करार सूचिको चर्चापछि भट्टराईले भने: फलेकै वृक्षमा हो झटारो हान्ने

शिक्षक सेवा आयोगका तयारी परीक्षा सञ्चालन गर्ने संस्था हो यूनियन एजुकेसन । सञ्चालनको एक वर्षमै निकै लोकप्रियता पाएको यूनियनका सञ्चालक र प्रशिक्षक हुन् रमेशबाबु भट्टराई । यूनियनले थोरै समयमा राम्रो लोकप्रियता कमाउनुमा सञ्चालक रमेशबाबु भट्टराईको मुख्य भुमिका देखिन्छ ।

यद्यपि पदमराज आचार्य, कुमार तिमिल्सिना, मित्र प्रसाद घिमिरे, सोमराज काफ्ले, गोपीचन्द्र पौडेल लगायतका उत्कृष्ट प्रशिक्षकहरूले कक्षा लिने भएकाले पनि युनियन एजुकेसन लोकप्रिय बन्दै गएको छ ।

सञ्चालक रमेशबाबु भट्टराई सामाजिक सञ्जालमा चर्चा पाउने थोरै शिक्षक वा शिक्षक नेता मध्ये एक हुन् । स्थायी शिक्षकको हकहितका मुद्दा लिएर सर्वोच्चमा रिट दायर गरेर उनी सुरुवातमा लोकप्रिय बनेका थिए । शिक्षकको उक्त मुद्दा सर्वोच्चमा अझै चलिरहेको छ ।

तनहुँको रत्न मावि म्याग्देका प्रधानाध्यापक रहेका भट्टराईले आर्थिक रूपमा विपन्नलाई आर्थिक सहयोग गर्दै आएका छन् । निम्न माध्यमिक तह अंग्रेजी विषयको स्थायी शिक्षक भट्टराईले आफूले पाउने एक वर्षको तलबभन्दा बढी विपन्न बालबालिका तथा व्यक्तिलाई सहयोग गरिसकेका छन् ।

सामाजिक सञ्जालमा अहिले भट्टराईको बारेमा केही आलोचना भइरहेका छन् । शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक करार सूचि सार्वजनिक गरेपछि भट्टराईको नाम पनि सूचिमा देखिएको थियो । आयोगको गण्डकी प्रदेशबाट भट्टराई बैकल्पिक सूचिमा परेका छन् । सो विषयलाई लिएर केही व्यक्तिहरूले ‘प्रशिक्षक नै करार सूचिमा?’ भन्ने खालका पोस्टहरू सामाजिक सञ्जालमा गरेको भेटिन्छ । उक्त प्रश्नकै बारेमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा मत बाँडिएको देखिन्छ । कतिपय प्रशिक्षक नै करार सूचिमा हुनु भनेको आपत्ति जनक हो भन्ने तर्क दिएका छन् भने कतिपयले प्रशिक्षक आफै सबै विषयको ज्ञाता हुन नसक्ने भन्दै खण्डन गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा श्याम श्रेष्ठले लेखेका छन्, ‘जताततै रमेशबाबु भट्टराईको कुरा मात्रै छ । कति नकारात्मक सोच होला हाम्रोरु शिक्षण भनेको कला हो रमेशबाबु भट्टराईसँग शिक्षण गर्ने कला छ, शैली छ, सीप छ, वहाँले शिक्षण गर्नुहुन्छ के भो त?’ उनले थपेका छन्, ‘अर्को कुरा शिक्षण गर्नु भनेको बाटो देखाउने काम मात्र हो सिक्ने आफूले हो, सिकाई आफूले गर्ने हो । र, अनि कुनै शिक्षकले पढाएका विद्यार्थी डाक्टर , इन्जिनियर , पाइलट भयो भन्दैमा शिक्षक किन हुन सकेन भन्ने पनि हुन्छ र?  अलि सकारात्मक सोच राखौँ न साथीहरू ।’

