बझाङ : यसपालिको प्रतिनिधिसभा निर्वाचनलाई लिएर सुदूरपश्चिम प्रदेशको दुर्गम पहाडी जिल्ला बझाङमा असाधारण चासो देखिएको छ । जिल्ला सदरमुकाम चैनपुरदेखि हिमाली भेगका बस्तीहरूमा पुग्दा चुनाव औपचारिक प्रक्रिया नभएर, जनताको भविष्यसँग जोडिएको निर्णायक क्षणका रूपमा चर्चा भइरहेको छ ।
हामीले बझाङका १२ वटै स्थानीय तह जयपृथ्वी नगरपालिका, बुङ्गल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना, छबीसपाथिभेरा, थलारा, केदारस्युँ, बित्थडचिर, दुर्गाथली, सुर्मा, साइपाल र तलकोट गाउँपालिकाका विभिन्न वडा घुमेर प्रत्येक गाउँपालिकाका ३ सय भन्दा बढी मतदातासँग संवाद गरेका छौँ ।

चुनावी माहोलः गाउँदेखि बजारसम्म
चैनपुरको मुख्य बजारमा बिहानैदेखि चिया पसलमा चुनावी बहस चलिरहेको भेटिन्छ । गाउँतिर चौतारीमा बुढापाका पुस्ता राजनीतिक इतिहास सम्झिरहेका छन् भने युवाहरू मोबाइलमा सामाजिक सञ्जालका भिडियो हेरेर बहस गरिरहेका छन् ।
घरका पर्खाल, साना पसलका सटर र सार्वजनिक स्थलमा उम्मेदवारका पोस्टर छ्यापछ्याप्ती पारिएका छन् । तर बझाङमा यसपालि सबैभन्दा धेरै चर्चा भइरहेको नाम हो, प्रकाश रसाइली स्नेही । त्यसो त, उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ऐन महर र नेपाली कम्युनिस्ट पार्टीका मिनबहादुर कुँवर पनि उत्तिकै चर्चामा छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेश सिंहले पनि आफ्नो अभियान तीव्र पारेका छन् ।
सर्वेक्षणको संकेतः एकताबद्ध कांग्रेसप्रति बलियो आधार
हामीले गरेको अनौपचारिक सर्वेक्षणअनुसार करिब ५५ देखी ६० प्रतिशत मतदाताले खुला रूपमा नेपाली कांग्रेसलाई समर्थन गर्ने बताएका छन् । जयपृथ्वी नगरपालिका–६ का ३५ वर्षीय भरत बहादुर सिंह भन्छन्,“हामी त सधैँ रूखमै भोट हाल्दै आएका हौँ । कांग्रेसले लोकतन्त्रका लागि गरेको सङ्घर्ष बिर्सन सकिँदैन ।”
हामीले बुङ्गल नगरपालिकाका विभिन्न वडामा १ सय भन्दा बढी मतदातासँग कुरा गर्यौँ । हामीले विभिन्न उमेर समूहका मतदातासँग यसपालि कसलाई मत दिनुहुन्छ ? भन्ने प्रश्न गर्यौँ । सो क्रममा ४० वर्षीय धनादेवी बोहरा भन्छिन्,“विकास ढिलो होला, तर कांग्रेसले गाउँमा विद्यालय, सडक, स्वास्थ्य चौकी ल्याएको छ । हामी पुरानै दललाई साथ दिन्छौँ ।” त्यस्तै नाम उल्लेख नगर्ने सर्तमा नेकपा एमालेका क्रियाशील सदस्य ३० वर्षीय युवा भन्छन्, यस पटक प्रत्यक्ष तर्फको मत प्रकाश रसाइलीलाई दिन्छु, समानुपातिक तर्फ भने म पार्टी लाइनै दिन्छु ।

