गलत सङ्गत र पारिवारिक तनावले बढाउँदैछ दुर्व्यसनको जोखिम

लतबाट बाहिरिँदै महिला तथा किशोरी, खोज्दैछन् सामान्य जीवन

लाेकेश धामी, काठमाडौँ । साथीको लहैलहैमा लागेर सुरु भएको कुलतले बिनिता थापा (नाम परिवर्तन) को जीवनमा ठूलो उथलपुथल ल्यायो ।

सुरुमा गलत सङ्गतको प्रभाव सामान्य जस्तो लागे पनि विस्तारै उहाँ लागुऔषधको लतमा फस्दै जानुभयो । लत बढ्दै गएपछि परिवार, आफन्त र समाजसँगको सम्बन्धसमेत बिग्रिँदै गयो । दुर्व्यसनकै कारण उहाँले परिवार र समाजबाट अपहेलित हुनुपर्‍यो । उहाँका कारण परिवारले समेत विभिन्न समस्या झेल्नुपर्‍यो । विगत सम्झँदा उहाँलाई आफ्नो जीवनप्रति पछुतो लाग्छ । अहिले भने विनिता विगतलाई छाडेर सामान्य जीवनमा फर्किन चाहनुहुन्छ ।

‘‘गलत सङ्गतले गर्दा सुरुमा के भइरहेको छ भन्ने नै बुझिन । विस्तारै लत बस्दै गयो । त्यसपछि परिवार र समाजबाट टाढिँदै गएँ । अहिले भने त्यो जीवनबाट बाहिर निस्केर पहिलेजस्तै सामान्य जीवन बाँच्न चाहन्छु’’, विनिताले भन्नुभयो ।

विनिताको जस्तै कथा गीता तामाङ (नाम परिवर्तन) को पनि छ । परिवारभित्रको असमझदारी र बढ्दो मानसिक तनाबले उहाँलाई विस्तारै मदिराको लततर्फ धकेल्यो । सासुससुरासँगको सम्बन्धमा आएको समस्याले उहाँ तनाबमा रहने गर्नुहुन्थ्यो । तनाव कम गर्ने बहानामा सुरु भएको मदिरा सेवनपछि उहाँको दैनिकीको हिस्सा बन्दै गयो ।

समयसँगै मदिराको लत बढ्दै गयो । आफ्नो नियन्त्रणभन्दा बाहिर जान थालेपछि परिवारले उहाँलाई पुनःस्थापना केन्द्रमा ल्यायो । अहिले उहाँ केन्द्रमै रहेर पुरानो बानीबाट बाहिर निस्कने प्रयास गरिरहनुभएको छ ।

‘‘परिवारमा समस्या थियो । सासुससुरासँग कुरा मिल्दैनथ्यो । तनावमा हुँदा मदिरा सेवन गर्न थालेँ । पछि त्यही बानी लतमा परिणत भयो । अहिले यहाँ बसेर आफूलाई परिवर्तन गर्ने प्रयास गरिरहेकी छु’’, गीताले भन्नुभयो ।

उहाँमा विगतको तुलनामा सुधार देखिन थालेको छ । नियमित परामर्श, अनुशासित दैनिकी र केन्द्रको वातावरणले उहाँलाई नयाँ जीवनप्रति आशावादी बनाएको छ । उहाँ अब विगतको समस्या बिर्सिएर परिवारसँग पुनः सहज सम्बन्ध कायम गर्दै सामान्य जीवन बिताउन चाहनुहुन्छ ।

विनिता र गीता प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । ललितपुरको महालक्ष्मी नगरपालिका–९ लामाटारस्थित ग्रेस फाउण्डेसन महिला पुनस्र्थापना केन्द्रमा अहिले उहाँहरूजस्तै ११७ महिला तथा किशोरी पुनःस्थापनाको प्रयासमा हुनुहुन्छ । तीमध्ये १३ देखि १५ वर्ष उमेर समूहका किशोरीको सङ्ख्या उल्लेख्य रहेको केन्द्रले जनाएको छ । कसैलाई साथीको गलत सङ्गतले दुर्व्यसनतर्फ धकेलेको छ भने कसैको जीवनमा पारिवारिक तनाव, सामाजिक परिवेश वा अन्य परिस्थितिले त्यसको आधार तयार गरेको छ । तर, उनीहरूको साझा चाहना भने एउटै छ, विगतको लतबाट मुक्त भएर सामान्य जीवनमा फर्किनु ।

