बेलायती अभिनेत्री जोआना लुम्ली ब्रेकन–धम्पुस ट्विनिङको सद्भावना दूत

पोखरा । बेलायती गोर्खाको हकअधिकारका लागि अभियान चलाउँदै आएकी चर्चित अभिनेत्री डेम जोआना लुम्ली ब्रेकन धम्पुस ट्विनिङ एसोसिएसन (बीडीटीए) को सद्भावना दूत बनेकी छन् ।बेलायतको वेल्सस्थित ब्रेकन र कास्कीको धम्पुसबीच मित्रता सम्बन्ध जोड्ने पहल गरेका पूर्व बेलायती गोर्खा अधिकारी तथा धम्पुस सोसाइटी युकेका संरक्षक मेजर खुसीमान गुरुङ (एमभिओ) ले फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

“ब्रेकनको परोपकारी संस्थाका लागि अत्यन्तै खुसीको खबर,” उनले लेखेका छन्, “डेम जोआना लुम्ली संस्थाको सद्भावना दूत बन्न राजी हुनुभएको छ ।”जिम्मेवारी स्वीकार्दै लुम्लीले भनेकी छन्, “हजारौँ धन्यवादसहित यो जिम्मेवारी स्वीकार गर्छु । यसले मलाई गर्वित बनाउनेछ ।” उनले सन् २०१७ मा ब्रेकनमा क्रिसमसको बत्ती बालेर उद्घाटन गरेकी थिइन् ।

लुम्लीका बुबा गोर्खा रेजिमेन्टका अफिसर थिए । उनले अवकाशप्राप्त गोर्खाको बेलायतमा बसोबास अधिकारका लागि अभियान चलाएकी थिइन् । ब्रेकनमा बेलायती सेनाको गोर्खा कम्पनी छ र त्यहाँ करिब एक सय नेपाली परिवार बस्छन् । बीडीटीएकी अध्यक्ष एन म्याथियासले लुम्ली वर्षौँदेखि संस्थाको सदस्य रहेको र नेपालमा संस्थाले गर्ने सहयोगबारे जानकार रहेको बताएकी छन् । संस्थाले यान्छोक र पाल्पा क्षेत्रका विद्यालयलाई आर्थिक सहयोग गर्दै आएको छ । उपचार खर्च जुटाउन नसकेका व्यक्तिलाई सहयोग गर्नुका साथै पोखरामा सडक बालबालिकाको हेरचाह र शिक्षामा काम गर्ने संस्था किदाशालाई पनि सघाउँदै आएको छ । बीडीटीए र ब्रेकन रोटरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सात हजार पाउन्डभन्दा बढी रकम संकलन गरेका छन् । ब्रेकनकी टाउन क्लर्क फियोना विलियम्स र अध्यक्ष म्याथियासले हालै लन्डनस्थित नेपाली दूतावास पुगेर यसबारे जानकारी गराएका थिए । दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले ब्रेकनबासीको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।संस्थाले नोभेम्बर २९ मा ब्रेकनको मार्केट हलमा हुने ‘ब्रेकन विथ बेल्स अन’ कार्यक्रममा स्टल राख्नेछ । त्यहाँबाट उठ्ने रकम विपद् कोषमा पठाइने मेजर गुरुङले जानकारी दिएका छन् ।

सन् २०१५ मा बेलायती सेनाबाट अवकाश पाएपछि मेजर गुरुङको पहलमा धम्पुस र ब्रेकनबीच ट्विनिङ सम्बन्ध स्थापना भएको थियो । सन् २०१९ फेब्रुअरी १० मा स्थापित यो सम्बन्धबाट धम्पुस अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपालको पहिलो ‘सिस्टर भिलेज’ बनेको छ । यस वर्ष फेब्रुअरी १० मा सम्बन्धको सातौँ वार्षिकोत्सवका अवसरमा धम्पुसमा ट्विनिङ स्मारक निर्माण गरिएको थियो । ब्रेकनका काउन्सिलर डेभिड मेरेडिथ र मेजर गुरुङको सहयोगमा बनेको स्मारकनजिकै ब्रेकनको दूरी ७,५५० किलोमिटर देखाउने साइनबोर्ड पनि राखिएको छ ।
वि.सं. २०१९ मा धम्पुसमा जन्मिएका गुरुङ सन् १९८१ मा बेलायती गोर्खामा भर्ती भएका थिए । सन् २००८ मा मेजर बनेका उनी बकिङ्घम दरबारमा राजपरिवारको सेवा गरेबापत एमभिओ (मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर) सम्मानबाट विभूषित छन् ।

Loading...