बझाङकाे गाउँमा जन्मिएकी म प्रकृतिको शान्त सौन्दर्य र गाउँले जीवनशैलीले घेरिएकी थिएँ । खप्तड छान्नाको डाँडा गाउँमा मेरो जन्म भएको हो । म तत्कालीन पौवा गढी गाविसमा जन्मिए । बुवाको राजनीतिक पृष्ठभूमि । आमा नर्स । मैले राम्रै परिवारमा जन्मिने सौभाग्य प्राप्त गरे । मेरो बुवा आमाको चाैथाे सन्तानको रूपमा मेरो जन्म भयो । म भन्दा अघि तीन वटा दिदीहरू । म पछि एउटा भाइ ।
मेरो बाल्यकाल डाँडा गाउँकै डाडाहरुमा बेतित भयो । मेरो बाल्यकाल सादगी जीवन शैली र गाउँले जीवनको न्यानोपनले भरिएको थियो । जहाँ सबैले एक अर्कालाई चिन्छन् । गाउँमा आत्मीयता छ । शिक्षा एक बहुमूल्य सम्पत्ति हो । र मेरो आमाबाबुले सधैँ शिक्षाको महत्त्वलाई जोड दिनुभयो ।
५ वर्षको सानै उमेरमा आफ्ना आमा बुवा लाई छोडेर दिदी र भाइसँग थप अध्ययनका लागि काठमाडौँ जाने मौका पाएँ । बाल्यकालको अधिकांश समय बझाङ र धनगढीमा बेतित गरे पनि थप विद्यालय शिक्षा र उच्च माध्यमिक तहको शिक्षा काठमाडौँमा प्राप्त गरेँ । सानै उमेरको त्यो यात्रा मेरो लागि रोमाञ्चक र डरलाग्दो थियो । काठमाडौँ, चहलपहल भएको सहर । बझाङको शान्तताभन्दा एकदमै फरक थियो । द्रुत गतिको जीवन । हरेक व्यक्ति हतारमै देखिने । कक्षाकोठामा पनि प्रतिस्पर्धात्मक शैक्षिक वातावरण थियो । मलाई त्यो वातावरणमा समायोजन हुन चुनौतीपूर्ण थियो । तर, म यो अवसरको सदुपयोग गर्न कटिबद्ध थिएँ । सुरुका दिनहरू कठिन थिए तर बिस्तारै, मैले मेरो लय फेला पारे ।
मैले साथी बनाएँ । अध्ययन समूहमा सामेल भएँ । र काठमाडौँले दिनु पर्ने विविध सांस्कृतिक अनुभवहरूमा डुबेँ । सहरका पुस्तकालयहरू र शैक्षिक संस्थाहरूले मेरो लागि ज्ञानको नयाँ संसार खोलिदिए । मेरो भविष्यको लागि महत्त्वपूर्ण हुने आत्मविश्वास र सीपहरू प्राप्त गर्दै मैले यो नयाँ वातावरणमा फस्टाएको छु । मैले उच्च तहको शिक्षा काठमाडौँ सहरको काठमाडौँ बर्नहार्ड कलेजमा पूरा गरेँ ।
काठमाडौँमा पढाइ सकेपछि अर्को अवसरले मेरो ढोका ढकढक्यायो– अमेरिकामा अध्ययन गर्ने मौका । वैदेशिक अध्ययनको मौकासँगै सपना र चुनौती पनि उस्तै थिए ।
अमेरिका प्रवेश गरे पछिका सुरुवाती दिन निकै कठिन रहे । सबै कुरा फरक । भाषा, जीवनशैली, खानपान सबै अलग्गै । एउटा देश, एउटा महादेश मात्रै फरक थिएन पृथ्वीको गोलार्ध नै फरक । अनौठो त लाग्ने नै भयो । अमेरिका अनन्त सम्भावनाहरूको देश । आफूलाई अभ्यस्त पार्ने ध्याउन्नमा रहेँ ।
मेरो बसाइँका सुरुवाती दिनहरू अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भयो । त्यहाँको युनिभर्सिटी अफ पोटोम्याकमा भर्ना भएकी थिएँ । संसारका विभिन्न देशका विद्यार्थीहरूको साझा थलो जस्तो थियो पोटोम्याक । यहाँको शिक्षा प्रणाली उन्नत छ । मैले अमेरिकामा प्राप्त गरेको शैक्षिक वातावरण अतुलनीय छ । बेलाबेला कल्पना गर्छु । यहाँको शिक्षा, शैक्षिक प्रणालीलाई आफ्नो जिल्लामा प्रयोग गर्न पाएँ । भौतिक शरीर यता भए पनि कल्पनामा भने बझाङ नै हुन्छ । सायद मातृभूमिको माया होला । जन्म दिने आमाबुबा र मातृभूमि सदा सम्झनामा आउने रहेछन् । भौतिक शरीर जतिसुकै विलासपूर्ण कुराले घेरिए पनि मन मस्किकमा तीनै डाँडा पाखाले शीतल दिने रहेछन् ।
अमेरिकाले मलाई स्वतन्त्रता र लचिलोपन सिकायो । अनुभवले मेरो ज्ञानको क्षितिज फराकिलो भएको महसुस हुन्छ । यद्यपि यो विशाल ज्ञानको सागरमा म एक लोटा पानी झैँ त हो । चुनौतीहरूको बाबजुद, हाल म स्नातक डिग्री पछ्याउँदै छु । अध्ययनसँगै आंशिक समय काम गर्दै आर्थिक चाँजोपाँजो मिलाउँदै छु । अध्ययनपछिको समयमा काम गर्छु जसले मलाई आर्थिक सहयोग मात्रै गरेको छैन, व्यावसायिक संसारको बुझाइलाई अझै बलियो बनाएको छ ।
फर्केर हेर्दा बझाङदेखि काठमाडौँ र त्यसपछि अमेरिकासम्मको मेरो यात्रा सबै किसिमका अनुभव मिश्रित छ । मेरोलागि घरपरिवार तथा आफन्तजनले दुःख र म प्रतिको अपेक्षाले मलाई कर्तव्यबाट विमुख हुन दिएको छैन । खुसी भन्दा बढी आंकाक्षा । आकाङ्क्षा भन्दा बढी सङ्घर्ष । संर्घष भन्दा बढी सम्झना । सबै खाले संवेग मिश्रित अनुभव छ । यद्यपि यी कुराले मलाई आत्मविश्वासी बनाउँदै गएको छ ।
मेरो शिक्षा र अनुभवहरू सदुपयोग म मेरो जन्मभूमिमा गर्न पाए हुन्थ्यो भन्ने लागि रहन्छ । मैले बुझेको दृष्ट्रिकोणलाई मेरो समुदायलाई फिर्ता दिन पाएँ भनेर सोच मग्न हुन्छ ।
(चाँदनी जाेशी बझाङकाे खप्तडछान्नाबासी हुन् । हाल उनि अध्ययनका लागि अमेरिकामा छिन्)