भट्टराईले किन दिए शिक्षक सङ्घ अध्यक्षमा उम्मेदवारी?

गत वर्ष शिक्षक वृत्तमा सर्वाधिक चर्चामा रहेका व्यक्ति हुन् रमेश बाबु भट्टराई । शिक्षकहरूको छाता सङ्गठन शिक्षक महासङ्घले उठान गर्न नसकेका शिक्षकका मुद्दालाई वृहत् बनाएपछि उनी एकाएक चर्चामा आएका थिए । उनको चर्चा यस कारण पनि चुलियो जब शिक्षक महासङ्घका पदाधिकारीले नै भट्टराईलाई शिक्षकका मुद्दा व्यक्तिगत रूपमा किन उठाएको भन्दै स्पष्टीकरण सोध्ने ‘कुचेष्टा’ गर्‍यो ।

भट्टराईले उठान गरेको विषय थियो– नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९को लागि ल्याएको बजेटमा शिक्षक कर्मचारीबिच विभेद ।
शिक्षक महासङ्घका पदाधिकारीको उक्त कदम उनीहरूकै लागि भारी पर्न गयो । सामाजिक सञ्जालमा अधिकांश शिक्षक भट्टराईको पक्षमा उभिए । शिक्षक भट्टराईको कदम ठिक भएको तर्क अधिकांश शिक्षकको थियो ।

सम्पूर्ण शिक्षक राष्ट्रसेवक हुन, शिक्षकलाई निजामती सरह सेवा सुविधा र सम्मान हुनुपर्ने भन्दै उनी न्यायका लागि सर्वोच्च अदालत पुगे । अहिले उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्चले सम्पूर्ण शिक्षकहरूलाई न्याय दिने छ भन्ने विश्वासका साथ फैसलाको प्रतीक्षा गरिरहेको भट्टराई बताउँछन् ।

नेपाल शिक्षक सङ्घ तनहुँको अध्यक्षमा किन उम्मेदवारी?
आगामी माघमा हुने नेपाल शिक्षक सङ्घ तनहुँको अधिवेशनमा भट्टराईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सङ्घको जिल्ला अध्यक्षमा भट्टराईको उम्मेदवारी रहेको छ । उम्मेदवारी घोषणासँगै उनले आफ्ना एजेन्डा सार्वजनिक गरेका छन् ।

घोषणा पत्रको पहिलो बुद्धामा– शिक्षकले उठाएको लेबि रकम शिक्षककै कल्याणकारी काममा प्रयोग हुनुपर्ने उल्लेख गरेका छन् । हालसम्म लेबीबापत उठेको रकम दुरुपयोग भएको उनको तर्क छ । ‘शिक्षकको लेबिबाट उठेको करोडौँ रकम सभा सम्मेलनमा र भोज भतेरमा खर्च छ । लेबीको रकम शिक्षककै हितको लागि प्रयोग हुनु पर्दछ । शिक्षकको नेतृत्व गर्दा म मेरै व्यक्तिगत खर्चमा सेवा गरिरहेको छु । भविष्यमा पनि आफ्नै व्यक्तिगत खर्चमा सेवा गर्ने छु’ उनले उल्लेख गरेका छन् ।

त्यस्तै, शिक्षा ऐन निर्माण गर्दा गहन अध्ययनका साथ सबै प्रकारका शिक्षकको सेवा सुविधा र स्थायित्व कायम गरी गुणस्तरीय शिक्षा अभिवृद्धिका लागि सरकारी निकायसँग बारम्बार खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सर्वोच्चमा विचाराधीन मुद्दा (शिक्षक र निजामती कर्मचारीबिच विभेद) लाई मूर्तरूप दिई निजामती सेवामा कार्यरत कर्मचारी सरह सेवा सुविधाका लागि एक थोपा रगत शरीरमा भइन्जेल लडाइँ लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै, जटिल प्रकृतिको दुर्घटना र स्वास्थ्य उपचारमा शिक्षक कल्याणकारी कोषलाई जिम्मेवार बनाउन पहल गर्ने र शिक्षक अस्पताल शिक्षक बाटै निर्माणको पहलकदमी अघि बढाउने उल्लेख गरेका छन् ।
त्यस्तै, पेसागत अभिवृद्धिका लागि  सरोकारवालसँग  स्पष्ट आफ्नो दृष्टिकोण राखी खराब प्रवृत्ति र शिक्षक हेपाइ प्रवृत्ति विरुद्ध लड्ने प्रतिबद्धता उल्लेख छ ।

 

Loading...