काठमाडौँको कलङ्कीका दाजुभाई जगन अधिकारी र श्रीकृष्ण अधिकारीको रुचि सानै उमेरदेखि खेलकुद तथा व्यायाममा थियो । दुवै जना व्यायाम गर्न जिम हल जान्थे । त्यति बेला कलङ्की क्षेत्रमा व्यवस्थित र सुविधा सम्पन्न जिम हल थिएनन् । २०५८ साउनतिर दाजुुभाईले नै आफै जिम हल सञ्चालन गर्ने निर्णय गरे । दाजुभाइले ३ लाख लगानी गरे व्यायामशाला सञ्चालन गरे । जिम गर्न आउनेहरूलाई मासिक १ सय ५० शुल्क तोकिएको थियो । त्यति बेला ३ लाख लगानीमा सञ्चालन गरेको व्यायामशाला (कलकी) जिम सेन्टर)को लगानी अहिले करिब ५ करोड पुगेको छ ।
कलङ्की चोकबाट १ सय ५० मिटर पूर्व स्वयम्भुवतिर अवस्थित कलङ्की जिम सेन्टर अहिले आलिसान भवनमा उभिएको छ । भवनभित्रै क्याफे, स्पा, स्विमिङ पुल दुई वटा तलामा जिम हल, किक बक्सिङ, जुम्बा र कार्डीयो सेक्सन सञ्चालित छन् । कलङ्की जिम सेन्टरमा प्रत्येक दिन हजारभन्दाबढी व्यक्तिहरू विभिन्न व्यायामका क्रियाकलापमा सहभागी हुन्छन् । प्रत्येक डिपार्टमेन्टमा ३ जना प्रशिक्षक छन् ।
जिम गर्नेहरूको सङ्ख्या धेरै
व्यायामशालामा आउनेमध्ये जिम गर्नेको सङ्ख्या बढी रहेको सञ्चालक जगन अधिकारी बताउँछन् । ‘जिम गर्न दैनिक २५० सम्म ब्यायमकर्ता सहभागी हुन्छन् । जसमध्ये ३० प्रतिशत महिला सहभागिता छन् । पछिल्लो समय महिलाको उपस्थिति लाई उत्साहजनक ठान्नु पर्छ,’ सञ्चालक जगन अधिकारीले भन्छन्, ‘महिलाहरू घरायसी जिम्मेवारी भएका पनि समय मिलाएर आउने गरेका छन् ।’
जिम मुख्य गरी शारीरिक तन्दुरुस्तीका लागि र खेलाडी बन्नका लागि गर्ने गरिएको अधिकारी बताउँछन् । ‘जिमले व्यक्तिलाई चाडै बुढो हुन बाट बचाउने भएकोले सबै उमेरका व्यक्तिले गर्न पर्ने ठान्छु’ उनले भने, ‘यहाँबाट सिकेर थुप्रै व्यक्तिहरू देश तथा विदेशमा सफल ब्यायम व्यवसायी भएका छन् ।’
पौडीमा बढ्दो रुचि
पछिल्लो समय पौडी (स्विमिङ) मा मानिसहरूको रुचि बढ्दो रहेको सञ्चालक अधिकारी बताउँछन् । ‘अहिले गर्मीको मौसम हो । प्रत्येक दिन कम्तीमा ५० जना पौडी खेल्न आउनुहुन्छ । हामीले स्विमिङ एक्याडेमीको रूपमा विकसित गरेको छौँ । चैतदेखि हालसम्म ४ सय जनालाई स्विमिङ सिकाइसकेका छौँ ।’
स्विमिङमा किशोरावस्थाका बालबालिकाहरू बढी सहभागी हुने गरेको अधिकारीको अनुभव छ । ‘स्विमिङ सिक्न पर्ने रहे छ भन्ने मानसिकता अहिले सबै उमेर समूह का व्यक्तिले विकास भएको छ,’ उनी भन्छन्, ‘शरीरमा बोसोको मात्रा बढेर हुने रोगहरू सुगर, प्रेसर जस्ता रोगहरू बाट बच्न पनि स्विमिङ एकदमै महत्त्वपूर्ण छ । स्विमिङले यस्तो खालको खेल हो जसमा चाहिँ शरीरका सबै अङ्ग एकै पटक चलाउनु पर्छ । यसमा क्यालोरी पनि धेरै खपत हुने भएकाले स्विमिङ लाभदायक छ । हामीले स्वस्थ नागरिक उत्पादन गर्ने कुरामा जोड दिएका छौँ । जेस्ठ नागरिकलाई ३५ प्रतिशत छुट छ भने विद्यार्थीहरुलाई १० प्रतिशत छुट दिएका छौँ ।’
कार्डीयो ट्रेनिङ नयाँ अभ्यास
कलङ्की जिम सेन्टरले कार्डीयो ट्रेनिङलाई नयाँ अभ्यासका रूपमा सञ्चालन गरिरहेको छ । कार्डीयोमा फङ्सनल र एरो बिक तालिम दिइन्छ । जसमा रनिङ, साइकिलसङ, रोईङ ९डुङा खियाउने जस्तो खेल० अभ्यास गराइन्छ । मुटु, फोक्सो, कलेजो जस्ता आन्तरिक अङ्ग स्वस्थ राख्न र बोसो घटाउन यो अभ्यास गराइन्छ ।
राज्यले व्यायामशाला व्यवसायीलाई केही सहुलियत दिनु पर्ने सञ्चालक जगन अधिकारी बताउँछन् । समाजमा स्वस्थ नागरिक उत्पादन गर्न व्यायामशाला व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘नागरिकलाई स्वस्थ बनाउने ठाउँ अस्पतालपछि व्यायामशाला हुन् । राज्यले यो कुरा बुझ्न जरुरी छ साथै, कर तथा बैङ्क ऋणमा छुट गर्न पर्यो, सहुलियतमा सहजै ऋण लिन सकिने बनाउनु पर्छ ।’