तिहारमा ट्रेकिङः घान्द्रुक, घोरेपानी, पुन हिल पुग्दा जे देखियो (नियात्रा)

कार्तिक ८ गते  राती ९ बजे झिमिक्क साँझ परेको थियो । खाना खाएर सुत्न तयारी गर्दै थिए । त्यसैबेला साथी विकासले फोन गर्दै सोध्यो, ‘तिहारमा पुन हिल घुम्न जाने प्लान बनाएको होइन के भयो? जाने होइन? उसका प्रश्नले मैले पनि हौसिँदै भने, ‘जाने भए जाऊँ न त । तर, दुबै जना मात्र जाने र?’ मैले विकास लाई सोधे उसले भन्यो, ‘उसो भए म नि साथीहरू लाई सोध्छु । कोही जान इच्छुक छन् कि? तिमी पनि कुरा गर न ।’ मैले हुन्छ भन्दै फोन राखे । घुम्न जाने त भनियो तर भन्ने बितीकै जान तयार साथी को होला र?


त्यसै बीचमा ठ्याक्कै दिमागमा एक जनाको याद आइहाल्यो सुनिल धामी । मेरो पूर्व सहकर्मी मिडियाकर्मी साथी जो घुम्न र रमाइलो गर्न भनेपछि कहिले पछि हट्दैनन् । मैले कल गरेर सोधेँ, ‘सुनिल हामी त तिहारमा घुम्न जाने प्लान बन्यो । जाने हो त? के छ समय? उनले पनि एउटै शब्दमा कहाँ जान? केही नभनी, ‘म नि एक्लै छु यसपालि काठमाडौंमा । तिहारको बिदा लाई घुमघाम गरेर बिताउन पाए राम्रै हुन्थ्यो । जाऊँ न त ।’ यति भनिसकेपछि अब घुम्न जाने तीन जना साथी भइयो र यात्रा पोखरा हुँदै घान्द्रुक बाइकमा जाने कुरा भयो ।

बाइकमा जाने भनेपछि एउटा बाइकमा दुई जना अर्कोमा एक जना मात्र !  फेरी एकजना साथीको अभाव खड्कियो । सकेसम्म चार जना जाऊँ सुनिलले भने । अब तीन जना त भइयो । एकजना खोज्नु पर्ने भयो । सुनिलले पनि एकजना दाइको नाम फ्याट्ट लिँदै भने, अस्ति तिहारमा एकजना दाइले घुम्न जाउँ भन्नु भाको थियो जान्छन् की सोध्छु ? सुनिलले ति दाइ सँग कुरा गरेपछि उहाँपनि जाने भन्ने खबर आयो । अब भने चार जना जाने मोटामोटी पक्का भयो ।

घुम्न भनेपछि मन यसै पुलकित मात्रै भएन, पूरै तन पनि तरंगित भएर आयो । विकाससँग फेसबुकको म्यासेन्जरमा यात्राको बारेमा कुरा गरिरहेको थिएँ । ‘दुबै जना मात्र के कुरा गर्नु एउटा ग्रुप च्याट बनाऊँ त्यसमै कुरा गरौँ विकासले भन्यो’,  मैले सहमति जनाउँदै म्यासेन्जरमा ग्रुप च्याट क्रियट गरेँ । च्याटमा यात्राको योजनाको बारेमा कुरा गयौँ । योजना बनिसकेको थियो । एक्कासि गणेशको परिवारमा कुनै गम्भिर समस्या परेको खबर आयो । गणेश दाइ जान चाहेर पनि जान असमर्थ भए ।

