मालुमेलामा कुखुरा पालन स्तरोन्नति तालिम सुरु, स्थानीय कृषकलाई व्यावसायिक बनाउने प्रयास

घरेलु तथा साना उद्योग कार्यालय बझाङले थलारा गाउँपालिका-९ मालुमेलामा सात दिने कुखुरा पालन स्तरोन्नति तालिमको उद्घाटन गरेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत बजेटबाट सञ्चालित यस तालिमले स्थानीय कृषकलाई व्यावसायिक बनाउन ठोस योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

सोमबारबाट सुरु भएको तालिम आगामी सात दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा सहभागीलाई व्यावसायिक सीप प्रदान गर्ने, कृषकलाई लोकल कुखुराको चल्ला वितरण गर्ने र कुखुराको खोर अनुगमन गर्ने कार्यक्रम रहेको छ । तालिमले स्थानीय स्तरमा आत्मनिर्भरता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

तालीममा थलारा गाउँपालिका- ९ का १५ जना कुखुरा व्यवसायी सहभागी छन् । उद्घाटन कार्यक्रममा स्थानीय कृषकहरूले कुखुरा पालनको सम्भावना र चुनौतीका विषयमा आ-आफ्ना धारणा  राखेका थिए । मालुमेला कृषि तथा पशुपन्छी फर्मका सञ्चालक दीपेन्द्र खड्काले कुखुरा पालनको क्षेत्रमा चुनौती र जोखिमहरू रहेको बताए । उनले भने, “कुखुराको लागि सहज रूपमा औषधि पाउँदैन । विभिन्न रोग लाग्ने समस्या पनि छ । यस्तो तालिमले यी समस्याको समाधानमा सहयोग पुग्नेछ ।”

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी नायब प्राविधिक सहायक तथा तालिम प्रशिक्षक अनिता कुँवरले तालिममा आफ्ना धारणा प्रस्तुत गर्दै कुखुरा पालनका लागि वैज्ञानिक विधि अपनाउन आवश्यक रहेको बताइन् । उनले भनिन्, “कुखुरा पालनमा सफलता प्राप्त गर्न वैज्ञानिक व्यवस्थापन र रोग नियन्त्रण अत्यन्त जरुरी छ । उचित खोर निर्माण, आहार व्यवस्थापन तथा रोग प्रतिरोधात्मक उपायहरूको प्रयोगले उत्पादनलाई बढाउन सकिन्छ । तालिमले कृषकलाई यी पक्षहरूमा सहजीकरण गर्नेछ ।”

घरेलु तथा साना उद्योग कार्यालयले आयोजना गरेको सीपमूलक तालिमले ग्रामीण क्षेत्रमा व्यावसायिक कृषिलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको र व्यवसायीक कृषकलाई सक्दो सहयोग गर्ने वडाध्यक्ष लोकेन्द्र विष्टले बताए ।

थलारा गाउँपालिका-९ मा आयोजित सात दिने कुखुरा पालन स्तरोन्नति तालिमको उद्घाटन समारोहको समापनमा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय बझाङका निमित्त प्रमुख मानबहादुर धामीले लोकल कुखुराको उत्पादनमा जोड दिनुपर्नेमा विशेष ध्यानाकर्षण गराएका छन् । लोकल कुखुराको माग बजारमा बढ्दो छ । यस तालिमबाट कृषकले आवश्यक सीप र ज्ञान सिकेर उत्पादनमूलक क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने विश्वास गरेको छु, उनले भने ।धामीले कृषकहरूलाई तालिममा सिकेका कुरा व्यावहारिक रूपमा पनि लागू गर्न आग्रह गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गरी आयआर्जनमा सुधार ल्याउनुपर्ने बताए ।

तालिमको उद्घाटन कार्यक्रम घरेलु कार्यालय बझाङका निमित्त प्रमुख मानबहादुर धामीको अध्यक्षतामा उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि  वडा अध्यक्ष लोकेन्द्र बहादुर विष्ट रहेका थिए । घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ उद्यम विकास सहजकर्ता दशरथ जप्रेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Loading...