बझाङमा आलु क्रान्ति गर्दै टेकबहादुर विष्ट

बझाङको कृषि ज्ञान केन्द्रका प्रमुख हुन् टेकबहादुर विष्ट । उनले बझाङको कृषि प्रणालीमा खोज अनुसन्धान र नयाँ प्रयोग गर्दै उत्पादकत्व वृद्धि गरिरहेका छन् । पूर्ण रूपमा खाद्यान्न तथा तरकारी आयात गरिरहेको बझाङले विष्टको कार्यकालमा आलु, बन्दा, काउली लगायतका तरकारी भित्र्याउन बन्द गर्याे । चैनपुर आसपास, झोता, सुर्मा, छविसपाथिभेरा, वित्थड लगायतका क्षेत्रका किसानसँगको सहकार्यमा आयातमुखी तरकारीलाई विस्थापन गरिएको हो । साथै, बझाङले अहिले अन्य जिल्लामा तरकारी निर्यात गर्न समेत सुरुआत भएको छ ।

आयातमुखी बझाङ निर्यात गर्नसम्म पुग्नु कृषि क्रान्ति नै हो । प्रमुख विष्ट भन्छन्, ‘अहिले बझाङका बजारमा छ्यापछ्याप्ती रातो आलु देख्न सक्नु हुन्छ त्यो आलु यतै उत्पादन भएको हो । बाहिरबाट आयात गरिएको होइन ।’

बझाङमा फलेको आलु बाह्य जिल्लामा निर्यात गर्दा विष्टले केही नमिठो स्वाद भेटे । कैलालीको धनगढीमा बझाङको आलु विक्री गर्न खोज्दा ग्राहकहरूले त्यति नजर लगाइदिएनन् । उनले अनुभव सुनाए, ‘यताको आलु र भारत लगायत अन्य ठाउँबाट आएको तुलना गर्दा हाम्रो आलुमा दाग दागी देखिए । हेर्दा सफा नदेखिएपछि ग्राहकको मन जित्न सकिएन । यसको अन्तर्यमा पुग्दा बझाङमा रोपिने आलुको बिउँ सयौँ वर्ष पुरानो रहेको भेटियो । जसले गर्दा आलुको जातीय गुण ह्रास भएको छ ।’

यस पटक भने विष्ट बझाङका गाउँबस्तिमा सुधारिएको आलुको बिउँ प्रयोग गर्ने ध्याउन्नमा छन् । जसका लागि उनले बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन र राष्ट्रिय आलु खुमलटारको सहज करणमा जगदम्बा कोल्ड स्टोर काभ्रेबाट विभिन्न जातका ३० कुण्टल श्रोत बीउ बझाङमा भित्र्याइ सकेका छन् । यो सुधारिएको आलुको बिउँ बझाङको माटोमा फस्टाउने उनको अपेक्षा छ ।

आलुको नयाँ पुस्ता

उनी भन्छन्, ‘विउँको सिद्धान्त अनुसार हरेक पाँच सात वर्षमा बिउँ परिवर्तन गर्नु पर्छ भन्छ । नेपालमा आलु भित्रिएको २०० वर्ष भनेको छ । जुन पुरै विस्थापन गर्न आवश्यक छ । हाम्रो बाजे बराजुको पालाको आलु नै अहिले बझाङमा घुमिरहेकाे छ । जातीय गुण ह्रास भएको छ । त्यसमा दाग दागी देखिने, जस्तो रुप रङ्ग हुन्थ्यो त्यस्तो नहुने । गुणस्तर नहुने हुन्छ । हामीले तराइमा बझाङको आलु लियौँ । आलुको भित्र दाग हुने, माटो हुने जस्तो देखियो । साबिकको भएको आलु रोगी, दागी भएकोले यसलाई सुधार गर्न आवश्यक छ । आयातमुखी तरकारी बजारलाई एक हदसम्म रोक्न सफल भएका छौँ । अब किसानहरूलाई यतातिर बिस्तारै तान्छौँ । यो एक किसिमको आलु क्रान्ति नै हो । ’

जिल्लामा भित्र्याएको आलुको बिउ

 

 

Loading...