बझाङको केदारस्युँ गाउँपालिका–९ झोताका प्रीन्सराज अवस्थिले आफ्नो निजी क्षेत्रको लगानीमा अर्गानीक तरकारी उत्पादन गरेका छन् । उत्पादन गरेको तरकारी बिक्री नहुँदा उनलाई चिन्ता परेको छ ।
सुदूरपश्चिम प्रदेशकै निज क्षेत्रको ठुलो कृषि फर्म अवस्थी एग्रीकल्चर एण्ड लाइभ स्टकले झोतामा लगाएको करिब २ सय क्विन्टल काउली, ७० क्विन्टल बन्दा, ६० क्विन्टल बराबरको मुला लगायतको तरकारी बिक्री नहुँदा खेतमै कुहिन थालेको सञ्चालक अवस्थीले बताएका छन् । कृर्षी क्षत्रेमा अटल मीहेनेत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा निकै दुख लागेको उनी बताउँछन् ।
स्थानीय सरकारले बजारीकरण, स्थानीय व्यापारीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्याे भने सहज हुने अवस्थीले बताएका छन् । उत्पादन गरेको तरकारी १५ रुपैयाँ केजी काउली, १० रुपैयाँ केजी बन्दा, १२ रुपैयाँ केजी मुलाको फुटकर दरमा धनगढी पठाउने तयारी भइरहेको छ । जिल्लाभर उत्पादन भएको अर्गानीक तरकारीले बजार नपाउँदा कतिपय खेतमै कुहिने गरेको छ भने कतिपय सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् ।
शनिवार सामाजिक सञ्जाल फेसबुकमा बझाङमा तरकारीले मूल्य नपाएको बारे प्रमुख बिस्टले लेखेका थिए । स्थानीय स्तरमा उत्पादन भएको तरकारीले बजार नपाउँदा कृर्षी ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले दुख व्यक्त गरेका छन् । उत्पादित कृर्षी उपजलाई बजारसम्म पुर्याउन स्थानीय सरकारले कृषकलाई अनुदान दिनुपर्ने विष्टले बताएका छन् ।