पुनर्स्थापनामा रहेका किशोरीलाई कल्प फाउन्डेसनद्वारा मनोपरामर्श

सामाजिक सेवामा कल्प फाउन्डेसनको लोभलाग्दो सक्रियता

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–९ लामाटारस्थित ग्रेस फाउन्डेसन महिला पुनस्र्थापना केन्द्रमा रहेका महिला तथा किशोरीलाई कल्प फाउन्डेसनले मनोपरामर्श दिएको छ ।

वीटीआई व्यावसायिक ग्रुपअन्तर्गतको कल्प फाउन्डेसनले केन्द्रमा रहेका दुर्व्यसनबाट प्रभावित महिला तथा किशोरीलाई मानसिकरूपमा बलियो बनाउन तथा पुनस्र्थापनाको प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले मनोपरामर्श कार्यक्रम आयोजना गरेको हो ।

केन्द्रमा हाल ११७ जना महिला तथा किशोरी छन् । उनीहरूको दैनिकी पठनपाठन, योग, खेलकुदलगायत विभिन्न सिर्जनात्मक गतिविधिमा बित्ने गरेको केन्द्रले जनाएको छ । केन्द्रमा विशेषगरी १३ देखि १५ वर्ष उमेर समूहका किशोरीको संख्या उल्लेख्य छ ।

ग्रेस फाउन्डेसन महिला पुनस्र्थापना केन्द्रकी कार्यक्रम संयोजक जुनराज भण्डारीका अनुसार केन्द्रबाट अहिलेसम्म करिब १० हजार महिलाले सेवा लिइसकेका छन् । उनी विगत नौ वर्षदेखि संस्थासँग आबद्ध छिन् ।

उनका अनुसार केन्द्रमा आउने अधिकांश महिला तथा किशोरी विभिन्न किसिमका पारिवारिक, सामाजिक तथा दुर्व्यसनसम्बन्धी समस्याबाट प्रभावित हुने गरेका छन् ।

‘यहाँ आउने धेरैजसो महिलाको बानीव्यवहारमा समस्या देखिएको हुन्छ । कतिपय मदिराको लतमा परेर पारिवारिक सम्बन्ध बिग्रिएका हुन्छन् भने कतिपय लागुऔषधको दुर्व्यसनबाट प्रभावित भएर पुनस्र्थापनाका लागि आउनुहुन्छ,’ भण्डारीले भनिन् ।

उनले पुनस्र्थापना केन्द्रले आफ्नो क्षमताअनुसार महिला तथा किशोरीलाई आवश्यक सहयोग गर्दै आएको भए पनि सरकारी निकायबाट पर्याप्त आर्थिक सहयोग प्राप्त हुन नसकेको बताइन् ।

‘संस्थाले आफ्नो स्रोत र क्षमताले भ्याएसम्म सहयोग गरिरहेको छ । तर, यस्ता केन्द्र सञ्चालन गर्न आर्थिक स्रोतको आवश्यकता धेरै हुन्छ । सरकारी निकायबाट पनि आवश्यक सहयोग हुन सके अझ प्रभावकारीरूपमा काम गर्न सकिन्थ्यो,’ उनले भनिन् ।

केन्द्रमा रहेका किशोरीमध्ये केहीले हाल अध्ययनसमेत गरिरहेका छन् । विगतमा आफैं विभिन्न समस्याबाट गुज्रिएर पुनस्र्थापित भएका उनीहरूले अहिले केन्द्रमा रहेका अन्य महिला तथा किशोरीलाई आफ्ना अनुभव सुनाउने र हौसला दिने पनि गरेका छन् ।

भण्डारीका अनुसार आफूले भोगेका कठिनाइ र त्यसबाट बाहिर निस्कन गरेका प्रयासबारे उनीहरूले अरूलाई सुनाउँदा केन्द्रमा रहेका किशोरीलाई पनि आत्मविश्वास बढाउन सहयोग पुग्ने गरेको छ ।

