बझाङ : सुर्मा गाउँपालिकामा निर्माण हुन लागेको ५ शैयाको अस्पतालको शिलान्यास गरिएको छ । आज सुर्मा गाउँपालिका अध्यक्ष खडक बोहराले स्वास्थ्य भवन निर्माणको शिलान्यास गरेका हुन् ।
स्थानीयवासीलाई सहज, गुणस्तरीय तथा समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माणको कार्य अगाडि बढाइएको हो । अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचार, आकस्मिक सेवा तथा आधारभूत स्वास्थ्य परीक्षणका लागि अब स्थानीय बासिन्दाले टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्कबहादुर बोहराले ग्रामीण भेगका नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको प्राथमिकता रहेको बताए । उनले अस्पताल निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गरी सेवा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय अगुवा तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।