सुनिल मण्डेल बझाङ : सुदूरपश्चिम प्रदेशकै ऐतिहासिक तथा धार्मिक पहिचान बोकेको बान्नीमष्टा देवताको पवित्र भूमिमा हरेक वर्ष लाग्ने बान्नी चैतली मेलालाई यस वर्ष अझ व्यवस्थित, आकर्षक र दिगो बनाइने भएको छ । मेलालाई विश्वस्तरमा परिचित गराउने उद्देश्यसहित आइतबार बान्नीमष्टा मन्दिर परिसरमा आयोजित बृहत् बैठकले महत्वपूर्ण निर्णयहरू गरेको हो ।
देशविदेशमा रहेका श्रद्धालु भक्तजनहरूबाट स्वतःस्फूर्त रूपमा आर्थिक सहयोग संकलन भइरहेको सन्दर्भमा मेलाको धार्मिक गरिमा, सुरक्षा, सरसफाइ र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । बैठकले बान्नी चैतली मेला २०८२ लाई सभ्य र सफल रूपमा सम्पन्न गर्न आवश्यक संरचना निर्माण तथा व्यवस्थापनका लागि विशेष समिति गठन गर्ने निर्णय गरेको छ ।
बान्निमष्टा देव संरक्षण कोषका रजबार ललित बहादुर सिंहका अनुसार मेलाका लागि आवश्यक टहरा निर्माण, खानेपानी व्यवस्थापन, शौचालय, विद्युत व्यवस्थापन, पानी ट्यांकी लगायतका भौतिक संरचना निर्माण तथा आर्थिक संकलन र व्यवस्थापनको जिम्मेवारी वहन गर्ने गरी समिति गठन गर्ने निर्णय गरिएको हो ।
यसैगरी, मेला स्थलमा पर्ने बान्निचौर क्षेत्रमा सञ्चालन हुने होटल तथा पसलहरूलाई थप व्यवस्थित बनाउन चौरको तल्लो भागतर्फ स्थानान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ । यसबाट मेलास्थलको सौन्दर्य, सुरक्षासहित भक्तजनहरूको आवतजावत सहज हुने बताइएको छ ।
बैठकमा बान्नीमष्टा आलीपाली क्षेत्रभित्रका विभिन्न टोलका नाईक, मुखिया, करिया, श्रद्धालु भक्तजन, छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा नं. १ देखि ५ सम्मका वडा अध्यक्षहरू, जननिर्वाचित प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, राजनीतिक दल, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्थानीयवासी र सरोकारवालाहरूले बान्नी चैतली मेला धार्मिक, सुदूरपश्चिमको सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनको महत्वपूर्ण आधार भएकाले यसको दिगो विकासमा सबैको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
