निर्वाचन शान्तिपूर्ण बनाउन बझाङमा मदिरा निषेध

बझाङ : प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना शान्तिपूर्ण, सुरक्षित र मर्यादित वातावरणमा सम्पन्न गर्न बझाङमा मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवन पूर्ण रूपमा निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बझाङले एक सूचना जारी गर्दै मतगणनाको नतिजा सार्वजनिक भई विजय जुलुस सम्पन्न नहुँदासम्म मदिरासम्बन्धी सम्पूर्ण गतिविधिमा रोक लगाइएको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी मकेश कुमार केशरीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार फागुन १५ गते बिहान १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवन गर्न नपाइने जनाइएको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन तथा जिल्लामा शान्ति सुरक्षाको अवस्था थप सुदृढ बनाउने उद्देश्यले यो निर्णय गरिएको प्रशासनको भनाइ छ ।प्रशासनले यस सूचनाको उल्लङ्घन गरी मदिरा बिक्री, ओसारपसार वा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।

साथै, निर्वाचनको मर्यादा, शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न सबै सरोकारवाला निकाय, व्यवसायी र सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बझाङले सार्वजनिक गरेको सूचना
Loading...