चुनाव के हो? सरल भाषामा जित वा हार चुनाव हो । त्यसो भए, सधैँ जित हुन्छ त? पक्कै हुँदैन । कति पटकसम्म हार्दा जित हुन्छ होला त? यति पटक हार्दा जित हुन्छ भन्ने कुनै सैद्धान्तिक आधार छैन । सामान्यतया एउटा व्यक्ति कति पटकसम्म चुनाव हार्दा चाहिँ भिडिरहन्छ होला? एक पटक? दुई पटक? तीन पटक वा कति?
दुई वा तीन पटकसम्म चुनाव हार्दा पनि एउटै व्यक्ति फेरी चुनावी मैदानमा गएको यत्रतत्र देखिन्छ । तर बझाङका रामबहादुर जाग्री भने फरक पात्र हुन् । उनी विगत दुई दशकदेखि निरन्तर चुनावी मैदानमा छन् । २०६३ देखि हालसम्म उनी पाँच पटक चुनावी मैदानमा उम्मेदवार भएर होमिइसकेका छन् । बझाङको छविसपाथिभेरा गाउँपालिका वडानं ५ का रामबहादुर जाग्री आगामी वैशाखमा हुने प्रदेश सभा उपनिर्वाचन बझाङ (क) बाट उम्मेदवार छन् । उनी यो पटकसमेत गरेर पाँचौँ पटक उम्मेदवार बनेका हुन् । यस पटक उनी जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उम्मेदवार छन् । चुनाव जित्नकै लागि मात्र उठिन्छ त? वा, हार्नका लागि चुनाव किन उठ्ने?
पाँचौँ पटक चुनावी मैदानमा होमिएका जाग्रीलाई जित र हारको जोड घटाउ थाहा नभएको पनि होइन । उनी त्रिभुवन विश्वविद्यालयबाट गणित विषयका डिग्रीधारी हुन् । त्यसो भए उनी निरन्तर हार्ने चुनाव किन भिड्दै छन्? त्यो पनि बझाङमा न बलियो सङ्गठन, न धेरै कार्यकर्ता भएको पार्टीबाट ।
हामीले प्रश्न गर्याैं, ‘हार्ने चुनावमा उठी राख्न तपाईँलाई के कुराले प्रेरित गरिरहन्छ?’ जवाफमा जाग्रीले भने, ‘मेरो उम्मेदवारी हार वा जितका लागि मात्रै होइन । यो राजनीतिक चेतनाको उपज हो । मानिसलाई गाँस, बास, कपास जस्तै राजनीति पनि अपरिहार्य आवश्यकता हो मेरो बुझाइमा । मैले एउटा वर्गको प्रतिनिधित्व गरेर राजनीति गर्छु । बझाङको समाजमा तल्लो तहमा रहेको एउटा वर्ग छ त्यो वर्गको प्रतिनिधित्व गर्दै म सधैँ चुनावी मैदानमा होमिन्छु । मेरो सरोकार हार वा जितसँग मात्रै छैन बझाङको इतिहासमा हेर्ने हो भने ठकुरी वा बाहुन बाहेकले राजनीतिक नेतृत्व गरेको देखिँदैन ।’
उनले अगाडि थपे, ‘तसर्थ, यहाँको खस समुदायले पनि राजनीतिमा सहभागी हुनु पर्छ भन्ने सन्देश जाओस् भन्न मेरो उम्मेदवारी रहने गर्छ । म आफै बझाङको पृथक् ज्याबनी समुदायको मान्छे हो । तर, एउटा राजनीतिकर्मी भएको हुनाले हामीले समग्रमा विपन्नताको आधारमा राजनीति गर्नु पर्ने हुन्छ । मेरो अनुभवमा तुलनात्मक रूपमा बझाङको राजनीतिक चेतना परिवर्तन भएको छ । अहिले नागरिकहरूले सक्षम व्यक्तिलाई मत दिने कुराको सुरुवात भएको छ ।’
जाग्री सख समावेशी राष्ट्रिय पार्टीबाट संविधान सभा निर्वाचन २०६३ उम्मेदवार बनेका थिए । सयको हाराहारीमा मत पाए । त्यसपछि संघिय समाजवादी फोरम नेपाल संविधान सभा निर्वाचन २०७० मा पनि उनी उम्मेदवार भए । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा उनी संघिय समाजवादी पार्टीको तर्फबाट उनी चुनाव उठे । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ फेरी जनता समाजवादी पार्टीको तर्फबाट उनी उम्मेदवार बने । अहिले जाग्रीले प्रदेश सभा उपनिर्वाचन बझाङ (क) मा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनी प्रत्येक आवधिक निर्वाचनमा बझाङ पुग्छन् । कर्मथलो काठमाडौँ बनाएर जाग्री भुईंमान्छेको जीवन बेतित गरिरहेका छन् । उनी अन्य समयमा निजी संस्थामा शिक्षण गर्छन् । चुनाव घोषणा हुनेवित्तिकै गृह जिल्ला फर्किन्छन् । उम्मेदवारी दिन्छन् । कहिले एक्लै, कहिले साथीभाइलाई लिएर चुनाव प्रचार प्रसार गर्न गाउँ गाउँ पुग्छन् ।
कहाँबाट जुटाउँछन् खर्च?
एक आवधिक चुनावको लागि जाग्रीले करिब ३ लाख खर्च हुने बताउँछन् । उनको प्रचारप्रसारको शैली फरक छ । उनले खाना, बस्न र यातायातमा बाहेक अन्य खर्च गर्दैनन् । मादक पदार्थको अम्मल छैन उनमा । आफै मापसे नगर्ने भएपछि मतदाता वा कार्यकर्तालाई खुवाउनुपर्छ भन्ने बाध्यता पनि छैन । केही खर्च प्रचारप्रसार सामाग्री छाप्नेकामको लागि हुन्छ । त्यो खर्चको स्रोत आफ्नै व्यक्तिगत कमाइबाट बेहोर्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘मलाई देश, विदेश घुम्ने सोख छैन । प्रत्येक महिनाको कमाइको केही हिस्सा खुत्रुकेमा जम्मा गर्छु । जब चुनाव आउँछ, सोही रकम खर्च गर्छु । यसरी नै खर्च व्यवस्थापन हुन्छ ।’
पढाइमा तीक्ष्ण जाग्री
रामबहादुर जाग्री पढाई तीक्ष्ण विद्यार्थी रहेको बताउँछन् । १ देखि १० सम्म नै कक्षा प्रथम वा दितिय स्थानमा आउने गरेको उल्लेख गरे । बझाङको तत्कालीन ब्यासि गाविस वडानं ३ थलारामा २०३६ मा जन्मिएका जाग्रीले गाउँकै विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका थिए भने कक्षा १२ सम्म शान्ति उमावि मा पढेका थिए ।महेन्द्र रत्न क्याम्पस ताहाचलबाट स्नातक गरेका जाग्रीले त्रिभुवन विश्वबिधालयबाट गणित विषयमा स्नातकोत्तर, समाजशास्त्रमा त्रिचन्द्र क्याम्पसबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलवि गरेका छन् ।