बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका-३ का ५० वर्षीय रमेश खत्री दृढ सङ्कल्प र मेहनतका साथ कृषि पेसामा लागिरहेका छन्। उनले आफ्नो घर वरिपरि लगभग १ सय भन्दा बढी हलुवाबेदको रुख रोपेका छन् । रमेशको १० वर्षको मेहनतले बारीमा अहिले करिब १ लाख रुपैयाँ बराबरको हलुवाबेद फलेको छ। यस उपलब्धिले रमेशलाई उत्साहित बनाए तापनि, यसैसँग उनले गम्भीर समस्या पनि भोगिरहेका छन् । – बजारको अभाव।
हलुवाबेदको फल बिक्री नहुँदा उनको उत्पादन बारीमा कुहिँदै छ। चराचुरुङ्गीले खाएर सक्ने पनि खत्रीलाई साह्रै चिन्ता लागेको छ । र आफ्नो मेहनत व्यर्थ भएको महसुस गरिरहेका छन् उनी ।
खत्री भन्छन्,” प्रत्येक वर्ष हलुवाबेद अथाह फल्ने गर्छ । अहिले ३० वटा रुखमा मात्रै हलुवाबेद लटरम्म फलेको छ । तर यसको बजारीकरण भने गर्न सकिएको छैन ।” अब त दिक्क लागी सक्यो, जति मिहिनेत, परिश्रम गरे पनि हुँदैन । फल बिक्री नहुँदा उत्पादन बारीमै छ । अब यसै गरी चराचुरुङ्गीले खाएर सक्छन् उनले भने ।
यस व्यवसायलाई सशक्त बनाउन र आफ्नो उत्पादनलाई उपभोक्तासम्म पुर्याउन ठोस योजना र सहयोगको खाँचो महसुस गरिरहेका खत्रीले हालसम्म कुनै सरकारी निकाय वा अन्य संस्थाबाट कुनै प्रकारको आर्थिक वा प्राविधिक सहयोग पाउन सकेका छैनन्। वास्तविक किसानले कुनै सहयोग नपाउने कुरामा खत्रीले निकै दुःख व्यक्त गरेका छन् ।
रमेश जस्ता किसानहरूका लागि आवश्यक बजार व्यवस्थापन र कृषि प्रवर्द्धन नीति लागू गर्न सकेमा उनीहरूको उत्पादनलाई उचित मूल्य र स्थायित्व प्रदान गर्न सकिन्छ। रमेशले कृषि कार्यालय र सम्बन्धित निकायबाट सहयोगको अपेक्षा राखेका छन् । हलुवाबेदको खेती विस्तार गर्दै उचित व्यवस्थापन, बजारीकरणका साथ कृषकहरूलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनमा जोड दिनुपर्ने देखिन्छ ।
हलुवाबेद नेपालमा एक परिचित फल हो । यो फल व्यावसायिक रूपमा बिक्री नहुँदा प्रवर्द्धन पनि खासै भएको पाइन्न, तर पछिल्लो समय यो फलको महत्त्व बुझ्न थालेपछि सबैले खोजी-खोजी खान थालेका छन् ।