चिकित्सा शिक्षा, अनुसन्धान र प्राज्ञिक नेतृत्वमा लामो अनुभव बटुलेका डा. डबल बहादुर धामी (हिमाल) सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा नियुक्त भएका छन् । विश्वविद्यालयले खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत उनलाई यो जिम्मेवारी सुम्पिएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) र निमित्त उपकुलपतिजस्ता शीर्ष प्राज्ञिक जिम्मेवारी सम्हालिसकेका डा. धामीको नियुक्तिलाई सुदूरपश्चिमको स्वास्थ्य शिक्षामा अनुभवी नेतृत्वको आगमनका रूपमा हेरिएको छ ।
औषधिविज्ञानका विज्ञ
डा. धामी क्लिनिकल फार्माकोलोजी एन्ड थेराप्युटिक्सका विज्ञ हुन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बीडीएस गरेपछि उनले काठमाडौँ विश्वविद्यालयको प्रायोजनमा नेपालगन्ज मेडिकल कलेजबाट सोही विषयमा एमडी गरे ।
एमडीपछि उनले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सहायक प्राध्यापकका रूपमा अध्यापन गरेका थिए । कक्षाकोठामा भावी चिकित्सकलाई औषधिविज्ञान पढाउँदै उनले चिकित्सा शिक्षाको शिक्षण पक्षमा बलियो आधार बनाए ।
औषधिको तर्कसंगत प्रयोग, औषधि सुरक्षा, एन्टिमाइक्रोबियल प्रतिरोध, चिकित्सा शिक्षा र स्वास्थ्य अनुसन्धान उनका मुख्य प्राज्ञिक रुचिका क्षेत्र हुन् । एन्टिमाइक्रोबियल प्रतिरोध र औषधिको अनुचित प्रयोग अहिले विश्वभरकै जनस्वास्थ्य चुनौती बनेका बेला यी विषयमा उनको विशेषज्ञता संकायका लागि महत्त्वपूर्ण मानिएको छ ।
कर्णालीमा प्राज्ञिक नेतृत्वको अनुभव
नेपालगन्जपछि उनी सहप्राध्यापकका रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पुगे । दुर्गम भूगोलमा रहेको प्रतिष्ठानमा अध्यापनसँगै उनले प्रशासनिक जिम्मेवारी पनि सम्हालेकाे अनुभव उनीसंंग छ ।
पछि उनी प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) नियुक्त भए । रेक्टरका रूपमा उनले शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर र अनुसन्धान प्रवर्द्धनको नेतृत्व गरे । विभिन्न अवधिमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेर उनले संस्थाको समग्र नेतृत्वको अनुभव पनि हासिल गरेका थिए ।
रेक्टर हुँदा उनले संकाय सदस्य र विभागीय प्रमुखहरूसँग मिलेर अध्यापन र अनुसन्धानको गुणस्तर बढाउने, नवीन शिक्षण विधि प्रोत्साहन गर्ने र अनुसन्धानका लागि स्रोत तथा पूर्वाधार जुटाउने योजना अघि सारेका थिए ।
‘जुम्लामा उत्पादन भएको जनशक्तिलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन मेरो सक्रियता रहनेछ,’ उनले त्यति बेला भनेका थिए ।
चिकित्सा विज्ञानसँगै डा. धामीले सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) पनि गरेका छन् । चिकित्सा विशेषज्ञता र प्रशासनिक अध्ययनको यो संयोजनले उनलाई प्राज्ञिक संस्थाको नीति निर्माण, सुशासन र व्यवस्थापनमा फरक दृष्टि दिएको छ ।
अध्यापन, अनुसन्धान, संस्थागत नेतृत्व र प्रशासन, चारै पक्षको अनुभव भएकाले नवगठित संरचनामा उनको भूमिका प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
डडेल्धुरालाई स्वास्थ्य शिक्षाको केन्द्र बनाउने अवसर
