कास्की, २०८३ भदौ ४ गते बिहिबार — काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (केयूसोम) का विद्यार्थीहरूले सञ्चालन गरेको ‘प्रोजेक्ट रुचि’ अन्तर्गत माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसस्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय मा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका बालकक्षादेखि कक्षा ८ सम्मका प्रत्येक विद्यार्थीलाई स्कुल झोला र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो । सामग्री पाएपछि नानीबाबुहरूको अनुहारमा देखिएको उत्साहले कार्यक्रमस्थल नै रमाइलो बनेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिमा वडाध्यक्ष बैकुण्ठ प्रसाद भण्डारी र विशेष अतिथिमा विद्यालयका प्रधानाध्यापक बुद्धि बहादुर मिजार रहनुभएको थियो । प्रधानाध्यापक मिजारले काठमाडौंबाट आएका विद्यार्थीहरूलाई माल्यार्पण गरी स्वागत गर्दै उनीहरूको कार्यको प्रशंसा गरे ।
वडाध्यक्ष भण्डारीले विद्यार्थी उमेरमै समाजप्रति उत्तरदायी बन्दै यस्तो सामाजिक कार्यमा लागेकोमा टोलीको उच्च प्रशंसा गरे । उनले भने— अध्ययनकै क्रममा समुदायसँग जोडिने यस्ता प्रयासले युवा पुस्तामा सामाजिक जिम्मेवारीबोध बढाउँछ ।
विद्यार्थी नेतृत्वमा सञ्चालित परियोजना
‘प्रोजेक्ट रुचि’ केयूसोमका बीबीए दोस्रो वर्ष, दोस्रो सेमेस्टर का विद्यार्थीहरूको पहलमा सुरु भएको हो । परियोजनाको संयोजनमा विशिष्ट भट्ट, कुसुम भण्डारी, रसज्ञ महर्जन र रोजल बज्राचार्य रहेका छन् ।
“टु नर्चर द रुचि अफ एभ्री चाइल्ड” भन्ने मूल भावसहित सञ्चालित यो परियोजनाले शिक्षा र सामुदायिक सहभागिताको माध्यमबाट दिगो प्रभाव सिर्जना गर्ने लक्ष्य राखेको छ । शैक्षिक स्रोत–साधनको खाडल पुर्ने, व्यावहारिक सिकाइलाई प्रोत्साहन गर्ने र विद्यार्थीले आफ्नो रुचिको क्षेत्र पहिचान गरी अघि बढ्न सक्ने वातावरण बनाउने परियोजनाको उद्देश्य रहेको आयोजक विद्यार्थीहरूले जानकारी दिए ।
गतिविधिमार्फत विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता र व्यवस्थापकीय सीप विकास गर्ने प्रयास परियोजनाले गर्दै आएको छ । केयूसोमले विद्यार्थीलाई समाजसँग जोडिन र प्रभाव सिर्जना गर्न प्रोत्साहित गर्ने उद्देश्यले यस्ता परियोजनालाई निरन्तरता दिँदै आएको छ ।
आयोजक टोलीले व्यवसायिक क्षेत्रले पनि अनिवार्य सीएसआरको औपचारिकतामा मात्र सीमित नरही यस्ता साना तर अर्थपूर्ण पहलमा साँचो हृदयले सहयोग गर्दै समुदायसँग नजिकिनुपर्ने अपेक्षा राखेको छ ।
कार्यक्रममा न्युरल एआई, मेरा, बज्राचार्य ज्वेलर्स, गगन ज्वाना, काया स्पोर्ट्स, भक्तपुर, क्लासमेट, चैतन्य लोकसेवा, प्रिज्मा (आर्ट्स–प्रिन्ट्स–स्टेशनरी) र नाङ्ग्रा लगायतका संस्थाहरूको सहकार्य रहेको थियो ।