कार्यक्रममा वरिष्ठ मनोपरामर्शदाता निर्मला बस्नेतले केन्द्रमा रहेका महिला तथा किशोरीसँग अन्तरक्रिया गर्दै दुर्व्यसनबाट बाहिर निस्कन मानसिक स्वास्थ्यको भूमिका महत्वपूर्ण हुने बताइन् ।

‘दुव्र्यसनबाट बाहिर निस्कन शारीरिक उपचारसँगै मानसिकरूपमा बलियो बन्नु पनि आवश्यक छ । त्यसका लागि नियमित मनोपरामर्श र परिवार तथा समाजको सहयोग महत्वपूर्ण हुन्छ,’ उनले भनिन् ।

बस्नेतले आफू केन्द्रमा नियमितरूपमा आएर मनोपरामर्श दिने प्रतिबद्धता जनाइन् । उनका अनुसार दुव्र्यसनबाट प्रभावित व्यक्तिलाई दोषीका रूपमा हेर्नुभन्दा उनीहरूको समस्या बुझेर पुनस्र्थापनाका लागि सहयोग गर्नु आवश्यक छ ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी उपसचिव सीता अधिकारीले लागुऔषध तथा अन्य दुव्र्यसनबाट प्रभावित महिला तथा किशोरीको पुनस्र्थापनाका लागि सरकारी निकायले पनि प्रभावकारी भूमिका खेल्नुपर्ने बताइन् ।

उनले महिला आयोग तथा अन्य सरकारी निकायबाट गर्न सकिने सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । ‘दुर्व्यसनबाट प्रभावित महिला तथा किशोरीको पुनस्र्थापनाका लागि गैरसरकारी संस्थाले मात्र होइन, राज्यका निकायले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । महिला आयोगबाट गर्न सकिने सहयोगका लागि आवश्यक पहल गर्छौं,’ अधिकारीले भनिन् ।

वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले दुर्व्यसनबाट प्रभावित महिला तथा किशोरीलाई पुनस्र्थापनाका क्रममा हौसला र सहयोग आवश्यक हुने बताए । उनले यस्ता व्यक्तिलाई आत्मविश्वास दिलाउने तथा पुनस्र्थापनामा सहयोग पुग्ने गरी आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

‘दुर्व्यसनबाट प्रभावितलाई समाजबाट अलग गर्ने होइन, उनीहरूलाई पुनः सामान्य जीवनमा फर्किन सक्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि हौसला, साथ र निरन्तर सहयोग आवश्यक छ,’ रायमाझीले भने ।

वीटीआई ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिलीपराज बरालले दुर्व्यसनबाट प्रभावित व्यक्तिले आफूलाई मानसिकरूपमा बलियो बनाउँदै त्यसबाट छुटकारा पाउन सक्रिय हुनुपर्ने बताए ।

‘दुर्व्यसनबाट मुक्त हुन सबैभन्दा पहिले आफूभित्र इच्छाशक्ति विकास गर्नुपर्छ । त्यसपछि परिवार, समाज र सम्बन्धित संस्थाको सहयोगले पुनस्र्थापनाको प्रक्रिया सहज हुन्छ,’ बरालले भने ।

ग्रेस फाउन्डेसनका सञ्चालक विगेन्स नेम्वाङले वीटीआई ग्रुपले देखावटीभन्दा पनि केन्द्रमा रहेका महिला तथा किशोरीको अवस्थालाई बुझेर मनदेखि नै मनोपरामर्श र सहयोग गर्न खोजेको अनुभूति आफूलाई भएको बताइन् ।

‘वीटीआई ग्रुपले औपचारिकताका लागि मात्रै नभइ भित्रैबाट मनोपरामर्श र सहयोग गर्न खोजेको महसुस भएको छ । आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर रहने विश्वास लिएका छौं,’ नेम्वाङले भनिन् ।

कल्प फाउन्डेसनले मनोपरामर्शका साथै विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणलगायत सामाजिक सेवाका काम गर्दै आएको छ । संस्थाले शिक्षा, मानसिक स्वास्थ्य तथा सामाजिक क्षेत्रमा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

Loading...