भोलि पल्ट बिहानै विकासको कल आयो, ‘के गर्ने अब जाने भनियो तर एकजनाको जान मिलेन । कोही साथी छैन? तिम्रो अरू घुम्न मन पराउने?’ उसले सोध्यो । म सोचेर भन्छु भन्दै फोन राखिदिएँ । म्यासेन्जरमा स्क्रोल गर्दै थिए । सहकर्मी साथी सुजन शर्माको म्यासेज आयो, ‘ओइ के गर्दै छस्? के छ तिहारको प्लान?’ मैले पनि खुसी हुँदै हतपत्त रिप्लाई गरेँ, ‘हामी त घुम्न जाँदै हो । तिमी पनि जाने हो? रमाइलो हुन्छ जाऊ हिँड । ‘भर्खरै प्लान बनाएर जाऊँ पो भन्छौ त ! तयारी छैन । भयो नजाऔँ होला,’ उसले भन्यो । तर, एक छिनको मेरो कन्भिन्सको कसरतले सुजन जान तयार भयो । हुन त उसले मलाई दशैंको बिदामा पोखरा घुम्न जाऊ भन्ने प्रस्ताव नराखेको भने होइन त्यति बेला म बिरामी भएर जाने मेसो मिलेको थिएन । विकास सुवेदी, सुनिल धामी, सुजन शर्मा र म गरि फेरी ४ जनाको टोली तयार भयो ।


विकास विहान १० बजे मलाई लिन मेरो  घर सम्म आयो । उता सुनिलले  सुजन लाई चाबहिल बाट पिक अप गर्यो । यात्रा चाबहिलबाट प्रारम्भ भयो । ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुन हिल स्पर्श गर्न मन आतुर थियौँ ।  स्वप्निल यात्राको कल्पनाले मन प्रफुल्लित थियो । काठमाडौंबाट पोखरा पृथ्वी राजमार्ग हुँदै २ सय एक किलोमिटर दुरीको पहिलो दिनको यात्रा थियो ।

मन र बाइकको रफ्तार उस्तै उस्तै थियो । बाइक धर्तीमा गुडिरहेको थियो । मन उडेर आकाश मार्ग हुँदै पुनहिलतर्फ दौडिरहेको थियो । म्याग्दीसँग मितेरी लगाएको हावाले मनैदेखि चञ्चलता प्रदान गरिरहेको थियो । दायाँबायाँका डाँडापाखा, खोला र हरियालीले हाम्रो यात्रालाई उस्तै रमणीय बनाइरहेको थियो । समय दिउँसोको १ बजेको हुँदो हो । पोखरा पुग्नुअघि गल्छीमा खाना खान ओर्लियौं । खानापछि केही समय आराम गर्यौं र पोखरातर्फ हानियौं । 

काठमाडौँबाट विहान १० बजे दुइ वटा बाइकमा चार जनाले पुन हिलको यात्रा अगाडि बढायौँ । करिब २ घण्टाको यात्रापछि धादिङको गल्छिमा विहानको खाना खायौँ । प्रायः व्यस्त रहने पृथ्वी राजमार्गमा सवारी साधनको न्यून उपस्थितिले होला हाम्रो बाइकको एक्सिलेटर उच्च गतीमै थियो । करिब १ घण्टाको यात्रापछि मुग्लिन पुगियाे । मुग्लिनको एक चिया पसलमा चियाका चुस्किसँगै यात्राको थकान घटायौँ । सँगै चुरोट पारखी साथिहरुले दुइ खिल्ली सुर्यलाई धुवाँमा परिणत गरे ।

त्यतिबेलासम्म समयले दिनको २ बजाइ सकेको थियो । बाइकका ह्याण्डिल पुनः पोखरातिर सोझिए । मुग्लिन पोखरा पृथ्वी राजमार्ग चौडा बनाउने काम भइ रहेको रहेछ । डोजरले राजमार्गका छेउ र भित्ता कोतरेको रहेछ ।

तिहारमय पोखरा 
बाटो धुवाँदार थियो । ठुला गाडिको ओहोरदोहोरसँगै उडेको धुलोले सडक कुहिरोमय हुन्थ्यो । पोखरा पुग्दासम्म हामीले लगाएका कपडा खैरो रङ धारण गरिसकेका थिए । आँखाका परेला तथा कपालमाथि धुलोले एक तला थपिसकेको थियो । हामी पृथ्वी चोक पुग्दा झिसमिसे अध्याँरो भइसकेको थियो । सिधै लेकसाईडतिर हानियौँ । लेक साइडको माहोल तिहारमय थियो । झिलिमिलि बत्तिसँगै चोक-चोकमा देउसीका टोलिहरुले भेटिए । देउसी खेल्नेहरुले लेकसाईडलाई खुला कन्सर्ट झैँ बनाएका थिए । बाराही चोकमा देउसी टोलीले म्यूजिकल व्याण्डसहित लाईभ पर्फम गरिरहेको थियो । अलिपर गुरुङ समुदायको पहिरनमा अर्को टोली नाच्दै थियो ।

