युवालाई खेलतर्फ आकर्षित गर्न रेडियण्ड क्लबद्वारा भलिबल प्रतियोगिता आयोजना

बझाङ : रेडियण्ड युवा क्लब ले वडा स्तरिय भलिबल तथा हाजिरी जवाफ  प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले सूचना जारी गर्दै वित्थडचिर गाउँपालिका-४ मा “दोश्रो रेडियण्ड कप” पुरुष भलिबल प्रतियोगिता र माध्यमिक तहका विद्यार्थीहरूबीच हाजिरी जवाफ  प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको हो ।

प्रतियोगिता यही फागुन २८ गतेदेखि सञ्चालन हुने जनाइएको छ । खेलहरू वित्थडचिर गाउँपालिका–४ देउलेख स्थित देवेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिने क्लबले जानकारी दिएको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने टिमले फागुन २८ बिहान १० बजेसम्म नाम दर्ता गर्न सकिने छ भने भलिबल प्रतियोगिताको टिम दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । हाजिरी जवाफ  प्रतियोगितामा भने टिम दर्ता निःशुल्क रहने आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितीय हुने टिमले २० हजार रुपैयाँ र तृतीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुनेले २ हजार रुपैयाँसहित प्रमाणपत्र र कापी, द्वितीय हुनेले १५ सय रुपैयाँ तथा तृतीय हुनेले १ हजार रुपैयाँसहित प्रमाणपत्र र कापी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुनै विवाद आए आयोजकको निर्णय अन्तिम हुने सूचनामा उल्लेख गरिएको छ । सम्बन्धित वडाका खेलाडीहरूलाई मात्र सहभागी गराइने तथा परिचय खुल्ने कागजात अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको सुचनामा भनिएको छ ।

रेडियण्ड क्लबले सार्वजनिक गरेको सूचना

Loading...