बागथलामा गार्मेन्ट उद्योगमा भीषण आगलागी, पूर्णरुपमा नष्ट

बझाङ : केदारस्युँ गाउँपालिका–४, बागथला बजारस्थित एक गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी भएको छ । स्थानीय पुष्पराज भट्टले सञ्चालन गर्दै आएको होनैनाथ गार्मेन्ट उद्योगमा आगलागी भएको हो । जस्तापाताले छाएको एकतले तीन कोठे कच्ची गार्मेन्ट उद्योग पूर्णरूपमा जलेर नष्ट भएको अस्थायी प्रहरी पोष्ट बागथलाले जानकारी दिएको छ ।

गए राति करिब १२:४५ बजेको समयमा बिजुलीको तार सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट उद्योगमा रहेका सबै सामग्री पूर्णरूपमा जलेर नष्ट भएका छन्, भने मानवीय वा चौपाया क्षति भने नभएको जनाइएको छ ।

अस्थायी प्रहरी पोष्ट बागथलामा राति १:३० बजे आगलागीको जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी निरीक्षक हरक सिंह फरालको कमाण्डमा चार जना प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरी र स्थानीयवासीहरूको सहयोगमा राति करिब २ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो ।

उद्योगभित्र रहेका सबै सामग्री जलेर नष्ट भए पनि घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । अन्य वित्तीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलनको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Loading...