बझाङ : बित्थडचिर गाउँपालिकाको देउलेख प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा हिजो मस्तिष्क र खोपडी पूर्ण रूपमा विकास नभएको अत्यन्तै दुर्लभ जन्मजात समस्या भएको शिशुको जन्म भएको छ । यो अवस्था एनेन्सेफाली (मस्तिष्क र खोपडीको विकास नहुने जन्मजात समस्या) का रूपमा चिनिन्छ । स्टाफ नर्स शान्ति जोशीका अनुसार यो स्नायु नलीसम्बन्धी जन्मजात विकृति भएको र जसमा गर्भमै शिशुको मस्तिष्क र खोपडीको विकास पूरा हुन नसकेको हो । यस्तो समस्या करिब प्रत्येक एक हजार गर्भमध्ये एक जनामा देखिन सक्ने बताइन्छ ।

यस घटनापछि शुक्रबार प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको निरन्तर चिकित्सकीय शिक्षा (सीएमई) कक्षा सञ्चालन गरी उक्त जन्मजात समस्या, यसको जोखिम, रोकथामका उपाय तथा गर्भवती र गर्भधारणको योजना बनाइरहेका महिलालाई दिनुपर्ने परामर्शबारे विस्तृत छलफल गरिएको देउलेख प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. राधिका जैस्वाल ले बताइन् ।
स्वास्थ्यकर्मीहरूले गर्भधारण हुनुभन्दा कम्तीमा तीन महिना अगाडिदेखि फोलिक एसिड सेवन सुरु गर्नुपर्नेमा जोड दिएका छन् । गर्भावस्थाको पहिलो तीन महिनामा शरीरमा पर्याप्त फोलिक एसिड नपुग्दा यस्ता जन्मजात समस्या हुने जोखिम बढ्ने अनुसन्धानले देखाएको छ ।
त्यसैले विवाहपछि वा गर्भधारणको योजना बनाउने समयदेखि नै महिलाहरूले फोलिक एसिड सेवन गर्ने, सन्तुलित पोषणमा ध्यान दिने र नियमित स्वास्थ्य जाँच तथा परामर्श लिने बानी बसाल्न आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । उनीहरूले समयमै सचेतना अपनाए यस्ता धेरै जन्मजात समस्या रोक्न सकिने उल्लेख गर्दै एउटा सानो फोलिक एसिडको चक्कीले भविष्यको एउटा जीवन सुरक्षित बनाउन सक्छ भन्ने सन्देश दिएका छन् ।