पोखरा, जेठ ८ । गण्डक क्षेत्रको मौलिक लोक–संस्कृति र सुगन्ध बोकेको नयाँ लोकदोहोरी गीत ‘मेरोनै भन्देऊका सबैलाई’ आज औपचारिक रूपमा सार्वजनिक भएको छ । गायिका तथा मोडल रविना भण्डारीको आधिकारिक युट्युब च्यानल मार्फत यो गीत बजारमा ल्याइएको हो ।
रविना भण्डारीकै प्रस्तुति रहेको यस गीतमा शब्द सिर्जना शिक्षक तथा सर्जक बुद्धि बहादुर मिजारको रहेको छ भने संगीत युवा प्रतिभा रितेश घतानेले भरेका छन् । गीतमा रितेश घताने र रविना भण्डारीकै सुमधुर स्वर सुन्न सकिन्छ । गण्डक क्षेत्रमा प्रचलित मौलिक भाकामा आधारित यो गीतले गण्डक क्षेत्रको लोक संगीतप्रेमीहरूलाई विशेष आकर्षित गर्ने देखिन्छ ।
गीत सार्वजनिक भएसँगै यसका सर्जक बुद्धि बहादुर मिजारले गायक रितेश घतानेको विगतको संघर्ष र विलक्षण प्रतिभाको स्मरण गरेका छन् । मिजारका अनुसार रितेशको पारिवारिक आर्थिक अवस्था निकै नाजुक थियो, जसका कारण उनले लामो समय पढाइ समेत छोड्नुपरेको थियो ।
म्याग्दीमा अध्यापन गराउने क्रममा शिक्षक मिजारले रितेशको प्रतिभा र अवस्थालाई बुझेर उनलाई आफ्नै कोठामा राखेका थिए । खाने, बस्ने र पढ्ने सम्पूर्ण व्यवस्था मिलाइदिएपछि रितेशले उत्कृष्ट मिहिनेत गरे । फलस्वरूप, उनले ३.७ जिपिए ल्याएर विद्यालय नै टप गर्न सफल भएका थिए ।
रितेश बहुमुखी प्रतिभाका धनी हुन् । उनी पढाइ र गायनमा मात्र अग्रसर थिएनन्, खेलकुद क्षेत्रमा पनि उत्तिकै अब्बल थिए । उनले ज्याभलिङ्ग थ्रोमा विद्यालय र क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितासम्मको यात्रा तय गरिसकेका छन् । हाल उनी आफ्नो कलायात्रालाई अगाडि बढाउन काठमाडौँमा बसेर संघर्ष गरिरहेका छन् ।
गीतका गीतकार बुद्धि बहादुर मिजार लामो समयदेखि शिक्षण पेसामा आबद्ध छन् । मिजार साहित्य र संगीत सिर्जनामा पनि उत्तिकै सक्रिय छन् ।
उनले यसअघि पनि नेपाली लोक संगीत क्षेत्रमा ‘स्वर्गसरी सुन्दर गाउँ’, ‘सिरिमा सिरि’, ‘कोरोनाले के गर्यो गर्यो’ र ‘सिङ्गला गाउँको ठिटो’ लगायतका गीतहरूमा उत्कृष्ट शब्द सिर्जना गरिसकेका छन् ।
उनी हाल कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित पृथ्वीनारायण माध्यमिक विद्यालय, धम्पुसमा प्रधानाध्यापकको रूपमा कार्यरत छन् । आफ्ना विद्यार्थीहरूलाई डोर्याउने र उनीहरूको प्रतिभालाई प्रस्फुटन गराउने उनको स्वभाव यस गीतको निर्माणले फेरि एकपटक प्रमाणित गरेको छ ।
उत्कृष्ट भिडियो र सशक्त अभिनय
गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा रन्जित पौडेल, सन्तोष दवाडी, रविना भण्डारी र नितु परियार को जीवन्त अभिनय र नृत्य देख्न सकिन्छ । मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा तयार भएको यस भिडियोलाई बुद्ध थापाले छायांकन र अमृत चापागाईँले सम्पादन गरेका हुन् । कृष्ण केसीको संगीत संयोजन र खडक बजुरालीको मिक्सिङ/मास्टरिङ रहेको यो गीत ‘मालाश्री स्टुडियो’मा रेकर्ड गरिएको हो ।