केन्द्रमा रहेका महिला तथा किशोरीको पुनःस्थापनाका लागि पठनपाठन, योग, खेलकुद तथा विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन हुँदै आएका छन् । विगतमा आफैँ दुर्व्यसन वा अन्य समस्याबाट गुज्रिएर पुनःस्थापित भएका केहीले अहिले केन्द्रमा रहेका अन्यलाई आफ्ना अनुभव सुनाउने र हौसला दिने गरेका छन् । केन्द्रका कार्यक्रम संयोजक जुनराज भण्डारीका अनुसार हालसम्म करिब १० हजार महिलाले केन्द्रबाट सेवा लिइसकेका छन् । उहाँ विगत नौ वर्षदेखि संस्थासँग आबद्ध हुनुहुन्छ ।

‘‘यहाँ आउने धेरैजसो महिला विभिन्न पारिवारिक, सामाजिक तथा दुर्व्यसनसम्बन्धी समस्याबाट प्रभावित हुनुहुन्छ । कतिपय मदिराको लतमा परेर पारिवारिक सम्बन्ध बिग्रिएका हुन्छन् भने कतिपय लागुऔषधको दुव्र्यसनका कारण पुनःस्थापनाका लागि आउनुहुन्छ’’, राजभण्डारीले भन्नुभयो ।

उहाँका अनुसार पुनःस्थापनाको प्रक्रियामा रहेका व्यक्तिलाई परिवार र समाजको साथ सबैभन्दा महत्त्वपूर्ण हुन्छ । तर, यस्ता केन्द्र सञ्चालनका लागि आवश्यक स्रोतको अभाव भने चुनौतीका रूपमा रहेको उहाँ बताउनुहुन्छ । ‘‘संस्थाले आफ्नो स्रोत र क्षमताले भ्याएसम्म सहयोग गरिरहेको छ । तर, यस्ता केन्द्र सञ्चालन गर्न आर्थिक स्रोतको आवश्यकता धेरै हुन्छ । सरकारी निकायबाट पनि आवश्यक सहयोग हुन सके अझ प्रभावकारी रूपमा काम गर्न सकिन्थ्यो’’, संयोजक राजभण्डारीले भन्नुभयो ।

ग्रेस फाउण्डेसनका सञ्चालक विगेन्स नेम्वाङका अनुसार केन्द्रमा रहेका महिला तथा किशोरीलाई नियमित रूपमा मनोपरामर्श तथा आवश्यक सहयोग प्रदान गरिँदै आएको छ । दुव्र्यसनबाट प्रभावितलाई उपचार गरेर मात्र नभइ मानसिकरूपमा तयार पार्दै अध्ययन तथा सामाजिक जीवनमा पुनःस्थापित गराउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

‘‘केन्द्रमा रहेका किशोरी तथा महिलालाई हामीले नियमित रूपमा परामर्श दिँदै आएका छौँ । दुव्र्यसनबाट बाहिर निस्कन उपचारसँगै निरन्तर परामर्श र सकारात्मक वातावरण आवश्यक हुन्छ । त्यसैअनुसार केन्द्रको वातावरण तयार गर्ने प्रयास गरेका छौँ’’, नेम्वाङले भन्नुभयो ।

उहाँका अनुसार केन्द्रमा रहेर केही किशोरीले आफ्नो अध्ययनलाई समेत निरन्तरता दिइरहेका छन् । केन्द्रमै बसेर कक्षा ८ देखि १२ सम्मका साथै स्नातक तहसम्मको अध्ययन गर्ने किशोरीसमेत रहेको उहाँले जानकारी दिनुभयो । ‘‘यहाँ आएपछि पढाइ नै रोक्नुपर्छ भन्ने होइन । केन्द्रमै बसेर केही किशोरीले कक्षा ८ देखि १२ सम्मको अध्ययन गरिरहेका छन् । केहीले स्नातक तहसम्मको अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन् । उपचारसँगै उनीहरूको भविष्य पनि निर्माण गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो’’, नेम्वाङले भन्नुभयो ।