लक्ष्मण विश्वकर्माले नाम निकाल्दैमा विज्ञ हो वा हुनुपर्छ भन्ने सोचाइ एकदम गलत हो भन्दै आफ्नो तर्क दिएका छन् । ‘नाम निकाल्नेभन्दा ननिकाल्ने पनि पढाउन र पढ्न अब्बल हुन सक्छन् । सीमित समय भित्रको परीक्षाको सफलता वा असफलतालाई दाँजेर कसैको क्षमतामा प्रश्न चिह्न खडा गर्नु गलत हो ।’

यस विषयमा के भएको थियो भनेर रमेशबाबु भट्टराईसँग हामीले प्रश्न गरेका छौँ । सामाजिक सञ्जालमा आएका टिका टिप्पणीप्रति आफू सकारात्मक रहेको उनले बताए । क्षणिक भावावेगमा आएर केही साथीहरूले त्यो खालको टिप्पणी गरेको देखियो उनले भने, सर्वप्रथम त म कुनै एउटा विषयको प्रशिक्षक हो भन्ने कुरा उहाँहरूलाई अवगत गराउन चाहन्छु । मैले हाम्रो संस्थाबाट शिक्षा, शिक्षा मनोविज्ञान, बाल विकास, शैक्षणिक विधि तथा पद्धतिको बारेमा कक्षा दिने गर्दछु । आयोगको पाठ्यक्रम अनुसार परिक्षार्थीहरुको तयारीका लागि सामान्य ज्ञान तथा आइक्युका लागि यूनियनले छुट्टै विषय विज्ञको व्यवस्था गरेको छ । पदमराज आचार्य, कुमार तिमिल्सिना, मित्र प्रसाद घिमिरे, सोमराज काफ्ले जस्ता प्रतिष्ठित प्रशिक्षकहरूले युनियनमा कक्षा दिन्छन् भन्ने कुरालाई गौण बनाउन खोजिएको छ । र यूनियनमा म मात्रै प्रशिक्षक हो भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ यो गलत छ ।

अहिले आएको करार सूचिको कुरामा थुप्रै साथीहरूले यसलाई सकारात्मक लिइदिनु भएको छ । उहाँहरूलाई म धन्यवाद भन्न चाहन्छु । साथै, म अहिलेको करार सूचिमा मात्रै होइन । यस अघि माध्यमिक तहको दुई वटा परीक्षामा अन्तरवार्ता दिएर वैकल्पिकमा परेको उम्मेदवार हुँ । आयोगको गण्डकी प्रदेश माध्यमिक तह २०७२ वैकल्पिक सूचिमा परेको थिएँ । यद्यपि म सोही वर्ष नै निम्न माध्यमिक तहमा नियुक्त भए । पुनः २०७६ सालको माध्यमिक तह परीक्षामा गण्डकी प्रदेशबाटै वैकल्पिक सूचिमा परेँ ।

यस पटक अरू परीक्षार्थी साथीहरूलाई उत्प्रेरणा दिन परीक्षामा सहभागी भएको थिएँ । हामीले शिक्षक सेवा आयोगका कक्षाहरू सञ्चालन गरिरहेका थियौँ । परीक्षाको समयमा दैनिक १२ घण्टासम्म कक्षा सहजिकरणमा व्यस्त थिए । पाठ्यक्रम नै हेरेर तयारी गरेको होइन । म लगातार वैकल्पिक तथा करार सूचिमा परिरहेको उम्मेदवार हुँ तैपनि हरेस खाएको छैन । अन्य साथीहरूलाई पनि निरन्तर तयारी गर्न र हरेस नखान प्रेरित गर्न चाहन्छु ।

यूनियनबाट सहजिकरण गर्ने विषयवस्तुमा आवश्यक योग्यता र अनुभव भएको व्यक्ति हुँ । मैले त्रिभुवन विश्वविद्यालयबाट एमए गरेको छु । साथै, पृथ्वी नारायण क्याम्पस पोखराबाट अंग्रेजी विषयमा प्रथम श्रेणीमा एमएड गरेको छु । अहिले खुला खुला विश्वविद्यालयबाट एमफिल गर्दै छु ।

 

Loading...