आगामी चैत्र १५ देखि मुलुकभर माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसइई) सञ्चालन हुँदै छ । कुनै बेला शिक्षा आर्जनको आइरन गेट अर्थात् फलामे ढोका मानिने एसइई परीक्षाको आफ्नै महत्त्व छ । विद्यालय शिक्षाको कक्षा १० मा लिइने र उच्च शिक्षा अध्ययनका लागि मार्ग प्रशस्त गर्ने हुनाले एसइई परीक्षालाई महत्वकासाथ हेरिन्छ ।
एउटा विद्यार्थीलाई एसइई सम्म अध्ययन गराउन राज्यले लाखौँ लगानी गरेको हुन्छ । बाल कक्षा देखिनै निःशुल्क शिक्षा, निःशुल्क पाठ्य पुस्तक, कक्षा ५ सम्म निःशुल्क खाजा, विद्यालय भवन, छात्रवृत्ति लगायतमा राज्यले विद्यार्थीप्रति लगानी गरेको हुन्छ । परिणाम स्वरूप राज्यले एउटा विद्यार्थीबाट सुशिक्षित र दक्ष जनशक्ति निर्माणका लागि परिपक्व आधार खोजेको हुन्छ ।
राज्यले अपेक्षा गरेको शैक्षिक लक्ष्य प्राप्त गर्न शिक्षा प्रशासक, शिक्षक तथा आम अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ । देशको सर्वाङ्गीण विकास गर्ने शिक्षा प्रणाली नै सशक्त र गुणस्तरीय हुनु पर्दछ । एक शिक्षा प्रशासक, एक शिक्षक, एक अभिभावक आफ्नो शैक्षिक कर्तव्यमा इमानदार भए राज्यको लगानी र अपेक्षा खेर जाँदैन ।
तर, बझाङमा भने एसइईको मुलमर्म ज्ञात हुन नसकेको हो की ? भन्ने प्रश्न अझै जल्दो बल्दो छ । बझाङका हरेक परीक्षा केन्द्रहरूमा खुलेआम चिट चोर्ने र चोराउने खराब चलन संस्कार झैँ बनेको छ ।
विगतदेखिको यो खराब प्रवृत्तिले विद्यार्थी र शिक्षक दुवैले मिहिनेत गर्न छोडेका छन् । जसको प्रत्यक्ष असर राज्यको लगानी, अपेक्षा र विद्यार्थीको भविष्यमा परेको छ । देश विकासको बलियो खम्बामा जन्मजात नै खिया लागेको छ ।
जब एसइई सुरु हुन्छ, परीक्षा केन्द्र वरिपरि चिट चोराउन शिक्षक नै उपस्थित हुन्छन् । चिट ओसारपसार गर्न अभिभावकको ओइरो लाग्ने गर्दछ ।
आफन्तलाई चिट चोराउन लाग्ने भिड रोक्न सुरक्षाकर्मीलाई हम्मे हम्मे पर्ने गर्दछ । पछिल्लो समय परीक्षा सञ्चालन भएको केही बेरमै प्रश्न पत्र बाहिरिने गरेका छन् । बझाङका अधिकांश परीक्षा केन्द्रबाट परीक्षा सुरु भएको केही मिनेटमै प्यासेन्जर, भाइवर, ह्वाट्सएप जस्ता माध्यमबाट प्रश्न पत्र बाहिरिने गर्दछन् ।
मोबाइल तथा नेटको माध्यमबाट शिक्षक तथा अभिभावकले चिट चोराउने नयाँ तरिका अपनाइएको हुन्छ ।
परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डले मोबाइलबाट प्रश्न पत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहिरी रहेका शिक्षक तथा अभिभावकलाई म्यासेज पठाई प्रश्न पत्र आउट गर्ने गरिएको देखिन्छ । उक्त प्रश्न पत्रका आधारमा उत्तरसमेत तयार गरी पुन भाइबर वा म्यासेन्जरबाटै परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट पठाउने गरिएको पाइन्छ ।
नेपाल एङ्गलले एसइई परीक्षा सञ्चालनमा हुने यो विकराल विकृति विरुद्ध बहस छेड्ने तयारी गरेको छ । बझाङको शैक्षिक प्रणालीमा क्यान्सर झैँ बनेको यो विसंगतीविरुद्ध शल्यक्रिया गरिने छ । सरोकारवालाको ध्यान जबरजस्त तानिने छ । सुस्ताएका शैक्षिक प्रशासकलाई जगाइने छ । शिक्षकहरूलाई कुकर्ममा भन्दा कर्ममा केन्द्रित हुन प्रोत्साहन गरिने छ ।