केन्द्रबाट उपचार तथा पुनःस्थापनापछि घर फर्किएकामध्ये करिब ३० प्रतिशत पूर्णरूपमा स्वस्थ भएको आफ्नो अनुभव रहेको उहाँले बताउनुभयो । पुनस्र्थापनापछि दुर्व्यसनबाट मुक्त भएका केही किशोरी पुनः केन्द्रमै आएर अन्यलाई सहयोग गरिरहेका छन् ।

‘‘केन्द्रबाट उपचारपछि घर फर्किएकामध्ये धेरै व्यक्ति पूर्णरूपमा स्वस्थ भएर सामान्य जीवनमा फर्किनुभएको हाम्रो अनुभव छ । अझ खुसीको कुरा त के छ भने यहाँबाट सुधार भएर गएका केही किशोरी अहिले फेरि यहीँ आएर सेवा गरिरहनुभएको छ । उहाँका अनुसार केन्द्रमा ललितपुर तथा काठमाडौँ आसपास लगायतका क्षेत्रबाट दुर्व्यसनमा फसेका महिला तथा किशोरी आउने गरेका छन् ।

‘‘देशका धेरै ठाउँबाट दुर्व्यसनमा फसेका महिला तथा किशोरी यहाँ आउने गर्नुहुन्छ । हाम्रो पहुँच काठमाडौँ उपत्यकामा मात्र सीमित छैन । देशका विभिन्न ठाउँबाट परिवारले आफ्ना छोरी तथा आफन्तलाई लिएर आउनुहुन्छ’’, उहाँले भन्नुभयो ।

केन्द्रमा नेपालबाट मात्र नभइ विदेशमा रहेका नेपाली परिवारबाट समेत उपचार तथा पुनःस्थापनाका लागि किशोरी ल्याउने गरिएको छ । विदेशमा बसिरहनुभएका नेपाली पनि छोरीलाई लिएर यहाँ आउनुहुन्छ । विदेशमा बसेर सबै सुविधा हुँदाहुँदै पनि छोरी दुर्व्यसनमा फसेपछि कसरी सहयोग गर्ने भन्ने समस्या उहाँहरूमा हुने गरेको देखिन्छ । दुर्व्यसनको समस्या देशका विभिन्न ठाउँमा रहे पनि अझै धेरै प्रभावितले समयमै उचित परामर्श र उपचार पाउन नसकेको उहाँको अनुभव छ । धेरै ठाउँमा सही परामर्श र उपचार नपाएर दुर्व्यसनमा फसेका समस्यामै रहनुभएको छ । परिवारले समस्या थाहा पाए पनि कहाँ लैजाने, कसरी उपचार गर्ने र कसरी पुनःस्थापना गर्ने भन्ने जानकारी छैन ।

दुर्व्यसनबाट प्रभावितलाई समाजबाट अलग गर्नेभन्दा उनीहरूको अवस्था बुझेर परिवार र समाजले सकारात्मक वातावरण दिनुपर्नेमा उहाँले जोड दिनुभयो । दुर्व्यसनमा फसेको व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । उहाँहरूलाई समस्याका रूपमा मात्र हेर्नुभन्दा सुधार र पुनःस्थापनाको अवसर दिनुपर्छ । उचित परामर्श, उपचार र परिवारको साथ पाउने हो भने उहाँहरू फेरि सामान्य जीवनमा फर्कन सक्नुहुन्छ भन्ने विश्वास गरिएको छ ।

वरिष्ठ मनोपरामर्शदाता निर्मला बस्नेतका अनुसार पछिल्लो समय बालबालिका तथा किशोरकिशोरीमा दुर्व्यसनीको समस्या बढ्नुमा देखासिकी, सामाजिक सञ्जालको दुरुपयोग, गलत साथीको सङ्गत र परिवारले पर्याप्त समय दिन नसक्नेजस्ता कारण प्रमुख छन् ।

