पेट्रोलियम पदार्थ तस्करसँग बझाङ सिडिओको ‘माया-प्रेम’, इजाजत प्राप्तसँग ‘टक्कर’ 

पेट्रोलियम पदार्थको कारोबारका लागि आयल निगमबाट अनुमति लिनुपर्ने हुन्छ । बझाङमा भने पेट्रोलियम पदार्थको खुलेआम विक्रिवितरण हुँदै आएको छ । जिल्लाभर सयौँ व्यापारीले अत्यन्त प्रज्वलनशील पदार्थको खुला व्यापार गर्दै जोखिमलाई चुनौती दिइरहेका छन् । साथै आम नागरिकको ढाड सेक्ने गरी तोकिएको भन्दा बढी शुल्क असुल्ने गरेका छन् । यसरी खुला रूपमा पेट्रोलियम पदार्थ विक्रिवितरण गर्नमा सर्वसाधारण मात्रै छैनन् । जनप्रतिनिधि, शिक्षक, राजनीतिक दलका नेता तथा ठुला व्यापारी समेत छन् ।

जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले अवैध व्यापारीहरूप्रति ‘मौन नीति’ अपनाउँदा उनीहरूको कालो धन्दा अझै फस्टाउँदै गएको छ । जिल्ला प्रशासन कार्यालयकै गेट अगाडि बोतलमा पेट्रोल भरेर अवैध व्यापारी बसेका हुन्छन् । जिल्लाको सुशासनको जिम्मा बोकेका प्रजिअ पाण्डेयलाई अवैध व्यापारीले ढोकै अगाडि खुच्चिङ गरेको दृश्य लज्जास्पद छ । ‘अवैध व्यापारी बोतलमा पानी बेचेझैँ महँगो शुल्कमा पेट्रोल बेच्छन् । सिडिओ साप त्यो दृश्य लाजै पचाएर हेरेर बस्छन् । तस्करसँग उहाँको अचम्मको माया प्रेम देखिन्छ’ एक स्थानीयले नेपाल एङ्गलसँग भने ।

नेपाल आयल निगमबाट इजाजत लिएर पेट्रोलियम पदार्थ कारोबार गर्ने व्यवसायीसँग भने प्रजिअ पाण्डेय ‘निकै कडा’ प्रस्तुत हुने गरेका छन् । बुधवार बुङ्गल नगरपालिका भ्रमणमा निस्किएका प्रजिअ पाण्डेय बागथलामा रहेको नवदेव आयल स्टोरमा छिरे । नवदेव आयल स्टोर बागथलामा इजाजत प्राप्त कम्पनी हो । प्रजिअ पाण्डेयले त्यहाँ अनुगमन कै शैलीमा सोधखोज गरे । त्यहाँ उपस्थित एक कर्मचारीलाई मूल्य सूचि टाँसेको खै भन्दै हप्काए । ती कर्मचारीले भने, ‘सिडिओ साबले झपारेर जानु भयो । हामीले आयल निगमबाट अनुमति लिएर तोकिएकै शुल्कमा बेच्छौँ । बागथलामै थुप्रै अवैध व्यापारी छन् उनीहरूलाई मूल्य बढाए पनि छुट छ ।’

बझाङ सदरमुकाम चैनपुरमा पारस आयल स्टोरले पेट्रोलियम पदार्थ विक्रिवितरणका लागि इजाजत प्राप्त गरेको छ । नेपाल आयल निगम प्रदेश कार्यालय धनगढीबाट पारस आयलले हालै प्याक्ड वितरणका लागि अनुमति लिएको छ । जिल्लाभरका यातायातका साधनलाई प्रयाप्त मात्रामा पेट्रोलियम पदार्थ पुर्‍याउन सक्ने सञ्चालक चक्र बोहरा बताउँछन् । आयल निगमले तोकेको शुल्कमै पेट्रोलियम पदार्थ उपलब्ध गराउन आफू तयार रहेको बोहराको दाबी छ । ‘लाखौँ रकम धरौटी राखेर, कर तिरेर सदरमुकाममा हामीले इजाजत लिएका छौँ । तर अवैध व्यापारीले गल्ली गल्लीमा बोतलमा पेट्रोल बेच्छन् । उनीहरूले न त कर तिर्छन्, न अनुमति छ । तैपनि जिल्ला प्रशासन कार्यालयको अनौठो मौनता छ’ बोहराले भने ।

सदरमुकामकै अवैध पेट्रोलियम पदार्थका व्यापारीसँग प्रश्न गर्ने आट नगरेका प्रजिअ पाण्डेयेले इजाजत प्राप्त व्यापारीहरूका हकमा भने ‘कठोर नीति’ अख्तियार गरेको देखिन्छ । नेपाल एङ्गलसँगको संवादमा ‘उनीहरूको इजाजत वैध हो कि होइन त्यसमा पनि शङ्का छ’ प्रजिअ पाण्डेयेले भने, ‘एक दुई जना व्यक्ति हामीले आयल निगमबाट अनुमति लिएर आएका छौँ भनेर आएका थिए । तर, उहाँहरूको अनुमति वैधानिक हो कि होइन त्यो पनि स्पष्ट छैन ।’