पर्यटकीय सिजनमा काठमाडौंपछि नेपालकै सबैभन्दा व्यस्त शहर पोखरामा पर्यटकहरुको घुइँचो थियो, विदेशीहरू देउसी भैलो सँगै रमाइलो गरेको देख्दा लाग्थ्यो साच्चिकै हाम्रो देश सांस्कृतिक र नेपाली मौलिक परम्परामा धेरै अगाडी छ ।

 

पाेखरादेखि घान्द्रुक

भोलि पल्ट बिहान सूर्योदयसँगै उकालो, ओरालो, भिरालोको यात्रा अगाडि बढ्यौं । घान्द्रुक जान पोखरा बाट सारङकोट नौडाँडा लुम्ले हुँदै नयाँ पुल स्याउले हुँदै जानु पर्ने रहेछ । हामिले पनि त्यहि बाटो पच्छ्यायौँ । बाटोमा आउने माईल स्टोनले हामीलाई कुन ठाँउ आउन कति कि.मि. बाँकि छ भनेर बारम्बार जानकारी दिँदै पुलकित बनाइरहन्थ्यो । साथिहरु बाटोमा देखिने मनोरम दृश्य आँखामा र आ-आफ्ना मोबाईलमा कैद गरिरहे ।

बाटो अफरोड भए पनि जति अगाडि बढ्यो त्यति मनोरम दृश्य । धेरै कठिन बाटो पार गरेर हामी घान्द्रुक पुग्यौ । घान्द्रुक पुग्दा बिहानको ११ बजेको थियो । घान्द्रुक गाउँबीचका खुड्कीला चढ्दै हामी आशिष आमा  होम स्टेमा पुगेर अडियौँ ।  होम स्टे निकै सुन्दर थियो । त्यहाँको हस्पिटालिटि सम्झना लायक नै छ । घान्द्रुक गाउँकाे उत्तर र पुर्वमा मुुसुक्क हाँसेको अन्नपूर्ण र माछापुच्छ्रे । आहा! मनमोहक ।

हिमाल चाहार्दै बिश्रामपछि खानपिन गर्यौँ । खानामा गुन्द्रुक विशेष थियो । त्यसमाथि भर्खरै बनाएको घ्यू । साच्चिकै मिठो थियो खाना । केही बेरको बिश्राम पछि  प्रकृतिक सौन्दर्यले भरपुर घान्द्रुकलाई विदाइ गर्यौँ ।

उकालाे चढेर टाढापानीसम्म 

मोटरबाटोको सुविधा नभएको, टाडा पानीको यात्रा सुखद्र आश्चर्य मिश्रित यथार्थसँग साक्षात्कार भइन्छ । ४ घण्टा  जंगलै जंगल उकालो र तेस्रो बाटो  शितल हावा । त्यही हावामा कावा खाइरहेको स्निग्ध, कञ्चन, सौम्य वातावरण अनि यात्रा अद्भूत थियो । खोलाको कलकल पानी बगेको आवाज, चराचुरूंगीको चिरबीर आवाज । बाटोमा देखिएका झरनाहरू । तल-माथि गरिरहेका असंख्य पर्यटकहरू र सामान ओर्सानका लागि त्यस क्षेत्रमा प्रयोग हुने खच्चडसँगको जम्काभेट लगायतका धेरै कुराहरूले हाम्रो यात्रालाई रमाइलो गराइरहेको थियो । जसले थिन्ले लोन्दुपको ‘क्याराभान’ फिल्मको झझल्को दिन्थ्यो ।

