बझाङ : दशैँको उपहारहरु भन्दै राष्ट्रिय वाणिज्य बैंक (RBB) को नाम र लोगो प्रयोग गरेर रु. ५ हजार प्राप्त गर्न सकिने दाबीसहितको शंकास्पद वेबसाइटको लिंक अहिले सामाजिक सञ्जाल तथा मेसेन्जरमा फैलिएको छ ।
उक्त वेबसाइटमा ‘बधाई छ!’ सन्देश राख्दै प्रश्नावलीमा सहभागी भएर रु. ५ हजार प्राप्त गर्न सकिने उल्लेख गरिएको छ । वेबसाइटको ठेगाना भने बैंकको आधिकारिक वेबसाइटभन्दा फरक रहेको देखिन्छ । यसले बैंकको नाम दुरुपयोग गरी सर्वसाधारणलाई झुक्याउने प्रयास भएको आशंका बढाएको छ । लिंकमा बैंकको लोगो, भवनको तस्बिर र उपहारसम्बन्धी सन्देश राखिएको छ । प्रयोगकर्तालाई प्रश्नहरूको उत्तर दिन प्रोत्साहित गर्ने गरी वेबसाइट तयार पारिएको देखिन्छ ।

यस्ता शंकास्पद लिंकमार्फत व्यक्तिगत विवरण वा अन्य संवेदनशील जानकारी संकलन गर्न सकिने जोखिम हुन्छ । यद्यपि, उक्त वेबसाइटबाट वास्तविक रूपमा कसैको रकम वा विवरण चोरी भएको पुष्टि भएको छैन । सर्वसाधारणलाई अपरिचित लिंक नखोल्न, ओटीपी, पासवर्ड तथा बैंकिङ विवरण उपलब्ध नगराउन र कुनै पनि उपहार योजनाको आधिकारिकता सम्बन्धित बैंकबाट पुष्टि गर्न आग्रह गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइट www.rbb.com.np हो । बैंकको नाममा आएका उपहारसम्बन्धी सन्देशमा विश्वास गर्नुअघि आधिकारिक माध्यमबाट जाँच गर्नुपर्ने आवश्यक देखिन्छ ।