करिब २७ वर्षअघि गोरखाको कासीँ गाउँका याक घले (४०) सुनौला सपना बोकेर बेलायत (युके) भासिएँ । उनी त्यति बेला भर्खर १६ कटेका थिए । एसएलसीको नतिजा राम्रो नभएपछि उनी बिदेसिने मनसायमा पुगे । उसो त घलेका बुवा र बाजे पनि युकेकै पेनसेनवाल लाहुरे थिए । जस कारण पनि उनकाे रोजाइ युके बन्यो । सन् १९९४ मा घले युके पुगे । बेलायती राजपरिवारका सदस्यको सुरक्षागार्डको रूपमा घलेकाे जागिरे कर्म सुरु भयो । करिब १७ वर्ष युकेको विन्चेस्टरमा सुरक्षा गार्ड भएर घलेले काम गरे ।
बिहीबार माछापुच्छ्रे हिमालको फेदमा भेटिए तिनै बेलायती शाही परिवारका पूर्व सुरक्षाकर्मी घले । तर, अहिले उनको पेसा परिवर्तन भएको छ । उनी अहिले मर्दी हिमालको डिलबाट बगेको मर्दी खोलामा ‘घले नमुना ट्राउट माछा फर्म’को सुरक्षा गर्छन् । सुरक्षा मात्रै होइन ट्राउटलाई खुवाउने, हुर्काउने दैनिकीमा उनी सक्रिय छन् । उनी घले नमुना ट्राउट फर्मका एकल सञ्चालक हुन् ।
विन्चेस्टर छोडेर लुम्रे गाउँ
घलेले बेलायतको अति विकसित सहर विन्चेस्टर छोडेर कास्कीको उत्तर पश्चिमी गाउँ लुम्रेलाई कार्य थलो बनाएका छन् । गुरुङवस्ती ल्वाङ र घलेलविच लुम्रे गाउँ अवस्थित छ । जहाँ पुग्न पोखराबाट करिब ३० किलोमिटरको यात्रा गर्नु पर्दछ । बेलायती सुरक्षाकर्मीको पेसाबाट आफू सन्तुष्ट हुन नसकेपछि नेपालमै व्यवसाय गर्ने निधो गरेको उनले सुनाए । उनले भने, ‘बेलायतको जागिर राम्रो थियो । तर, एक जनाको कमाइले त्यहाँको जीवनशैली धान्न गाह्रो छ । निकै महँगो छ त्यो ठाउँ ।’ नेपाल बेलायतको बसाइले यतै माछा पालन गर्ने योजना बनाएको उनी सम्झिन्छन् । ‘जागीरको सिलसिलामा ६ महिना नेपाल र ६ बेलायत बसाई हुन्थ्यो । उता हुँदा कहिलेकाहीँ रोयल फेम्लिको लागि स्कटल्यान्डमा सालमण्ड फिसिङ गर्न जान्थे । सोही अनुभवले यता व्यवसाय गर्न सहज भयो’, उनले विगत कोट्याउँदै भने ।
व्यवसायमा ५ करोड बढी लगानी
सन् २०२१ मा नेपाल फर्किएर लुम्रेमा व्यवसायीक ट्राउट पालन सुरु गरेकाे लगानी ५ करोड बढी नाघेको बताउँछन् । ‘जग्गा खरिद, फर्म निर्माण तथा भुरा खरिद गरेर ५ करोड लगानी पुगिसकेको छ,’ उनले भने, ‘अझै फर्म पुरै निर्माण भइसेकेको छैन । लगानी थपिन सक्छ ।’ आफै मालिक आफै श्रमिकको रूपमा घले अहिले ट्राउट फर्ममा दैनिकी गर्छन् । उसो त माछा रेखदेखका लागि पाँच जनालाई रोजगारी पनि दिएका छन् ।
पोखरा तथा काठमाडौँमा ट्राउट खपत
घलेले ट्राउट व्यवसाय सुरु गरेको २ वर्षको अवधिमै उत्पादन दिन थालेको छ । फर्ममा हुर्काइएका माछाको खपत अहिले काठमाडौँ, पोखरा तथा लमजुङमा खपत भइरहेको घले बताउँछन् । करिब ४ हजार केजी माछा अहिले बजारमा पुर्याएको घलेले सुनाए । बजारको अभाव नभएको उनको भनाइ छ । कुनै किसिमको प्रचारप्रसार तथा विज्ञापन नगरेको पनि ग्राहकहरू खोज्दै आउने गरेको उनले सुनाए । व्यवसायले आम्दानी दिनेमा घले एकदमै आशावादी र उत्साहित छन् । उनी भन्छन्, ‘अहिले उत्पादित माछाले स्थानीय बजारको मागलाई पनि धान्ला जस्तो छैन । यता नजिकै क्यानोनिङ छ । घले गाउँ घुम्न पनि धेरै आउँछन् । बजारको माग धान्न नसकिएला की भनेर प्रचारप्रसार गरेको छैन ।’
कसरी हुर्काउने रेम्बाे ट्राउट ?
यो माछा २०४५ सालमा जापानबाट आयात गरी गोदावरी र नुवाकोट ककनीबाट व्यावसायिक रूपमा पाल्न थालिएको हो । अहिले देशका विभिन्न ठाउँमा पाल्न थालिएको छ । यो माछाको बजार भाउ निकै राम्रो रहेको छ । ट्राउट माछा बाच्न, हुर्कन र परिपक्व हुन सफा, चिसो र प्राणवायू (अक्सिजन) पर्याप्त भएको पानी हुनु पर्दछ । ट्राउट माछाको राम्रो वृद्धिको लागि १४ देखि २० डिग्री सेल्सियस तापक्रम चाहिन्छ । राम्रोसँग भुरा पार्न र भुरा निस्कनको लागि ९ देखि १४ डिग्री सेन्टिग्रेड तापक्रम चाहिन्छ ।
ट्राउट माछामा मानिसको दिमाग बढाउन अति आवश्यक पर्ने ओमेगा थ्री भन्ने तत्त्व सबैभन्दा बढी पाइन्छ । मानव शरीरका लागि अति आवश्यक १५ वटा एमिनो एसिडमध्ये १० वटा एमिनो एसिड यसमा पाइन्छ ।
काँडा कम र नरम भएका कारण ससाना बालबालिकाले, सुत्केरीले पनि खान मिल्ने, मुटु रोगीका लागि विशेष फाइदा पुग्ने हुन्छ । सेतो मासु भएकाले जुनसुकै बिरामीले पनि खान मिल्ने भएकाले पनि यसको महत्त्व अझै बढेको छ ।