वरिपरिको दृष्य अवलोकन गर्दै वनजंगलका बीच साँझ करिब ५ः३० बजे समुद्र सतहदेखि २६३० मिटरको उचाइमा रहेको टाडा पानी भन्ने स्थानमा पुगियो । त्यहाँ पुग्दा विदेशी पर्यटकहरू होटलमा भरिभराऊ भइसकेका थिए।  होटलकी आन्टी भन्दै थिईन छोराहरु ढिला पुग्यो त हिँड्न सकेनौँ की क्या हो? मैले जबाफ फर्काए आन्टी बिस्तारै बिस्तारै रमाइलो गर्दै आयो अलि ढिला भयो, कोठा छैन र मैले सोधें? मुस्कुराउँदै आन्टीले भनिन् छ नी हाम्रा बाबुहरु लाई आऊ यता म कोठा देखाइदिन्छु भन्दै होटलका कोठा तिर लागिन् । हामी पनि उनीलाई फलो गर्दै कोठा हेर्न गयो र त्यही कोठामा बस्ने निणर्य भयो ।

एक छिनको विश्राम पछि हात मुख धोएर आगो ताप्न बनाएको ठाउँ तिर गयो त्यहाँ धेरै जस्तो विदेशी पर्यटकहरू बसिरहेका थिए । कोही बियरको चुस्की सँगै रमाइलो गरिरहेका थिए भने कोही गितारको धुन सँगै गीत गुनगुनाउदै थिए । त्यो परिवेश हेर्दा लाग्थ्यो की जीवन त यिनीहरुकै रमाइलो हो काम गर्दा खटिएर काम गर्ने अनि रमाइलो गर्दा यसरी गरी । धेरै विदेशीहरु ६ महिना मज्जाले काम गर्ने अनि अरु समय घुम घाममा बिताउँदा रहेछन् । नजिकै रहेका ट्रेकिङ्ग गाइडले हामी सँग भन्दै थिए ।

एकछिनको त्यो रमाइलो हेरिसकेपछि विकासले सोध्यो जाडो छ यसो रम खाने हो त केटा हो के छ विचार? प्रस्ताव अगाडी सारे । सुनिलले सहमति ‘जनाउँदै हुन्छ नी त ज्यान तताउँ,’ भने त्यसपछि त सुजन र म पनि कम्पनी दिन तयार भयौँ । सुनिलले मेनू हेर्दै अडर गरे एक हाप बोतल रम अनि सितन । दुई प्याक रम को चुस्की पछि विदेशी सँगै स्वरमा स्वर मिलाउँदै गीत गाउन थाले । गीतको बोल थियो ‘वेल कम टु दि होटल क्यालिफोर्निया’ केही बेरको ठट्टा मजाक अनि रमाइलोपछि खाना अडर गर्यो । घन्टौं हिँड्नुपर्ने यात्रामा शाकाहारी भोजन नै उचित हुने भएकाले भेज खाना खायौं र एकछिनको गफगाफ पछि रूमतिर गयो । 

घोरे पानी-पुन हिलको यात्रा

रातभर थकाई मारेपछि भोलि पल्ट बिहानको सुर्यदयसँगै  त्यहाँबाट घोरेपानीको यात्रामा अगाडी बढ्यौ । कहीँ उकालो, कहीँ ओरालो र कहीँ सम्मो बाटो हुँदै यात्रा लाई अगाडि बढायो । नेपालमा पाइने विभिन्न प्रजातिका गुराँसमध्ये यहाँको जंगलमा मात्र ८ भन्दा बढी प्रजातिका गुराँस देख्न पाइने रहेछ । हामी भने गुराँस फुल्ने समय गुजारेर गएकोले यसको सौन्दर्यताबाट पनि विमुख रह्यौं ।

यात्राको सबैभन्दा रोचक पाटो चाहिँ प्राःय नयाँ साथी फेला पर्थे, खास गरेर विदेशी साथी कोही इजराइल, क्यानाडा, बेलायत, अस्ट्रेलिया, अमेरिका, भारत, चीन लगायतका एकै छिनको गफगाफपछि मित्रता गाँसिन्थ्यो र ती बाटै बाट छुट्थे ।


