर्दा मलामी जाने मान्छे छैनन् । पर्दा साथ दिने युवा छैनन् । पुर्खाका पालामा पहेँलै हुने धानका खेत खण्डहर बनेका छन् । तोरी फुल्ने फाँटहरूमा ऐझेरु उम्रेका छन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क हर्ने हो भने सबैभन्दा बढी यो वर्षमा पलायन भएको देखिन्छ । जसको कुल सङ्ख्या ७ लाख भन्दा माथि रहेको छ । म जस्ता हजारौँ युवा दिन दुई गुना रात चौगुना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छोड्न बाध्य छौँ । लाखौँ मध्येको एक युवा म पनि हुँ ।
विदेश सोचे जस्तो कहाँ हुँदो रहेछ । हामीले नेपालमा कल्पना गरेको जस्तो छैन । समयको रफ्तारसँगै कुद्नु पर्छ । बिरामी पर्दा औषधि दिने मान्छे हुँदैनन् । थकान लाग्दा सोध्ने कोही हुँदैनन् । भोक लागेको बेला खान पाइँदैन ।
विदेशमा दुख, सङ्घर्ष गर्नु पर्ने रहेछ । जुन म आफूले प्रत्यक्ष भोग्दै छु । विदेशमा चुनौतीका चाङ छन् । सामना गर्नै पर्ने छ । कयौँ युवा आफूले सोचेको जस्तो नहुँदा डिप्रेसनको सिकार भएका छन् । कतिपय विदेशमै विलिन भएका छन् । कतिले आफ्नो घरपरिवार सब थोक भुलेर हराएका छन् ।
नेपालमा बसेर सोचेको अनि सम्झेको जस्तो सजिलो छैन । बा-आमालाई रोइ कराई किनी मागेको बाइक, स्कुटरमा सररर घुमेको जस्तो । कलेज बङ्क गरेर डेटिङ गए जस्तो । तिहारमा तास खेलेको जस्तो । मेलामा झगडा गरेको जस्तो । छिमेकीको बिहेमा नाचेको जस्तो सजिलाे विदेश कहाँ छ?
किन रित्तो हुँदै छ मुलुक? युवाहरू किन विदेश पलायन हुदैँ छ्न्? यी प्रश्नको जवाफ सरकारसँग नभएको होइन । सरकार मौन छ । अथवा, मौनता साँधेको छ । जसको दुर्भाग्य आम नेपालीहरूले बेहोरी रहेका छन् । गाउँमा मर्दा मलामी जाने मान्छे छैनन् । पर्दा साथ दिने युवा छैनन् । पुर्खाका पालामा पहेँलै हुने धानका खेत खण्डहर बनेका छन् । तोरी फुल्ने फाँटहरूमा ऐझेरु उम्रेका छन् ।
(राजु धामी हाल वैदेशिक रोजगारका लागि मलेसियामा छन्)