मङ्गलवार अपराह्नको करिब २ बजेको थियो । भृकुटी मण्डपसँग जोडिएको सांस्कृतिक पार्कको चौरमा करिब ३०/३५ जना युवाहरू गोलो घेरामा बसेका थिए । सोही घेरामा थिए मस्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहरा र वडा नं. १ का वडाध्यक्ष रामचन्द्र रोकाया । केही राजनीतिक दलका प्रतिनिधि तथा बुद्धजीवीहरु पनि सोही समूहमा थिए । समूहमा उपस्थित मध्ये अधिकांश भने बझाङको मस्टा गाउँपालिका स्थायी बसोबास भएर राजधानी केन्द्रित युवाहरू थिए । उच्च शिक्षा तथा पेसा व्यवसायका लागि राजधानी केन्द्रित भएका युवाहरूलाई अघिल्लो दिन नै अध्यक्ष बोहराले भृकुटी मण्डपमा भेटघाट गर्न फेसबुकमार्फत निम्तो दिएका थिए ।
माहाेल छलफल र बहसमय थियो । युवाहरूले अध्यक्ष बोहरालाई गाउँपालिकाका कामकारबाहीका सम्बन्धमा चासो मिश्रित सवाल जवाफ गरिरहेका थिए । कहिले वडाध्यक्ष रोकायाले त कहिले अध्यक्ष बोहराले युवाहरूका सवालको जवाफ दिइरहेका थिए । सुदूरको एक कुनाका बासिन्दाहरूको यो भेलामा गाउँ विकासका बारेमा छलफल भइरहेको अनुमान गर्न सकिन्थ्यो । सोहीबिचमा वडाध्यक्ष रोकायाले गाउँपालिकाको विकासका लागि के राम्रो गर्न सकिन्छ भन्दै सुझाव दिन आग्रह गरे ।
करिब २ घण्टाको अवधिमा छलफल टुङ्गियो । लगत्तै अध्यक्ष बोहरालाई उक्त भेटघाटको औचित्यका बारेमा जिज्ञासा राख्यौँ । ‘हामी सहभागितामूलक शासन पद्धतिमा मान्यता राख्छौँ । युवाहरूमा नयाँ सोच, विचार हुन्छ । आफ्नो मातृभूमिको विकासको चिन्ता हुन्छ । त्यसैले शिक्षित युवाहरूबिच अन्तर्क्रिया गरेर सुझाव तथा सल्लाह लियौँ । सँगै हामीले गरिरहेका कामकारबाहीका बारेमा जानकारी गर्ने पनि अवसर मिल्यो,’ अध्यक्ष बोहराले भने ।
आफूले निर्वाचन अघि देखिनै युवाहरूसँग भेटघाट गरेर सुझाव, सल्लाह लिने गरेको र सोही विषयलाई निरन्तरता दिएको अध्यक्ष बोहराले बताए । ‘राजधानी केन्द्रित युवाहरूले विकास निर्माण, सुशासन तथा पारदर्शिताको बारेमा चासो राख्ने हुनाले सार्वजनिक सुनुवाइ जस्तो पनि भयो । हामीले हाम्रा कामकारबाहीका बारेमा स्पष्ट पार्ने मौका पनि पायौँ,’ वडाध्यक्ष रोकायाले थपे ।
रैथाने उत्पादनलाई बजारीकरण गर्ने प्राथमिकता
गाउँपालिकामा उत्पादन हुने रैथाने कृषि उत्पादन तथा फलफूललार्ई बजारीकरण गरेर आर्थिक उन्नतिमा अग्रसर हुने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष बोहरा बताउँछन् । रैथाने बाली जौ, उवा, कोदो, फापर, सिमी, गुराँस उत्पादनमा जोड दिएको बोहराले प्रस्ट्या । ‘कृषि उत्पादनलाई जम्मा गर्न प्रत्येक वडामा सङ्कलन केन्द्र स्थापना गरिरहेको छौँ,’ उनले अगाडि भने, ‘स्थानीय तहमा उत्पादित कृषि तथा फलफूललाई गाउँपालिकाले नै बजारसम्म ढुवानी गर्ने व्यवस्था गरेका छौँ ।’
गाउँपालिकाको विभिन्न क्षेत्रलाई उत्पादनका आधारमा कृषिमा पकेट घोषणा गरेको अध्यक्ष बोहरा बताउँछन् । उत्पादनलाई बजारीकरणका लागि सदरमुकाम चैनपुरमा मस्टा कोसेली घर स्थापना गर्ने योजना रहेको उनी सुनाउँछन् ।
नमुना बस्ती बनाउने सोच
अध्यक्ष बोहराले आफ्नो कार्यकालमा समग्र गाउँपालिकालाई नै नमुना बस्तीका रूपमा विकास गर्ने सोच रहेको सुनाए । गाउँले गाउँको पहिचान गुमाउँदै गएकोमा खिन्नता व्यक्तै गर्दै बोहरा भन्छन्, ‘गाउँ जस्तो गाउँ बनाउने सोच छ । हामी कल्पना गर्छाैँ गाउँ स्वच्छ, सुन्दर, शान्त हुन्छ । गाउँ सहर जस्तो हुँदैन । तर, पछिल्लो समय गाउँले आफ्नो पहिचान गुमाउँदै गएको छ । हामी बस्न लायक गाउँ बनाउने सोचमा छौँ ।’
समाज शास्त्री अध्यक्षको नजरमा समाज
बोहराले त्रिभुवन विश्वविद्यालयबाट समाज शास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । अहिले समाजमा नकारात्मक मानसिकताको अधिकतम विकास भइरहेको बोहराको विश्लेषण छ । अहिले समग्र देशमै नकारात्मक मानसिकताले मानिसहरूलाई गाँज्दै गएको उनी बताउँछन् । उनी भन्छन्, ‘समाजमा अहिले नकारात्मक मानसिकताको विकास भइ रहेको छ । यो राष्ट्रकै समस्याका रूपमा देखा पर्दैछ । यसले समाजको हित गर्दैन । हामीले सकारात्मक सोचको विकास गर्नु पर्दछ । सोच बदल्यौँ भने सबै कुरा बदलिन्छ ।’
‘अहिले मानिसहरू सबै काम राज्यले गरोस् भन्ने चाहन्छन् । राज्यले उत्तरदायित्व बोध गर्नुपर्छ भन्ने मानिसहरूको सोच छ । तर, आफू जिम्मेवार बन्नु पर्छ भन्ने धेरैले सोच्दैनन् । अधिकार र कर्तव्य समान छन्,’ बोहराले विश्लेषण गरे ।
गाउँपालिकामा राम्रा कामको सुरुवात भइ राखेको तर रिजल्ट देखिन समय लाग्ने उनी बताउँछन् ।