शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी रूपमा सञ्चालन गर्न उपयुक्त किसिमको सिकाइ सहजीकरण प्रक्रिया आवश्यक हुन्छ । सहीढंगले कक्षाकोठा व्यवस्थापन भएको अवस्थामा मात्र सिकाइ सहजीकरण प्रक्रियालाई पनि प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ । कक्षाकोठाको व्यवस्थापनबारे चर्चा गर्नु पूर्व शैक्षणिक व्यवस्थापनको बारेमा चर्चा गर्न आवश्यक हुन्छ ।
प्रभावकारी शिक्षणको लागि आवश्यक पर्ने सम्पूर्ण साधन–स्रोत एवम् गतिविधिहरूलाई व्यवस्थित रूपले सञ्चालन गर्न गरिने तयारीलाई शैक्षणिक व्यवस्थापन भनिन्छ । शैक्षणिक व्यवस्थापन अन्तर्गत पाठ्यक्रमले निर्दिष्ट गरेको शैक्षिक उपलब्धि प्राप्त गर्नको लागि आवश्यक पर्ने शैक्षणिक क्रियाकलाप, सामग्रीको छनौट, विधि तथा प्रक्रियाहरूले बन्दोबस्त लगायत शैक्षिक, भौतिक, सामाजिक एवम् व्यवस्थापकीय पक्षहरूको समन्वयात्मक तयारी समेत पर्दछ ।
शैक्षणिक व्यवस्थापनले शिक्षण कार्यलाई निर्बाध रूपमा अगाडि बढाउन आवश्यक पर्ने सम्पूर्ण पक्षहरूको समुचित ढङ्गले प्रबन्ध मिलाउने भएकोले उपयुक्त शैक्षणिक व्यवस्थापनको अभावमा पाठ्यक्रमले तोकेको शैक्षिक उपलब्धि हासिल गर्न सम्भव हुँदैन । यति मात्र होइन शैक्षणिक व्यवस्थापनबाट सिकाइमा आइपर्ने समस्याहरूको समुचित सम्बोधन गरी तोकिएको समयमा कार्य सम्पन्न गर्न समेत बल पुग्ने हुँदा सिकाइको सन्दर्भमा शैक्षणिक व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण मानिन्छ । सिकाइ सहजीकरणको लागि कक्षाकोठा व्यवस्थापन गर्दा उल्लेखित कुराहरूमा ध्यान पुराउन आवश्यक देखिन्छ ।
कसरी गर्ने कक्षाकोठा व्यवस्थापन?
— विद्यार्थीको समूह विभाजन गर्ने
— कार्य विभाजन तालिकाको निर्माण र प्रयोग
— विद्यार्थी आचारसंहिता विद्यार्थीबाट निर्माण, पारित र सशक्त कार्यान्वयन गर्ने
— मनिटरको छनौट
— प्रार्थना समयमा विद्यार्थीको साप्ताहिक विशेष प्रस्तुति
— प्रत्येक १ महिनामा मनिटरले कक्षा शिक्षकसमक्ष मासिक प्रगति प्रतिवेदन प्रस्तुत गर्ने
— प्रत्येक महिना विद्यार्थीहरूको हाजिरी विवरण कक्षामा प्रस्तुत गर्ने
— विषय शिक्षकले प्रत्येक एकाइको अन्त्यमा एकाइ परीक्षा लिने
— विषय शिक्षकले प्रत्येक महिना पढाइएका सबै पाठबाट परीक्षा लिने र कमीकमजोरी विश्लेषण गरी पृष्ठपोषण प्रदान गर्ने
— कक्षामा आवश्यक सामग्रीको सूची तयार गर्ने
— आवश्यक शैक्षिक सामग्रीको निर्माण र प्रयोग गरी कक्षाकोठा सजाउने र कक्षाकोठालाई प्रयोगशालाको रूपमा विकास गर्ने
— डस्टविन र कुचोको व्यवस्था गर्ने
— सरसफाइको लागि पढाइलाई नोक्सान नहुने गरी समय व्यवस्थापन गर्ने
— कक्षामा विद्यार्थीको लागि गुनासो तथा सुझाव पेटिकाको व्यवस्था गर्ने र साप्ताहिक रूपमा खोल्ने
— सम्पूर्ण सामग्रीको जिम्मा कक्षालाई दिने, सामान्य नोक्सानको क्षतिपूर्ति कक्षालाई सोही सामान ल्याउने गरी जरिवाना तिराउने । विशेष अवस्थाको सुरक्षाको जिम्मा प्रशासनले लिनुपर्ने
शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी सिकारुमा अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कक्षाकोठा उपयुक्त र सान्दर्भिक हुनुपर्दछ । कक्षा वातावरण निर्माण भन्नाले प्रभावकारी शिक्षण सिकाइको लागि आवश्यक पर्ने सामग्रीहरूको रखाइ एवम् विद्यार्थीको बसाइ समेतलाई बुझ्नुपर्दछ । त्यसो त कक्षाकोठा उपयुक्त साइजको आनन्ददायी, शान्त, सफा र उपयुक्त प्रकाश एवम् हावाको व्यवस्था भएको भएमा पठन–पाठन कार्य सहजरूपमा सञ्चालित हुन सक्दछ ।
कक्षाकोठाको वातावरणले सम्पूर्ण त्यहाँका गतिविधिलाई प्रभावित पार्ने हुँदा भौतिक वातावरणको साथ–साथै शिक्षक र विद्यार्थीबीच असल मानवीय र सामाजिक सम्बन्ध सुदृढ गर्न पहल गर्नुपर्दछ । समग्रमा भन्दा शिक्षण सिकाइको लागि भौतिक, शैक्षिक, सामाजिक एवम् मनोवैज्ञानिक सम्बन्धलाई कक्षाकोठामा व्यवस्थित गर्नु नै कक्षा वातावरण निर्माण गर्नु हो ।