देशभरका २८ स्थानीय तहले फागुन १ गते सार्वजनिक बिदा दिएका छन् । ती स्थानीय तहहरुले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिने निर्णय गरेका हुन् । २०५२ साल फागुन १ गते सशस्त्र युद्ध सुरु गरेको दिनलाई माओवादी केन्द्रले जनयुद्ध दिवसको रूपमा मनाउने गरेको छ ।
सर्वोच्च अदालतले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ का रूपमा राष्ट्रिय पर्व मनाउने र सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
अहिलेसम्म देशभरका २६ वटा पालिकाहरूले सार्वजनिक रूपमै जनयुद्ध दिवस मनाउने र उक्त दिन सार्वजनिक बिदाको घोषणा गरिसकेमा छन् । हुम्लाको सिमकोट गाउँपालिका, ताँजाकोट गाउँपालिका, कालीकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका रहेका छन् ।
त्यस्तै जाजरकोटको नलगाड नगरपालिका, डोल्पाको मुड्केचुल्ला गाउँपालिका, रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र सल्यानको कुमाख गाउँपालिकाले फागुन १ गते बिदा दिने घोषणा गरेका छन् ।
यी स्थानीय तहले विज्ञप्ति जारी गर्दै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सरकारी तथा गैरसरकारी कार्यालय तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिएको जानकारी गराएका छन् ।
उनीहरूले उक्त दिन सशस्त्र जनयुद्ध सुरु भएको दिन २०५२ फागुन १ गतेको स्मरण गर्दै सार्वजनिक बिदा दिएका हुन् । कालिकोटको पचालझरनाले गणतन्त्र स्थापनाको लागि ०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धको स्मरण र सम्मानका लागि बिदा दिने निर्णय भएको उल्लेख गरेको छ । ‘उक्त दिन पचालझरना अन्तरगत सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरूमा १ दिन सार्वजनिक बिदा दिने’, सूचनामा भनिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रको आधारको रूपमा रहेको जनयुद्ध थालनी भएको दिनको सम्झनामा सार्वजनिक बिदा दिइएको डोल्पाको मुड्केचुला गाउँपालिकाले जनाएको छ । माघ १३ गते बसेको २८ औँ गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ । नलगाड नगरपालिकाले माघ २७ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार बिदा दिइएको बताएको छ ।
जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने स्थानीयतहरु
१) सुनिल स्मृति गाउँपालिका– रोल्पा
२) रोल्पा नगरपालिका– रोल्पा
३) माडी गाउँपालिका अध्यक्ष– रोल्पा
४) सुनछहरी गाउँपालिका– रोल्पा
५) थबाङ गाउँपालिका– रोल्पा
६) लुङ्ग्री गाउँपालिका – रोल्पा
७) अजिरकोट गाउँपालि– गोरखा
८) भीमसेन थापा गाउँपालिका – गोरखा
९) गण्डकी गाउँपालिका– गोरखा
१०) बारपाक गाउँपालिका–गोरखा
११) मोहन्याल गाउँपालिका–कैलाली
१२) चौंरी देउराली गाउँपालिका– काभ्रे
१३) आठविस्कोट नगरपालिका– रुकुम पश्चिम
१४) बाँफिकोट गाउँपालिका– रुकुम पश्चिम
१५) सिमकोट गाउँपालिका–हुम्ला
१६) ताँजाकोट गाउँपालिका–हुम्ला
१७) पलाता गाउँपालिका–कालिकोट
१८) महाबै गाउँपालिका–कालिकोट
१९) पचाल झरना गाउँपालिका–कालिकोट
२०) रास्कोट नगरपालिका–कालिकोट
२१) नलगाड नगरपालिका–जाजरकोट
२२) मुड्केचुल्ला गाउँपालिका–डोल्पा
२३) कुमाख गाउँपालिका–सल्यान
२४) आँबुखैरेनी गाउँपालिका–तनहुँ
२५) मिक्लाजुङ गाउँपालिका–पाँचथर
२६) ताराखोला गाउँपालिका–बाग्लुङ
२७) खाँडाचक्र नगरपालिका –कालिकाेट
२८) सुलिकोट गाउँपालिका–गाेरखा