करिब ४ घण्टा को हिडाइ पछि हामी ११ बजे देउराली पुग्यौँ । एक छिनको  विश्राम पछि खाना खायौँ । खाना खाइसकेपछि १२ बजे  घोरेपानीका लागि अगाडी बढ्यौँ । महाभारतकालमा पाण्डवहरुले यही बाटो हुँदै मुक्तिनाथ दर्शन गर्न पुगेका थिए । भन्ने कथा पढेको थिएँ दिमागमा याद आउँदा मन एकैचोटि महाभारतकालमा पुग्यो । घोडेपानीमा भएका २२/२३ वटा होटल पूरै भरिभराउ थिए हामीले घोरेपानी बजारमा भएको हिल टप होटलमा त्यो रात बितायौं ।

सनराइज हेर्न विहानै उकालो 
बिहान पाँच बजे मिर्मिरेमै उठेर पुनहिलका उकालाे चढ्न अघि बढ्याैँ । मोबाइलको टर्च लाइटको सहायताले करिब १.५ कि.मिको हिडाइपछि ४५ मिनेटमा पुन हिल पुग्यौं । २६७४ मिटरबाट हामी ३२१० मिटर उचाइमा सूर्य उदयको अद्भूत ‘नजारा’ को दर्शन पायौँ । त्यहाँ पुग्दा साँच्चिकै स्वर्गमा पुगेको आभास भयो । सूर्योदयको आनन्दसँगै धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङखला आँखै अगाडि देखिए । हिमालको नजिक पुगेर तातो चियासँग बिहानीको पहिलो घामका किरणले हिमाललाई चुम्बन गर्दा देखिएका दृश्यले निरन्तर ३ दिनको हिँडाइको थकाइ कहाँ हरायो, हरायो थाहा नै भएन । हामी निकै भाग्यमानी रहेछौं । एक दिन अगाडि नखुलेको हिमाल त्यसदिन चाहिँ खुलेको रहेछ ।


पुन हिलबाट देखिने सूर्योदय र हिमाली दृश्यले हामीलाई नलोभ्याइ राख्न सकेन । मनभरि सजाइरहन मन लाग्यो । त्याे ठाउँ छोडेर फर्कन मन लागेन । चुम्बकले फलामलाई तानेझैं हामीलाई पनि हिमालको त्यो दृश्य अनि त्यहाँको सुन्दरताले तानिरहेकाे थियाे । त्यहाँ पुगेपछि भन्न मन लाग्यो वाह! हाम्रो देश नेपाल अद्भुत छ ।

छाेटाे यात्रामा भेटिएका  मिठा मान्छेहरू 

जाने बेला घान्द्रुक सम्म बाइकमा गएका हुनाले हामी फेरी बाइक लिन घान्द्रुक जानु पर्ने भयो र फर्किदा गाडीको बाटो भएर जाने निणर्य भयो । घोरे पानी बाट हाम्रो यात्रा बन ठाँटी सम्म अगाडि बढ्यो । हिँड्दै जाँदा बाटोमा ३ जना साथीहरू भेटिए उनीहरू पनि गाडीको बाटो जाने भनेर त्यही बाटो फर्की रहेका थिए । मैले सोधे तपाईँहरू पनि गाडीको बाटो भएर जाने हो । उनीहरू मध्ये एक जनाले भनिन् , हो नी जाने त भनेको २ ३ जना लाई गाडी मिल्दैन रे रिजर्भ गरेर जानु पर्छ । तपाई र हामी मिलेर गाडी रिजर्भ गरेर जाऊ है । हामी नी उनको कुरामा सहमत भयो र यात्रा अगाडि बढयौं । ३ जना बाट अब हामी ७ जना भयौं ।
यात्रामा जति धेरै साथी भइयो त्यति रमाइलो पनि हुन्छ । हामीले पनि नयाँ साथी पायौं अनि रमाइलो गर्दा गर्दै ओरालो बाटो झर्यों । आधा वाटोमा आएर एक छिन् विश्राम गर्यो र त्यही विश्राममा एक अर्काको बिस्तृत परिचय भयो । ममता, बिन्दु र दीपिका स्वास्थ्य क्षेत्रमा काम गरिरहेका नर्शहरू रहेछन् । नेपाल सरकारको स्वास्थ्य कार्यक्रम अन्तर्गत दमौलीमा काम गरिरहेको कुरा थाहा भयो । बेला बेला घुम्न उनीहरू लाई पनि औधि मन पर्ने रहेछ । ममता भन्दै थिइन ग्रुपमा साथीहरू भए त निकै रमाइलो हुने है । आउँदा क्या बोर भएको थियो ।

