दिलीपराज बरालले सम्हाले विटिआई ग्रुपको सीईओको जिम्मेवारी

२३ वर्षको बैंकिङ अनुभव, व्यवस्थापन र संस्थागत विकासमा जोड दिने अपेक्षा

काठमाडौँ । विटिआई ग्रुप अफ भेन्चर्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिलीपराज बराललाई दिएको छ। २३ वर्षदेखि बैंकिङ क्षेत्रमा काम गरेका ४८ वर्षीय बराल महोत्तरी जिल्लाका हुन् ।

ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले बराललाई स्वागत गर्दै नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरे । बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक र ज्योति विकास बैंकमा काम गरेको अनुभव हासिल गरेका छन् ।

व्यवस्थापन, कानुन र राजनीतिशास्त्रको ज्ञान भएका उनी व्यावसायिक क्षेत्रमा स्पष्ट निर्णय र नतिजामुखी कामका लागि परिचित छन् ।

विटिआई ग्रुपअन्तर्गत विभिन्न नाममा सञ्चालित १० वटा संस्था सेवा, उद्योग, व्यापार, खेलकुद, सञ्चारमाध्यम, स्वास्थ्य, शिक्षा, लागुऔषध नियन्त्रण तथा सामाजिक क्षेत्रमा सक्रिय छन् ।

यी संस्थाले २७ वर्षदेखि सम्बन्धित क्षेत्रमा काम गर्दै आएका छन् ।

बराल अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी पुस्तकका लेखकसमेत हुन् । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका प्रमुख प्रशिक्षकका रूपमा पनि उनले काम गर्दै आएका छन् ।

अध्यक्ष रायमाझीले नयाँ जिम्मेवारीसँगै ग्रुपको व्यवस्थापन, बजार विस्तार र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने चुनौती बरालसामु रहेको सो अवसरमा बताए ।

Loading...