नेपाल आयल निगमले अनुमति पत्र दिएको भन्दैमा आफूले त्यसलाई विश्वास नगर्ने प्रजिअ पाण्डेयको जोड छ । ‘आयल निगमले उहाँहरूलाई सहजीकरण गर्नका लागी जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएपछि मात्रै हामीले काम गर्ने हो । उहाँहरूलाई पत्र लिएर आउन भनेको छु’ प्रजिअ पाण्डेयले भने ।

पेट्रोलियम पदार्थका अवैध व्यापारीलाई नियन्त्रण किन गर्नु भएन भन्ने प्रश्नमा प्रजिअ पाण्डेय भन्छन्, ‘अहिलेसम्म सबैले यस्तै व्यापारीबाट पेट्रोलियम पदार्थ उपभोग गर्दै आएका छन् । यहाँ नत्र पेट्रोल पाउनै गाह्रो छ । समाचार लेख्ने पत्रकार साथीहरूले पनि त्यहीबाट पेट्रोल भर्छन् ।’
सदरमुकाममै छ्यापछ्याप्ती अवैध पेट्रोल
सदरमुकाममै ठुला व्यापारी कहलिएका व्यक्ति हुन् जगत मल्ल । उनको सदरमुकाम चैनपुरमा मल्ल स्टोर नामको होलसेल व्यापार छ । मल्लको गोदाममा पेट्रोलियम पदार्थले भरिएका ठुला ठुला ड्रम छन् । धनगढीबाट ड्रममा भरेर पेट्रोलियम पदार्थ ल्याउने गरेको मल्ल बताउँछन् ।

बझाङका व्यापारिक केन्द्रहरूमा यसरी नै अवैध रूपमा पेट्रोलियम पदार्थको कारोबार हुने गरेको छ । व्यापारीहरूले धनगढी तथा डडेलधुराबाट ड्रममा पेट्रोलियम पदार्थ ओसारेर जिल्लामा बिक्री गर्ने गरेका छन् । अहिले झन्डै ५ दर्जन भन्दा बढी व्यापारीहरूले अवैध रूपमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेका छन् ।

भगवती ग्रील उद्योगका सञ्चालक लक्ष्मण जोशीले पनि खुलेआम पेट्रोलियम पदार्थ बेच्छन् । सरकारी निकायले नै पेट्रोलियम पदार्थको माग गर्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘धेरैले माग गर्छन्, हामी धनगढीबाट ड्रममा ल्याउँछौँ, अरूको जस्तो बोतलमा बिक्री गर्दैनौँ । जिल्लामा पेट्रोल पम्प नहुँदा सप्लायर्सबाट बेच्ने गरेका छौँ ।’

सदरमुकाम चैनपुरमै एक दर्जन बढीले बिक्री वितरण गरिरहेका छन् । चैनपुरमा भगवती ग्रील उद्योग, मल्ल स्टोर, सङ्गीता फेन्सी स्टोर, शैलेश्वरी फेन्सी स्टोर, हमाल ट्रेडर्स एन्ड सप्लायर्स, पुवंर हार्डवेयर एन्ड सप्लायर्सले खुलेआम बिक्री वितरण गर्छन् ।
यस्तै जिल्लाका सुवेडा, तमैल, भाँडे बजार, मौरी बगर, झनाना, झोता, देउरा, बाग थला, देउलेख, बित्थड लगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण गरिरहेका छन् ।
पेट्रोलियम पदार्थको शुल्क बढी हुँदा भाडा वृद्धि
अवैध कारोबारीले तोकिएको शुल्कभन्दा बढी असुलेर बिक्री वितरण गरिरहेका छन् । हाल डिजेलको मूल्य प्रतिलिटर १८० रुपैयाँ छ । बझाङमा भने २०० रुपैयाँ प्रतिलिटर असुली गरिन्छ । अवैध कारोबार गरिरहेका व्यापारीबाट सरकारी कार्यालयहरूले उपभोग गरिरहेका छन् । पेट्रोलियम पदार्थको मंहगोमा किन्न परेपछि यातायात व्यवसायीले गाडी भाडासमेत बढाउने गरेका छन् ।

अवैध पेट्रोलियम पदार्थको बिक्री वितरण र नियमन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुन्छ । पेट्रोलियम पदार्थसम्बन्धी कानुन नबनेको हुनाले अन्य बजार अनुगमनसरह प्रमुख जिल्ला अधिकारीले नियमन गर्छन् । साथै स्थानीय तहले पनि यसमा नियमन गर्न सक्छन् । यद्यपि बझाङमा भने प्रशासनको नजर पुग्न सकेको छैन । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई सरोकारवालाले बारम्बार अवैध पेट्रोलको बारेमा गुनासो गरिरहेका छन् ।

बजार अनुगमन गर्ने, नियमन गर्ने तालुक निकाय घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घको पनि हो । तर ती निकायबाट कुनै अनुगमन र नियमन भएको छैन । साथै सदरमुकामै रहेको जय पृथ्वी नगरपालिकाले पनि पेट्रोलियम पदार्थको खुल्ला कारोबारबारे नजरअन्दाज गरेको छ ।
Loading...