सागर जोशी, बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा लाग्ने प्रसिद्ध धार्मिक तथा ऐतिहासिक सिलदेवी मेला प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनबाट सुरु हुन्छ । जिल्लाको प्रसिद्ध र प्रमुख यो मेला जिल्ला भरीका मान्छेको भेटघाट गर्ने थलोका रुपमा रहेको छ । परम्परागत रुपमा महिला पुरुष देउडा तथा पुजा आराधना गरेर मनाइने संस्कृति रहेको सिलदेवी मेलाले पछिल्लो समय नयाँ पहिचान बनाएको छ ।
मेलामा आयोजना हुने भलिवल प्रतियोगिताले राष्ट्रियस्तरको टुर्नामेन्टको झल्को दिने गरेको छ । बझाङ उद्योग वाणिज्य संघले प्रत्येक वर्ष सिलदेवी मेलाको अवसरमा खेलकुद तथा सांस्कृती कार्यक्रम आयोजना गर्दै आएको छ ।
सिलदेवी मेलालाई खेल संस्कृतिसँग जोडेर युवाहरुको आर्कषण बढाउनमा बझाङ उद्योग वाणिज्य संघले अविभावकिय भूमिका निर्वाह गरी रहेकाे छ । मेलामा युवा पुस्ताको उपस्थिति बढाउन महिला-महिला तथा पुरुष-पुरुष भलिबल प्रतियोगिता आयोजना हुने गरेका छन् । सिलदेवी मेलामा खेल संस्कृतिको विकास गर्न अध्यक्ष दानबहादुर सुर्मेली लागि परेका छन् ।
सुर्मेली उद्योग वाणिज्य संघको अध्यक्ष भए पश्चात सिलदेवी मेलाले खेलकुदको मेलाको समेत पहिचान बनाएको छ । सुर्मेलीले उद्योग वाणिज्य संघको नेतृत्व गर्नुभन्दा अगाडि पनि सिलदेवीकाे अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम नभएका भने होइनन् । तर, २०७३ मा सुर्मेली उद्योग वाणिज्य संघको नेतृत्वमा आएपछि उनले भलिवल प्रतियोगितालाई विषेश महत्वका साथ अगाडि बढाएका छन् । सुर्मेली नेतृत्वमा आएपछि खेलकुदको विकासका लागि ‘बझाङ उद्योग वाणिज्य संघ कप’ स्थापना गरेका थिए । साथै खेलाडीलाइ प्रोत्साहन स्वरुप धनराशीकाे पुरस्कारको व्यवस्थापन गरिएकाे छ ।
जिल्लामा प्रत्येक वर्ष ठुलो धनराशीको भलिवल प्रतियोगिता आयोजना हुने भएपछि स्थानीयस्तरमा युवाहरू खेलकुदतिर आकर्षित भएका छन् । यो वर्षको भलिवल प्रतियोगितामा पुरुष तर्फका १६ टिम सहभागी भएका थिए भने महिला तर्फका ९ टिमले सहभागिता जनाएका थिए । सुर्मादेबिको थलो मानिएको चैनपुर बजारमा धार्मिक तथा ऐतिहासिक सिलदेबि मेलाको जर्गना बझाङ उद्योग बाणिज्य संघले गर्दै आएकाले भरपुर मनोरंजन भएको दर्शकहरूले बताएछन् ।
शिलदेवी मेलाको अवसरमा उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्ने यो प्रतियोगिताले खेल क्षेत्रको विकासमा योगदान दिएको भन्दै पालिका प्रमुखहरूले प्रशंसा गरेका थिए । विवादरहित, शान्त र भव्य तरिकाले खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरेपछि पालिका प्रमुखहरूले अध्यक्ष सुर्मेलीको पनि प्रशंसा गरेका थिए ।
यस वर्ष उद्योग वाणिज्य संघले जिल्लाकै ठूलो पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना गरेको थियो । आयोजित खेलमा पुरुषतर्फ केदारस्यूँ गाउँपालिकाले र महिलातर्फको छबिसपाथीभेरा गाउँपालिकाले जितेका छन् ।
उद्योग वाणिज्य संघ बझाङको आयोजनामा असोज ३० गतेदेखि सुरु भएको प्रतियोगिताको शनिबार फाइनल खेलमा पुरुषतर्फ केदारस्यूँले छबिसपाथीभेरालाई पराजित गर्यो । सुरुवाती २–२ सेट जितेका दुवै टिमबीच पाँचौं सेटमा कडा प्रतिस्पर्धा भएको थियो । अन्तिम सेट केदारस्यूँले १७–१५ ले जित्दै उपाधि उचालेको हो । विजेता टिमले १ लाख ३१ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता छबिसपाथीभेराले ७५ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । पुरुषतर्फ तृतीय भएको मष्टा गाउँपालिकाले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । केदारस्यूँका सुरेश मल्ल उत्कृष्ट खेलाडी घोषित भए ।
महिलातर्फ छबिस गाउँपालिकाले मष्टा गाउँपालिकालाई हराउँदै पहिलो भएको हो । २–२ सेट जितेका दुवै टिमले पाँचौं सेटमा प्रतिस्पर्धा हुँदा मष्टालाई १५—१३ सेटमा पराजित गर्दै छबिसपाथीेभेरा विजयी भयो । महिलातर्फ प्रियंका भण्डारी उत्कृष्ट खेलाडी घोषित भइन् । महिलातर्फ प्रथम पुरस्कार ५१ हजार १ सय ११ र दोस्रो पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।