काठमाडौं। नेपाल फुटबल लिग (एनएफएल) ले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ। लिगले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौंडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आह्वान गरेको हो ।
नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति १६ नोभेम्बर २०२६ अर्थात् ३० कात्तिक २०८३ तोकिएको छ । बोलपत्र फारामको शुल्क ५० हजार रुपैयाँ निर्धारण गरिएको छ । उक्त शुल्क फिर्ता नहुने छैन ।
नयाँ क्लबका लागि आवेदन दिने इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ ।
यसैबीच, नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सञ्चालन हुने घोषणा भइसकेको छ ।
एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको छ । हाल लिगमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी छन् ।
रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना छ। तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ ।