बझाङ : जिल्ला प्रहरी कार्यालय बझाङले विशेष सूचनाका आधारमा सञ्चालन गरेको प्रहरी कारबाहीका क्रममा जयपृथ्वी नगरपालिका–९ स्थित पुरानो बसपार्क क्षेत्रमा रहेको एक होटलबाट केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २६ गते राति करिब ९:१० बजे पुरानो बसपार्कस्थित जगदम्बा होटलमा प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा ९ सदस्यीय प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरीले होटलमा छापा मार्ने क्रममा अनैतिक क्रियाकलापमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको जनाएको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङले समाजमा हुने यस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि सूचना संकलन, निगरानी तथा आवश्यक कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।