‘‘देखासिकी गर्ने प्रवृत्ति बढेको छ । सामाजिक सञ्जालको दुरुपयोग र गलत साथीको सङ्गतले पनि किशोरकिशोरीलाई गलत बाटोतर्फ धकेलिरहेको छ । परिवारले पर्याप्त समय दिन नसक्दा उनीहरूको व्यवहारमा आएको परिवर्तन समयमै पहिचान हुन नसक्ने अवस्था छ’’, बस्नेतले भन्नुभयो ।

उहाँका अनुसार बालबालिकालाई हप्काउने वा नियन्त्रण गर्नेभन्दा उनीहरूसँग खुलेर संवाद गर्ने र परिवारमै आफ्ना समस्या राख्न सक्ने वातावरण बनाउन आवश्यक छ । सामाजिक सञ्जालको प्रयोगलाई पूर्ण रूपमा रोक्नुभन्दा यसको सही प्रयोगबारे अभिभावकले सचेत गराउनुपर्ने उहाँको भनाइ छ ।

‘‘बालबालिकालाई समय दिने, उनीहरूको कुरा सुन्ने र साथीको जस्तो व्यवहार गर्ने हो भने धेरै समस्या सुरुमै पहिचान गर्न सकिन्छ । दुव्र्यसनमा फसेकालाई दोषीका रूपमा हेर्नुभन्दा समस्या बुझेर आवश्यक परामर्श, उपचार र पारिवारिक सहयोग दिनुपर्छ’’, उहाँले भन्नुभयो । बस्नेतले दुर्व्यसनबाट मुक्त हुन शारीरिक उपचारसँगै मानसिकरूपमा बलियो बन्न आवश्यक रहेको बताउनुभयो । पुनःस्थापनापछि पनि परिवार र समाजले सकारात्मक व्यवहार गर्दै निरन्तर साथ दिन सके प्रभावित व्यक्ति सामान्य जीवनमा फर्कन सहज हुने उहाँको भनाइ छ ।

राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारीका अनुसार दुर्व्यसनबाट प्रभावित महिला तथा किशोरीको पुनस्र्थापनाका लागि राज्यका निकायको भूमिका महत्त्वपूर्ण हुन्छ । उहाँले यस्ता व्यक्तिलाई उपचार र पुनःस्थापनाको अवसरसँगै परिवार तथा समाजमा पुनःस्थापित हुन आवश्यक वातावरण निर्माण गर्न सरकारी निकायले पनि पहल गर्नुपर्ने बताउनुभयो ।

‘‘दुर्व्यसनबाट प्रभावित महिला तथा किशोरीको पुनःस्थापनाका लागि सङ्घसंस्थाको प्रयास मात्र पर्याप्त हुँदैन । राज्यका सम्बन्धित निकायले पनि आफ्नो जिम्मेवारीअनुसार सहयोग गर्नुपर्छ । महिला आयोग तथा अन्य सरकारी निकायबाट गर्न सकिने सहयोगका लागि आवश्यक पहल गर्छौँ’’, उपसचिव अधिकारीले भन्नुभयो ।

किशोर-किशोरीलाई दुर्व्यसनबाट जोगाउन तथा दुव्र्यसनमा फसेकालाई पुनःस्थापनामा सहयोग पुर्याउन विटीआई व्यावसायिक ग्रुपअन्तर्गतको कल्प फाउण्डेसनले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

‘‘दुव्र्यसनबाट प्रभावितलाई समाजबाट अलग गर्ने होइन, उनीहरूलाई पुनः सामान्य जीवनमा फर्किन सक्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि हौसला, साथ र निरन्तर सहयोग आवश्यक छ’’, रायमाझीले भन्नुभयो । वीटीआई ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिलीपराज बरालले दुर्व्यसनबाट मुक्त हुन प्रभावित व्यक्ति स्वयं मानसिक रूपमा बलियो भएर त्यसबाट बाहिर निस्कने प्रयास गर्नुपर्ने बताउनुभयो । –रासस

Loading...