भौगोलिक विकटता र दक्ष स्वास्थ्य जनशक्तिको असमान वितरणका कारण सुदूरपश्चिमका दुर्गम जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा अझै चुनौतीपूर्ण छ । यस्तो सन्दर्भमा स्वास्थ्य विज्ञान संकायलाई दक्ष जनशक्ति उत्पादन, अनुसन्धान र स्वास्थ्य सेवा सुधारको क्षेत्रीय केन्द्र बनाउन सकिने सम्भावना छ ।
यसका लागि डडेल्धुरा अस्पतालसँगको सहकार्य सुदृढ गर्ने, शैक्षिक कार्यक्रमको गुणस्तर सुधार गर्ने, दक्ष शिक्षक र आधुनिक शैक्षिक पूर्वाधार विकास गर्ने, र स्थानीय स्वास्थ्य समस्यामा आधारित अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । विश्वविद्यालय, सरकार, अस्पताल तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीच सहकार्य विस्तार गर्न सके संकायको विकासले थप गति लिने विश्वास गरिएको छ ।
कर्णालीमा दुर्गमको प्रतिष्ठानलाई चिकित्सा शिक्षाको केन्द्र बनाउने प्रयास गरिसकेका डा. धामीको त्यही अनुभव अब डडेल्धुरामा काम लाग्ने अपेक्षा छ ।
सङ्घर्षबाट सुरु भएको यात्रा
डा. धामीको प्राज्ञिक यात्राको जग भने बझाङको छबिसपाथिभरा–५ थलाराको एक कृषक परिवारमा बसेको हो । वि.सं. २०४० मा जन्मिएका उनले गाउँकै थलारा प्राथमिक विद्यालयबाट पढाइ सुरु गरे ।
कक्षा पाँचपछि पढाइ रोकिने अवस्था आएको थियो । तर प्रधानाध्यापक भवराज जोशीले परिवारलाई ‘जेहनदार विद्यार्थी छ, उसले राम्रो गर्छ’ भनेर सम्झाएपछि उनले चौघानपाटाको शान्ति माविमा पढाइ जारी राखे । वि.सं. २०५५ को एसएलसीमा उनी बझाङ जिल्लाकै सर्वोत्कृष्ट विद्यार्थी बने ।
उच्च शिक्षाका लागि परिवारले आफ्नो भागको खेत बेचेर सहयोग गर्यो । काठमाडौँको अमृत साइन्स कलेजमा पढ्दा अजय तुलाधर छात्रवृत्ति पाएपछि उनको लक्ष्य शिक्षकबाट चिकित्सकतर्फ मोडियो ।
‘अब शिक्षक होइन, डाक्टर बन्नुपर्छ भन्ने लाग्यो । शैक्षिक वृत्ति नै टर्निङ पोइन्ट बन्यो,’ उनी सम्झिन्छन् । बझाङको उत्तरपश्चिमी भेगमा रहेको ज्याबनी समुदायबाट चिकित्सा क्षेत्रको यो उचाइमा पुग्ने उनी पहिलो व्यक्ति हुन् ।
गाउँको सामान्य विद्यालयबाट सुरु भएको डा. धामीको यात्रा जिल्ला टप, छात्रवृत्ति, एमडी, अध्यापन, रेक्टर र निमित्त उपकुलपति हुँदै अब डीनसम्म आइपुगेको छ । प्रत्येक चरणमा उनले पाएको अवसरलाई अर्को जिम्मेवारीको तयारीमा बदले ।
सङ्घर्षमा हुर्केर, समर्पणले अघि बढेर र अनुभवले खारिएर स्वास्थ्य शिक्षाको नेतृत्वमा पुगेका डा. धामीसँग अब सुदूरपश्चिमको स्वास्थ्य शिक्षालाई नयाँ उचाइमा पुर्याउने अवसर र जिम्मेवारी दुवै छ ।
विश्वविद्यालयका अनुसार व्यवस्थापन संकायको डीनमा सहप्रा. डा. शिवप्रसाद सापकोटा, शिक्षाशास्त्रमा सहप्रा. डा. नाथुराम चौधरी, विज्ञान तथा प्रविधिमा सहप्रा. डा. प्रेमसिंह साउद र मानविकी तथा सामाजिकशास्त्रमा प्रा. डा. राजेन्द्रप्रसाद भट्ट नियुक्त भएका छन् । त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा सहप्रा. डा. महेन्द्रराज जोशी, भाषा, साहित्य तथा संस्कृति केन्द्रको निर्देशकमा प्रा. डा. हरिश्चन्द्र भट्ट र केन्द्रीय क्याम्पसको प्रिन्सिपलमा डा. दीपकचन्द्र भट्ट नियुक्त भएका छन् ।