थलारा गाउँपालिकामा पुग्दा साँझ परिसकेको थियो, पानी पँधेरोमा एक महिलाको समूह भेटियो, ती मध्ये एक महिलाले औँलाको इसारा गर्दै रसाइलीको प्रचार पोस्टर देखाइन् । त्यस दिन हामी थलारामै बास बस्यौँ । भोलि पल्ट बिहानै थलारा बाट निस्किने क्रममा खोली बजारमा धेरै मतदातासँग कुरा गर्यौ । सोही ठाउँका ७२ वर्षीय नरबहादुर सार्कीले भने,“राजनीतिमा उतारचढाव आउँछन्, तर हाम्रो आस्था परिवर्तन हुँदैन । कांग्रेस नै हाम्रो रोजाइ हो ।”
युवा पुस्तामा मिश्रित धारणा
युवापुस्तामा भने दुई धार देखिन्छ । केदारस्युँ गाउँपालिका–९ का ३० वर्षीय धनराज बोहरा भन्छन्,“हामी परिवर्तन चाहन्छौँ, तर परिवर्तन पनि अनुभवी नेतृत्वबाटै हुनुपर्छ । नेपाली काङ्ग्रेसबाट उम्मेदवार प्रकाश रसाइली स्नेहीले संसदीय अभ्यास गरिसक्नु भएको छ । यस कारण अनुभवी, निष्कलङ्क व्यक्ती उहाँ नै हो ।
मष्टा गाउँपालिकाका २८ वर्षीय लोकेश धामी भन्छन्, “यसपालि नयाँ सोच र पुरानो अनुभवबिच निकै प्रतिस्पर्धा छ । हाम्रो परिवार कांग्रेसमै छ, म पनि त्यतै जान्छु ।”

वैदेशिक रोजगारीबाट फर्किएका मतदाता
दुर्गाथली गाउँपालिका–२ का ३८ वर्षीय प्रेम तिरुवा लामो समय भारत बसेर फर्किएका हुन् । “विदेशमा बस्दा देशको अवस्था झन् बुझिन्छ । स्थिरता र अनुभव चाहिन्छ, त्यसैले यसपालि पनि कांग्रेसलाई नै साथ दिने सोच बनाएको छु,” उनले भने ।
रोजगारीको सिलसिलामा चीनमा बस्दै आएकी साइपाल गाउँपालिका–४ की २८ वर्षीय कुन्ती तामाङ बोहराले सामाजिक सञ्जाल मार्फत भनेकी छिन्,“ म नाकाबन्दीका कारण चुनावमा भोट हाल्न आउन सकिएन । तर मेरो बिचारमा नीति स्थिर हुनुपर्छ । त्यसका लागि अनुभवी दल आवश्यक छ ।”
प्रतिस्पर्धी दलहरूको अवस्था
बझाङमा नेकपा एमालेको पनि परम्परागत आधार छ । करिब २५ देखी ३० प्रतिशत मतदाता एमालेप्रति सकारात्मक देखिए । तर अन्य दलका उम्मेदवारहरूको प्रभाव सीमित देखिएको छ । कतिपय युवाले वैकल्पिक सोचको कुरा गरे पनि ठुलो सङ्ख्यामा मत सर्ने सङ्केत भने कम देखिएको छ ।
प्रकाश रसाइली स्नेहीप्रति समर्थन
कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेही प्रति समर्थकहरू निकै सक्रिय देखिए । छबीसपाथिभेरा गाउँपालिका–३ का ३५ वर्षीय सचिन बहादुर सिंह भन्छन्, “उहाँ बझाङकै छोरा हुनुहुन्छ । जिल्लाको समस्या बुझ्नुहुन्छ । हामीलाई संसदमा बोल्न सक्ने नेता चाहिन्छ ।” खप्तडछान्ना गाउँपालिका–७ की २४ वर्षीय शान्ति सिंह भन्छिन्, “हामीलाई काम गर्ने प्रतिनिधि चाहिएको हो । प्रकाश स्नेहीले अघिल्लो कार्यकालमा आवाज उठाउनुभएको थियो ।”

अनिर्णीत मतदाता
हाम्रो संवादमा करिब १० देखी १२ प्रतिशत मतदाता अझै निर्णयमा पुगेका छैनन् । तलकोट गाउँपालिकाका एक युवा भन्छन्,“अझै सोच्दै छु । अन्तिम दिनसम्म सबैको कुरा सुन्छु ।”तर विगतको अनुभव हेर्दा अनिर्णीत मत अन्ततः मुख्य दलहरूमै बाँडिने सम्भावना बढी देखिन्छ ।
समग्रमा हेर्दा, बझाङमा यसपालि चुनावी प्रतिस्पर्धा रोचक भए पनि नेपाली कांग्रेसको आधार बलियो देखिएको छ । युवापुस्तामा केही परिवर्तनको आवाज उठे पनि पुराना मतदाताको निष्ठा कायम छ । विशेष गरी प्रकाश रसाइली स्नेही प्रति कांग्रेस समर्थकहरूको उत्साह उच्च देखिएको छ ।
अन्ततः परिणाम मतपेटिकाले नै तय गर्नेछ । तर अहिलेको सर्वेक्षण र जनमतको सङ्केत हेर्दा बझाङमा कांग्रेसको पकड अझै बलियो रहेको स्पष्ट देखिन्छ । र यही आधारमा चुनावी परिणाम रोचक तर अनुमानयोग्य हुनसक्ने सङ्केत देखिएको छ ।