ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रको सहयोगमा मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको टिमले १५ बर्समुनिका बालबालिकाहरूको मुटु जाँच गरेको हो ।
पालिकाभित्रका तीन वटा विद्यालयमा हिजो शिविर सञ्चालन गरिएको डा।रेग्मीले जानकारी दिए । भानु माध्यमिक विद्यालय, जनता माध्यमिक विद्यालय र युवा वर्ष माध्यमिक विद्यालयमा भएको शिविरमा चार हजार २४२ बालबालिकाको मुटु जाँच गरिएको थियो ।
कार्यक्रमको संयोजकसमेत रहेका डा।रेग्मीका अनुसार तीन हजार पाँच सय बालबालिकाको मुटु जाँच गर्ने योजना बनाइएको थियो । मुटु परीक्षण गरिएको बालबालिकामध्ये १० जनाले नियमित औषधी सेवन गर्नुपर्ने भएको छ ।
त्यसै गरी, १३ जना एक वर्षसम्म फलोसिपमा रहनुपर्ने, १० जनाको अपरेसन गर्नुपर्ने रिपोर्टले देखाएको छ । औषधी सेवन गर्नुपर्ने देखिएकालाई एक महिनाका लागि निःशुल्क औषधी वितरण गरिएको छ । अप्रेसन गर्नुपर्नेको हकमा सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क उपचार गरिने व्यवस्था मिलाइएको छ ।