विव्यस अध्यक्षका लागि ६१ जनाको उम्मेदवारी, श्रीमान्–श्रीमती समेत उम्मेदवार !

बझाङको एउटा सामुदायिक विद्यालय अहिले चरम अस्थिरता विवाद र द्वन्द्वमा फसेको छ । स्थानीयको राजनीतिक खिचातानी, स्वार्थ समूहको चलखेल र नियामक निकायको लाचारपनाले सो विद्यालय अस्थिरताको दलदलमा भासिन पुगेको छ । जिल्लाको वित्थडचिर गाउँपालिकामा रहेको सुनकुडा नमुना माध्यमिक विद्यालय अहिले चरम सङ्कटबिच गुज्रिरहेको छ ।

कुनै समय जिल्लाको एक मात्रै नमुना विद्यालयको रूपमा दर्ज भएको विद्यालय अहिले डामाडोल छ । न शैक्षिक गुणस्तर नै कायम छ न त चुस्त प्रशासन नै । विगत एक वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यालय लथालिङ्ग बनेको छ । स्थानीयवासी तथा स्थानीय राजनीतिक दलका स्वार्थ समूहको कुतसित मनसायले यो दुर्दशा निम्त्याएको भन्न कठिन छैन । जसलाई पुष्टि गर्न फागुन १२ गतेको एउटा घटना मात्रै हेरे पुग्छ ।

गत वर्षको फागुन २१ गते तत्कालीन विव्यसको कार्यकाल समापन भएको थियो । तत्पश्चात् हालसम्म पनि विद्यालयमा विव्यस गठन हुन सकेको छैन ।
फागुन ७ गते अभिभावक भेलाले फागुन १२ गतेभित्र विव्यस गठन गरिसक्ने निर्णय गरेको थियो । जस अनुसार फागुन १२ गते अभिभावक भेला बोलाइयो । तर, स्वार्थ समूहका आ आफ्नै अडान कायम रहे । सहमतिमा विव्यस गठन हुने कुरै भएन । फलस्वरुप ९ सदस्यीय विव्यस गठन गर्नका लागि ६१ जना अभिभावकले नामावली दर्ता गराएका छन् । जसमध्ये अधिकांशको दाबी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नको लागि रहेको छ ।

विव्यस सदस्यका लागि उम्मेदवारी दर्ता गरेका ६१ जना । साथै श्रीमान र श्रीमती उम्मेदवार

विव्यस सदस्य बन्नका लागि भएको यो भन्दा लज्जास्पद खेल के हुन सक्छ? विद्यालयले प्रकाशित गरेको नामावलीमा एउटै घरका श्रीमान् श्रीमतीले पनि अध्यक्षको दाबी गरेर उम्मेदवारी दर्ता गराएका छन् । प्रकाशित सूचना अनुसार नरबहादुर ढाँट र पिर्मा देवी ढाँट श्रीमान्÷श्रीमती हुन् । उनीहरू दुवै जनाले विव्यस सदस्यका लागि नाम दर्ता गराएका छन् । विव्यस सदस्यहरूबाट अध्यक्ष छनोट गरिने भएको हुनाले दुवै जनाको दाबी विव्यस अध्यक्ष बन्ने रहेको जानकारहरू बताउँछन् ।

कहिले तालाबन्दी, कहिले तबल रोक्का, कहिले एउटै विद्यालयमा दुई प्रअ, कहिले अदालतमा उजुरी जस्ता घटनाबिच विद्यालय गुज्रिरहेको छ । स्थानीय निकाय, शिक्षा तथा खेलकुद शाखा, शिक्षा विकास तथा समन्वय इकाई यो विद्यालयको दुर्दशाबारे जानकार नभएका होइनन् । तर पनि नियामक निकायको लाचारीपनले विद्यालय चरम अस्थिरता, द्वन्द्व र विवादबिच गुज्रिरहेको छ ।

Loading...