इजरायलमा अस्ताए बझाङका ‘कमरेड युगीन’

शनिवार बिहानसम्म दक्षिणी इजरायल शान्त थियो । हमासले आक्रमण गर्छ भन्ने इजरायललाई थाहा–पत्तो थिएन । बिहान ४ बजेतिर गाजापट्टीबाट केही मानिस सीमातिर आउँदै थिए । साथमा केही डोजर पनि थिए ।

गाजापट्टी र किबुज सीमावर्ती क्षेत्र हुन् । किबुजका किसान र गजापट्टीका किसानको दैनिकी छेउछाउकै फार्ममा काम गरेर बित्थ्यो । गाजापट्टीतिरको समूह र डोजरलाई बोर्डरमा रहेको इजरायली सुरक्षा बलले अरु बेला जस्तै सामान्य ठान्यो ।

तर एक छिनमा त्यहाँ मोटरसाइकलमा समेत गरी ठुलो समूह जम्मा भयो र बोर्डरमा रहेको सुरक्षा बलमाथि आक्रमण गरी अगाडि बढ्यो । यो इजरायलका लागि अभूतपूर्व थियो । किनकि यो सबै यति छिटो भयो कि कसैले केही सोच्नसमेत पाएनन् । त्यसैले इजरायली मिडियाले यो आक्रमणलाई आश्चर्यजनक भनेका छन् ।

किबुज क्षेत्रमा रहेको एक कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे । नेपालबाट गएका कृषि प्रशिक्षार्थीलाई एकै ठाउँमा राख्ने गरिएको छ । सीमा नाघेर हमास आक्रमणकारी बन्दुक र बमसहित किबुज क्षेत्रमा पसे ।

गाजाबाट आक्रमण भएलगत्तै इजरायलको अलर्ट साइरन (खतराको सङ्केत गर्ने बाजा) बज्यो । यही बेला किबुजका १७ नेपाली विद्यार्थी एक बंकरभित्र छिरे । उनीहरू सबै एउटै बंकरमा थिए । यो बंकर जमिनमुनिको नभएर एक घरको कोठामा थियो । सामान्यतया घरको बंकर पनि निकै सुरक्षित हुन्छ, किनकि कोठाको सम्पूर्ण संरचना फलामले बनेको हुन्छ ।

यहाँसम्म ठीकठाकै थियो । बाहिर हमास लडाकु ग्रिनेट र बन्दुक लिएर घुमिरहेका थिए । ‘यही बेला साथीहरूले बंकरभित्र म्युजिक बजाए । आवाज ठूलै भएकाले बाहिर सुनियो होला । एक छिनमा बाहिरबाट एउटा ग्रिनेट आयो तर एउटा साथीले त्यो टिपेर उतै फालिदियो । फेरि अर्को ग्रिनेट आयो, त्योचाहिँ पड्केको हो’, सो घटनामा घाइते भएका धनबहादुर चौधरीले भने । उनी अहिले उपचाररत छन् ।

त्यसपछि माहौल एकाएक भयभीत बनेको चौधरीले बताए । खासमा १० नेपाली विद्यार्थीको मृत्यु हिजै भएको उनको भनाइ छ । तर, आज मात्र तेलअभिवस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

मृतकको सूचिमा परेका मध्ये एक हुन् बझाङका गणेश नेपाली । गएको भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल पुगेका उनी सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायका आठौँ सेमेस्टरका विद्यार्थी हुन् । गणेश अखिल क्रान्तिकारी विश्वविद्यालय राष्ट्रिय समिति सुदूरपश्चिम प्रदेशको सचिव पनि हुन् । उनले आफ्नो फेसबुक प्रोफाइमा कमरेड युगीन भनेर परिचित गराएका छन् ।

भोपुरस्थित गणेशको परिवार अहिले भावह्विल छ । परिवारमा कान्छा छोरा रहेका उनी पढाइमा तीक्ष्ण थिए । उनले विद्यालय तहको शिक्षा बझाङकै सत्यवादीमा अध्ययन गरेका थिए । आइएसी चितवनको रामपुर क्याम्पसबाट पुरा गरेका नेपाली थप अध्ययनका लागी उनि सुदूरपश्चिम विश्वविद्यालयको आगिंक क्याम्पस टिकापुरमा भर्ना भएका थिए ।

आमाको साथमा नेपाली

क्याम्पसबाटै विद्यार्थी राजनीति सुरुवात गरेका गणेश अखिल क्रान्तिकारीको कार्यकारी भूमिकामा थिए । चितवनको रामपुर क्याम्पस स्ववियू उपसभापति चेतराज जोशीले सम्झिँदै भने, ‘उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सङ्गठनको निर्माणका बारेमा बारम्बार कुरा भइराख्थ्यो । छलफल गरौँ भनेर निरन्तर सम्पर्क गरिरहन्थे । तर, हिजो एक्कासि यो घटनाले हामीलार्ई मर्माहत बनाएको छ । सङ्गठनको एक योद्धा गुमाउँदा ठुलो क्षति भएको महसुस गरेका छौँ ।’

सञ्चारकर्मी शीतल स्नेहीले उनको सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै गणेशलाई सम्झिएकी छन् । उनले लेखेकी छन्, ‘हाम्रो देशमा कृषिमा केही गर्नु पर्छ दिदी भन्ने चुलबुले प्यारो भाइ हामीलाई छाडेर गएछ । निकै नै उच्च कार्य क्षमता भएको गणेश भाइ पनि आज बेरोजगारीको बलि भएको छ । ती आमाका मलिन अनुहार छोडेर कसरी विदेशको बाटो रोज्यौ भाइ। तिमीलाई कहिले बिर्सन सक्दिनँ भाइ ।’

गणेशको घरमा आमाबुबा, दाइ भाउजू, दिदी र भतिजाहरू छन् । उनी परिवारका कान्छा छोरा थिए ।

Loading...