फर्किदा रमाइलो भइरहेको छ । कुराकानीकै क्रममा ममताले एउटा प्रस्ताव अगाडि सारिन, ‘बरु हामी अर्को पटक हामी मुस्ताङ्ग जाऊँ न । गाडी रिजर्भ गरेर तपाईँहरू भएसी सजिलो हुन्छ,’ उनको कुरामा सहमती जनाउँदै सुजन र सुनिल भन्दै थिए, ‘हुन्छ जाऊँ न त जाऊँ, प्लान गरौ ।’ छलफल गर्दागर्दै ह्वाट्स एपमा ‘ग्रुप च्याट क्रेट’ भइसकेको थियो । कुराकानी गर्दै करिब तीन घण्टाको पदमार्ग हुँदै हामी बनठाँटी पुग्यो ।

जीप बुकिङ गरेर नयाँ पुल सम्म सँगै जाने कुरा भयो । जीपभित्र साथीहरू गीत गाउनमा व्यस्त थिए । एक अर्का सँग साम्यपता बढिसकेको थियो । हासी माजाक, ख्याल ठट्टा गर्दै दुई घण्टा बितिसकेछ । दुई घण्टा जीप यात्रापछि हामी नयाँ पुल पुग्यौं । नयाँ पुलबाट हामी छुटिन्नु पर्ने भयो । हामी जाने घुन्द्रकतिर अनि साथीहरू दमौली । अफ रोड भएर बिस्तारै आएपनि समय मिलिक्कै बितेको पत्तै भएन । साथीहरू सँग छुट्टीन मन नै थिएन तर छुट्टिनु र भेट्टिनु प्रकृतिको नियम नै हो । पुनः भेट्ने बाचाका साथ बिदा मागियो ।

घान्द्रुकदेखि काठमाडाैँ

नयाँ पुल पुगेर खाजा नास्ता गर्दै लोकल बसमा घान्द्रुकतिर लाग्याैँ । घान्द्रुक पुग्दा साँझको ५ः३० बजेको थियो । घान्द्रुकमा गुरूङ समुदायको बाहुल्यता रहेको परम्परागत शैलीका घर । गाउँको प्राकृतिक सुन्दरता । अर्गानिक खाना टिपिकल होमस्टे त्यहाँको विशेषता हो । हामी घान्द्रुकको एक होम स्टेमा बस्यौं ।  त्यो रात पनि विशेष रह्यो रमाइलो नाचगान भयो । होम स्टेकी सञ्चालक साइँली दिदीको आथित्यता पनि गजबको थियो ।
भोलिपल्ट बिहानको ब्रेक फास्ट लिएर हामी पोखराका लागि निस्क्यो प्राकूतिक सुन्दरता हावा पानी, वातावरण कला संस्कृति र प्रकृतिक सान्दर्य घान्द्रुकलाई विदाई गरियो ।

पून हिल यात्रा एकदमै रमाइलो, उत्साहपूर्ण रूपमा सुरक्षित तरिकाले सफल भयो। जति हेर्दा पनि नअघाउने चित्ताकर्षक हिमश्रृंखलाको तस्विर र त्यहाँको प्राकृतिक सौन्दर्यताले आँखालाई निकै शितलता प्रदान गर्यो । यी ठाउँहरू सम्म पुग्ने र नजिक पुगेर अभिभूत गर्ने हरेक नेपालीको सपना मात्रै होइन,साकार पार्न सक्ने विपना पनि हुनुपर्छ ।

-सागर जाेशी

Loading...