कांग्रेसलाई अस्वभाविक धोका दिएर नयाँ गठबन्धन बनाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समर्थन घट्दै गएको छ ।
प्रचण्डको विरूद्व बलियो विपक्षी गठबन्धन बनेको छ । सत्तारूढ दलकै केही सांसदले विपक्षी गठबन्धनलाई समर्थन गरेर प्रचण्डलाई विश्वासको मत नदिने निष्कर्षमा पुगेका छन् ।
फागुन २१ मा नयाँ पाँच दलीय गठबन्धन बनाएका प्रचण्डले बुधबार अर्थात ३० फागुनमा विश्वासको मत लिँदैछन् । सोझो हिसाबमा हेर्दा एमालेका ७६, माओवादी ३२, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादी १० गरि १५१ सांसदबाट प्रचण्डले विश्वासको मत पाउनुपर्छ । तर सत्ता गठबन्धनकै कतिपय दलका सांसदले फ्लोर क्रस गर्ने तयारी गरेका छन् । कतिपय सांसदहरू मन्त्री नबनाएको असन्तुष्टि विश्वासको मतमा पोख्दैछन् भने कतिपयले प्रचण्डबाट पाएको धोकाको बदला लिँदैछन् । यस्तोमा विश्वासको मतको संख्या १३८ पुग्न नै मुस्किल हुने परिस्थिति बनेको नेताहरू बताउँछन् ।
अर्कोतिर विपक्षी गठबन्धन मजबुत बन्दै गएको छ । ८८ सिटको कांग्रेसले सोमबार आफ्ना सांसदहरूलाई प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । यसैगरी १४ सिटको राप्रपाले पनि विश्वासको मत नदिने निर्णय गरेको छ ।
जनमत ६, लोसपा ४, नागरिक उन्मुक्ति ४, जनमोर्चा १, नेमकिपा १, आम जनता पार्टी १ र स्वतन्त्र सांसद २ ले पनि विश्वासको मत नदिने निर्णय लिएका छन् । विपक्षीतिर खुलेका सांसदको संख्या ११७ पुगेको छ । सत्तारूढ दलबाट फ्लोर क्रस हुँदा प्रचण्डले विश्वासको मत नपाउने र संविधानको धारा ३ को सरकार बनाउनुपर्ने परिस्थिति निर्माण भइरहेको नेताहरूको भनाइ छ ।