बझाङ : केदारस्युँ गाउँपालिकामा सञ्चालन भएको अन्तर माध्यमिक विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । २४ गतेदेखि सुरु भएको प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमबीच सफलतापूर्वक समापन गरिएको हो ।
प्रतियोगितामा गाउँपालिकाभित्रका १३ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । विभिन्न खेल विधामा भएको प्रतिस्पर्धाबाट १० स्वर्ण, ५ रजत र ३ कास्य गरी जम्मा १८ पदक हात पार्दै भैरव माध्यमिक विद्यालय, झोता विजेता बनेको छ । यस्तै गर्जेपानी माध्यमिक विद्यालय दोस्रो र नवादेव माध्यमिक विद्यालय, भाडिकोट तेस्रो स्थानमा रहन सफल भएका छन् ।

समापन कार्यक्रममा बोल्दै केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पालिकाभित्रका १३ वटै विद्यालयमा खेलमैदान निर्माण गरिने घोषणा गरेका छन् । विद्यालयस्तरमा खेलकुद पूर्वाधारको अभावका कारण राष्ट्रपति रनिङ शिल्डजस्ता प्रतियोगिता सञ्चालनमा समस्या हुँदै आएको गुनासो आएको उल्लेख गर्दै उनले दीर्घकालीन समाधानका रूपमा खेलमैदान निर्माण गरिने प्रतिबद्धता जनाए ।
अध्यक्ष बोहराले भने, “विद्यालयले आवश्यक जग्गा पहिचान गर्नेछन्, वडाले जग्गा उपलब्ध गराएपछि गाउँपालिकाले खेलमैदान निर्माण गर्नेछ ।” यसैगरी, तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड विजेता बनेको भैरव माध्यमिक विद्यालयलाई प्रोत्साहनस्वरूप ३ लाख ३३ हजार ३ सय रुपैयाँ प्रदान गर्ने निर्णय गाउँपालिकाले गरेको जानकारी अध्यक्ष बोहराले दिए ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष बोहराले पालिका स्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिने शिक्षक, कर्मचारी, स्वयंसेवक, सुरक्षाकर्मी तथा खेलाडीहरूलाई धन्यवाद व्यक्त गरे ।