बझाङमा विकास: सडकसँगै सिप विकासको आवश्यकता

– चाँदनी जाेशी

बझाङ सुदूरपश्चिम प्रदेशमा अवस्थित जिल्ला हो । बझाङमा सङ्घीयता पश्चात् यत्रतत्र सडक निर्माणका कार्यहरूमा तीव्र गतिमा भइरहेका छन् । यहाँका दुर्गम गाउँ तथा बस्तीहरूलाई सडक सञ्जालसँग जोड्नका लागि विभिन्न विकासे योजनाहरू सञ्चालनमा छन् ।

बझाङका विभिन्न स्थानहरूमा सडक निर्माणका लागि साना ठुला योजनाहरू कार्यान्वयनमा छन्, जसमा स्थानीय सरकार, सङ्घीय सरकार, र विभिन्न गैरसरकारी संस्थाहरूको सहयोग रहेको छ ।

सडक निर्माण कार्यमा विभिन्न चुनौतीहरू पनि छन् । यहाँको भौगोलिक अवस्था, पहाडी भूभाग र अव्यवस्थित मौसमका कारण निर्माण कार्यमा कठिनाइहरू उत्पन्न हुने गर्छन् । यद्यपि, स्थानीय जनताको सक्रिय सहभागिता र सरकारको प्रतिबद्धताले यी चुनौतीहरूलाई पार गर्दै सडक निर्माण कार्य अगाडि बढिरहेको छ ।

सडक निर्माणको मुख्य उद्देश्य यातायात सहजता, आर्थिक विकास र जनताको जीवनस्तरमा सुधार ल्याउनु हो । बझाङमा सडक निर्माणले यातायातको सहजता मात्र नभई, शिक्षा, स्वास्थ्य, र आर्थिक क्रियाकलापमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । यसले गर्दा स्थानीय उत्पादनहरूको बजारसम्म सहज पहुँच हुनेछ र पर्यटकीय क्षेत्रहरूको विकासमा पनि टेवा पुग्नेछ ।

समग्रमा, बझाङमा सडक निर्माणको प्रगति र यसले ल्याउने सम्भावनाहरूले यहाँको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । विकासको कुरा गर्दा, हामी प्रायः भौतिक पूर्वाधारमा मात्र ध्यान दिने गर्छौँ । सडक, पुल, भवन निर्माण जस्ता कामहरू महत्त्वपूर्ण छन्, तर विकासको सम्पूर्णता हासिल गर्न सीप विकासमा पनि जोड दिनु उत्तिकै आवश्यक छ ।

सडक विकासका गुणात्मक आयाम हुँदाहुँदै पनि यहाँको विकासको लागि केवल सडक निर्माण मात्र पर्याप्त छैन, सिप विकासमा पनि ध्यान दिन आवश्यक छ । सडक निर्माणले यातायातको सुविधा बढाउन सक्छ तर दीर्घकालीन विकासको लागि मानिसहरूको सिप र दक्षता बढाउनु पर्दछ ।

जनप्रतिनिधिहरूले बझाङको विकासको लागि जनस्तरमा सिप विकास कार्यक्रमहरूमा जोड दिनुपर्छ । यसले स्थानीय युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न सक्छ र उनीहरूको आर्थिक स्थिति सुधार्न मद्दत पुर्‍याउँछ । सिप विकास कार्यक्रमहरूमा कृषि, हस्तकला, पर्यटन र अन्य स्थानीय उद्योगहरूमा तालिमहरू समावेश गर्न सकिन्छ ।

सिप विकासका लागि स्थानीय जनताका मौलिक फेसासँग सम्बन्धित सिप विकासमा जोड दिन सकिन्छ । साथै परम्परागत पेसा व्यवसायलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादनमुखी र सहज बनाउन सकिन्छ ।

मस्टा गाउँपालिकाले सिप विकासमा आशा लाग्दो सुरुवात गरेको छ । मस्टा गाउँपालिकाले गत आर्थिक वर्षमा जुत्ता बनाउने पेसाकर्मीहरूलाई आधुनिक उपकरण प्रयोग गर्ने र उत्पादन गर्ने तालिम दिएको थियो । सिप विकासका लागि यो एउटा उदाहरणीय काम हो । अन्य स्थानीय तहहरूले पनि माटो सुहाउँदो यस्तै प्रकृतिका सिप विकासमा जोड दिनु पर्दछ ।

सडक निर्माणले भौतिक पूर्वाधारमा सुधार ल्याउन सक्छ, तर सिप विकासले मानिसहरूको जीवनस्तरमा सुधार ल्याउँछ । त्यसैले, बझाङको समग्र विकासको लागि दुवै पक्षलाई सँगै अघि बढाउन आवश्यक छ ।

जनप्रतिनिधिहरूले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ र सिप विकासमा लगानी गर्नुपर्छ । केवल भौतिक पूर्वाधारमा मात्र होइन, मानिसहरूको क्षमता विकासमा पनि ध्यान दिनुपर्छ । बझाङको विकासको लागि सिप विकासमा जोड दिएर मात्र वास्तविक प्रगति हासिल गर्न सकिन्छ ।

सीप विकासले स्थानीय जनतालाई आत्मनिर्भर बनाउँछ । प्राविधिक शिक्षा, तालिम कार्यक्रमहरू, र उद्यमशीलता विकासले युवाहरूलाई रोजगारीका नयाँ अवसरहरू प्रदान गर्दछ । उदाहरणका लागि, कृषि, पशुपालन, हस्तकला, पर्यटन र साना उद्योगहरूमा सीप विकासले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन सक्छ । यसले मात्र बाह्य सहायता र रोजगारको खोजीमा बाहिर जानुपर्ने बाध्यता घटाउँछ ।

जनप्रतिनिधिहरूले विकासको योजनाहरू बनाउँदा सीप विकासलाई प्राथमिकतामा राख्नुपर्छ । यसका लागि विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । उदाहरणका लागि, कृषि तालिम, प्राविधिक शिक्षा, साना उद्यमहरूको व्यवस्थापन तालिम र हस्तकला तालिमहरू सञ्चालन गर्न सकिन्छ । यसका साथै, सीप विकासका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापन र नीति निर्माणमा पनि जनप्रतिनिधिहरूले सक्रिय भूमिका खेल्नुपर्छ ।

(लेखक चाँदनी जाेशी बझाङकाे खप्तडछान्ना स्थायी बासिन्दा हुन् । हाल उनी अध्ययनका लागि अमेरिकाकाे टेक्सासमा छिन्)

Loading...