बझाङ : नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रकाश रसाइली स्नेहीले छबिस पाथिभेरा गाउँपालिका–७ मजखोरी पुगेर स्थानीयसँग भेटघाट गर्दै विकासका प्रतिबद्धता व्यक्त गरेका छन् । घरदैलो तथा चुनावी प्रचारप्रसार अभियानका क्रममा मजखोरी पुगेका उम्मेदवार स्नेहीले यस क्षेत्रको सडक स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । “यस क्षेत्रका नागरिकले भोग्दै आएको सडक समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्नेछु,” उनले भने ।
रसाइलीले बाइसधारा, सुर्मा मन्दिरलगायत ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिने बताउँदै धार्मिक पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र मजबुत बनाउने योजना रहेको उल्लेख गरे । नेपाली काङ्ग्रेसको चुनावी प्रचारप्रसार अभियान छबिस पाथिभेरा हुँदै दुर्गाथली क्षेत्रमा पुगेको छ । आगामी फागुन २१ गते देशभर हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीले गाउँगाउँमा पुगेर मतदाता भेटघाटलाई तीव्र बनाएको छ ।
अभियानका क्रममा उम्मेदवार स्नेहीले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षा सुनेका छन् । स्थानीयले सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा चासो राख्दै मागहरू राखेका थिए । स्नेहीले स्थानीयका समस्या सम्बोधनका लागि संसदमा आवाज उठाउने र समग्र क्षेत्रको दिगो विकासका लागि काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।